बाँके सैनिकका गगन थापाले बिहे गर्ने पक्का पक्की भयो । बिहेका लागि मन पराएकी केटी सितापुरमा थिइन् गगन भने सैनिकका । दुबैको सल्लाहपछि भाग्ने दिन पनि तय भयो । सोही अनुसार बिएसए साइकल लिएर गगन तोकिएको दिन सितापुर पुगे र साइकलमंै आफ्नी प्रेमिकालाई भगाएर सैनिक पुगे । ‘अहिले जस्तो राम्रो बाटो कहाँ थियो र, हिलामाटो कच्ची बाटो भएपनि एक घण्टामैं साइकलमा बसालेर भगाएर घर पु¥याएको हुँ, करिब १५ वर्ष अगाडि भएको बिहे सम्झँदै गगनले भने, ‘साइकल भएकै कारणले त्यसबेला केटी भगाउने आँट आएको थियो किनकी हिँडेर भाग्न खोजेको भए समातिने डर थियो ।’
बसुदेवपुरकी चिना बुढामगरको २०६६ सालमा कोहलपुरमा बिहे भयो । बिहे भएको तेस्रो दिन माइती संस्कारका लागि फर्कनु पर्ने थियो । तर बिहेको भोली पल्ट देखिनै अनिश्चितकालिन बन्द भइदियो । सबै सवारी साधनहरु बन्द भए । मोटरसाइकल पनि चलाउन दिइएको थिएन । करिब २५ किलोमिटर पर बसुदेवपुरमा माइती मान्न कसरी जाने भन्ने चिन्ता थियो, समाधानको रुपमा साइकल भेटियो । चिनाले करिब ९ वर्ष अगाडि घटना सम्झना गर्दै भनिन्, ‘साइकल चढेरै हामी माइती मान्न आयांैै ।’ जे होस् आपतविपद्मा काम लाग्ने त साइकलनै हो ।
गगन र चिना त एक उदाहरणमात्र हुन् । साइकलसँग यस्ता धेरै व्यक्तिहरुको स्मरणहरु जोडिएका छन् । साइकल अहिले पनि तराइमा बस्नै लाखौं नेपालीको दैनिक अत्यावश्यक सवारी साधनमा पर्छ । बढ्दो आर्थिक विकाससँग साइकल भन्दा मोटरसाइकललाई आफ्नो सवारी साधनको रुपमा लिनेहरुको संख्या बढ्दै गएको छ । तथापी अहिले कार, मोटरसाइकल छाडेर साइकल किन्नेहरुको संख्या पनि बढ्दै गएको छ । कुनै बेला आर्थिक हैसियत कम भएकाले मात्र साइकल चढ्छन् भन्ने मान्यता राख्नेहरु अहिले साइकल चढ्नुलाई सानको रुपमा लिन थालिएको छ ।

कार छाडेर साइकल
सायद नेपालगन्जमा गियरवाला साइकल चलाउने मध्येका एक हुन सक्छन् रमेश मल्ल । नेपाल राष्ट्र बैंकका सेवा निवृत्त उपनिर्देशक मल्लले हिरो हक कम्पनीको २१ गियरवाला साइकल दिल्लीबाट मगाएका थिए । ‘भारतको नानपाराको साइकल पसलले १५ दिन लगाएर त्यो साइकल मगाइदिएको थियो,’ मल्लले त्यो समय सम्झँना गर्दै भने, ‘साइकल पार्क गर्दा ८, १० जना हेर्न झुम्मिन्थे ।’
मल्ल जब राष्ट्र बैंकको जागिरे भए, साइकल चलाउन छुट्यो । उनि विगत १२ वर्षदेखि कार चढिरहेका छन् । तर छ महिना अघि उनले साइकल किने । आजकल हरेक बिहान कम्तिमा एक घण्टा साइकल चलाउने मल्ल मोर्निङ्ग वाकमा निस्कनु वा जिम जानुको साटो आफुले साइक्लिङ्ग रोजेको बताउँछन् । कार भने कहि टाढा जानु प¥यो वा परिवारसँग निस्कनु प¥यो भने मात्र ।
‘बिहान मोर्निंग वाकमा जाने वा जिम जानु भन्दा साइकल चलाउनु मलाई बढि स्वस्थकर लाग्छ’, मल्ल भन्छन्, ‘एक सचेत नागरिकका हिसाबले इन्धनको खपत कम गर्न, पर्यावरण राम्रो राख्न र स्वस्थ रहन साइकल चलाउनुनै उत्तम मान्छु ।’
स्वास्थ्यका लागि साइकल
भेरी अन्चल अस्पतालका निवर्तमान मेडिकल सुपरिडेन्टेन तथा हाड जोर्नी विशेषज्ञ डा. प्रकाश थापाले पनि केही दिन अगाडि साइकल किने । साइकल वातावरणमैत्री भएको यसले वातावरणीय प्रदुषण कम गर्न र स्वास्थ रहन मद्दत गर्ने भएकाले साइकल चढ्ने निर्णय गरेको थापा बताउँछन् ।
‘आजकल मानिसहरुको बिलासी आनिबानिले नसर्ने प्रकारका रोगहरु गएको छ,’ डा. थापाले भने, ‘मधुमेह, मुटुसम्बन्धि रोग तथा शरिरलाई स्वास्थ्य राख्नका लागि पनि साइकल चलाउनु राम्रो मानिन्छ । यसले शरिरका विभिन्न भागहरुलाई चलाएमान राख्न र मांशपेशीहरुलाई बलियो बनाउन पनि मद्दत गर्छ ।’
भिडियोग्राफीमा सक्रिय शैलेन्द्र जीएनले डिसेम्बर १७ मा आफ्नो फेसबुक वालमा रगत जाँचको रिपोर्ट पोष्ट गर्दै लेखेका छन्, ‘साइक्लिंग गर्नु अघि भएको स्वास्थ्य समस्या ३ महिना साइकल चलाएपछि नर्मल भएको छ ।’ दैनिक साइकल चलाएका कारण यस्तो परिवर्तन आएको दावी गर्छन जीएन ।
युवा व्यवसायी बासु भण्डारीले पनि पछिल्लो एक महिनादेखि साइकल चलाउन सुरु गरेका छन् । साइकल सवारी रोज्नुका कारणबारे भण्डारी भन्छन्, ‘साइकल सहज र मितव्ययी पनि छ अनि यसले स्वस्थ रहन पनि मद्दत गर्ने भएकाले म पनि प्रायः बिहान साइकल चलाउने गरेको छु ।’
सहज सवारी
टिटिहिरियाबाट दैनिक तरकारी बेच्नका लागि नेपालगन्ज आउने थारु समुदायका महिलाहरु हुन् या हिरमिनिया, इन्द्रपुरबाट दुध नेपालगन्ज आउने, सबैको भरपर्दो साधन हो साइकल । यतिमात्र होइन, दिनहुँ नेपालगन्जमा साइकलमानै फलफुल, तरकारी, खेलौना, खानेकुरा बेच्नेहरु भेटिन्छन् । नेपालगन्ज जस्ता सहरी क्षेत्रमा घर नजिक र हिँडेर जान सकिने भएपनि स्कुल बसनै आउनुपर्ने फेसनझैं भैसकेको छ । तर दुरदराजका गाउँहरुमा अहिलेपनि बालबालिकाले विद्यालय आउजाउ गर्नका लागि साइकलनै प्रयोग गर्ने गर्छन ।
पत्रकार शंकर खनाल पनि नेपालगन्जको करिब ७ किलोमिटरको पेरीफेरीमा रहेको बजार क्षेत्रलाई साइकलमै सहज रुपमा घुम्न सकिने बताउँछन् । नेपालगन्जमा पत्रकारितामा सक्रिय खनाल रिपोर्टिङ्ग गर्न साइकलमै बाँकेको बिकट सुईया बघौडा क्षेत्रसम्म पुगेका थिए । २०६४ सालमा काठमाडौं गई पत्रकारितामा सक्रिय खनाल एक वर्ष अघि अन्नपुर्ण पोष्ट प्रदेश व्युरो समन्वय कार्यालय नेपालगन्जका उपसम्पादक भएर पुनः नेपालगन्ज फर्केका छन् । उनले हालै साइकलमा चढेको फोटोसहित फेसबुकमा पोष्ट गरेको स्टाटस्मा लेखेका छन्, ‘२०६४ सालमा काठमाडौं जानुअघि मेरो प्रमुख सवारी साइकल थियो । समाचार संकलन गर्न बाँकेको विकट बघौडा क्षेत्रको सुइँया गाउँदेखि जिल्लाका धेरै गाउँसम्म साइकलमै पुगेको अनुभव छ । १२ वर्षपछि खोलो फर्कन्छ भने झैं आजदेखि मर्निङ वाकको साथी साइकल बनेको छ ।’
पत्रकार खनाल नेपालगन्जमा हिड्ने चलन कम भएकोले साइकल एउटा उपयुक्त साधन भएको मान्छन् । अझ आजकल हेल्मेट लगाएर साइकल चलाउँनुलाई सानको विषय पनि बनाइएको उनको दावी छ । हेल्मेट लगाएर गियरवाला साइकल चलाएर हिँड्दा मान्छेले हेर्ने दृष्टिकोण नै फरक भएको छ, खनालले भने, ‘साइकल मितव्ययी साधन भएकाले पनि मैले साइकलमा यात्रा गर्न पुनः सुरु गरेको छु ।’
फष्टाउँदो साइकल व्यवसाय
२०४५ सालमा गुल्म अगाडिको फुटपाथमा बोरामा साइकल मर्मतको काम सुरु गरेका मो. सरिफ बागवानको अहिले नेपालगन्जको धम्बोझी चोकमा बिबि साइकल स्टोर नामको साइकल सोरुमनै छ । फुटपाथमा २५ पैसा लिएर पन्चर टाल्न सुरु गरेका बागवानको अहिले धम्बोझीमा आलिसान बिबि साइकल स्टोरसम्मको यात्रा तय गरका छन् । ‘साइकल बनाएर मलाई यत्रो व्यवसाय बनाउने आँट आयो,’ दैनिक नेपालगन्जसँग कुरा गर्दै बागवानले भने, ‘कुनै बेला फुटपाथमा बसेर साइकल मर्मत गर्दा कुनै दिन नयाँ साइकल पनि बेच्छु भन्ने सपना चाहिं थियो ।’
करिब दुई वर्ष फुटपाथमा त्यसपछि घुम्तीमा हुँदै २०५३ सालदेखि धम्बोझीको सटरमा साइकल पसल सुरु गरेका बागवान अहिले बागवान र गोर्खा नामको आफ्नै ब्राण्डको साइकल बेच्न थालेका छन् । उनि धम्बोझीमा खोलिएको आफ्नो साइकल स्टोरलाई नेपालगन्जको सान पनि भन्न रुचाउँछन् ।
पछिल्लो समय बाँकेमा साइकलको बिक्री वितरण बढ्दै गएको जानकारी दिँदै बागवानले वार्षिक रुपमा बाँकेमा कम्तिमा पनि २० हजार साइकल बिक्रि हुने गरेको बताउँछन् । विभिन्न कम्पनीका साइकलहरुको बिक्रि वितरण गर्दै आएका बागवानले १४ हजार, ३० हजार र ६० हजारका साइकलहरु बढि बिक्री हुने बताउँछन् ।
उसो त नेपालगन्जमा रहेका साइकल पसलहरुमा १ लाख र त्यो भन्दा बढि मुल्य पर्ने साइकलहरु पनि बिक्रीमा राखिएका छन् । डेढ महिना अघि खुलेको नेपालगन्ज साइकल प्रालिमा १ लाख ५० सम्मका साइकलहरु बिक्री गर्न राखिएका छन् । साइकल भाडामा समेत दिने सुविधा प्रदान गरेको प्रा.लि.ले हालसम्म २२ वटा महँगा साइकल बिक्री गरिसकेको प्रा.लि.का सञ्चालक गगन थापाले जानकारी दिए ।
खेल बन्दै साइकल
नेपालगन्ज साइक्लिंग क्लबले २०७४ सालदेखि नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको सुरुवात गर्यो । जसको दोस्रो संस्करण आज शनिवार आयोजना हुँदैछ । कुनैबेला गाउँघरको सवारी साधनको रुपमा मात्र लिइने साइकल अहिले खेलसमेत बनेको छ ।
यसै वर्ष नेपालगन्जमा आयोजना गरिन थालिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि साइकल दौड प्रतियोगिता समावेश गरिएको छ । चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताबाट साइकललाई पनि प्रतियोगितामा समावेश जानकारी दिँदै मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आठौं राष्ट्रिय खेलकुदमा पनि समावेश गरिएको जानकारी दिए ।
आठौं राष्ट्रियको साइकल प्रतियोगिताका लागि बाँके र दाङ्गलाई सम्भावित ठाउँका रुपमा हेरिएको छ, ‘तर बाँकेमै गर्नको लागि दावी गरिरहेका छौं,’ ओलीले दैनिक नेपालगन्जसँग भने, ‘साइक्लिंगको जिल्ला छनौटका लागि प्रादेशिक छनौट प्रतियोगिता बाँकेमै गर्ने तयारी भएको छ । यसले आठौं राष्ट्रिय प्रतियोगिताको आधार तयार गर्छ ।’ अध्यक्ष ओलीका अनुसार, आठौं राष्ट्रिय खेलकुदको साइकल प्रतियोगितामा ७ वटा प्रादेशिक टिम र ३ वटा बिभागिय गरी १० वटा टिमले सहभागीता जनाउनेछन् ।
बाँकेमा साइकल चलाउनेहरुको नाममा कोहलपुरका सागर गैरेको नाम पनि अग्रपंक्तिमा आउँछ । सागर गैरे साहित्य वृत्तमा परिचित नाम हो । उनको फेसबुकको कभर अनि टाइमलाइनभरी साइकल यात्रामा निस्कँदा खिचिएका फोटोहरु छन् । हरेक बिहान साइकल यात्रामा निस्कने गैरेले गाउँठाउँ घुम्दाका अनुभवहरुलाई शब्द अनि चित्रमा फेसबुकमा पोष्ट गर्ने गरेका छन् । नोभेम्बर ९ तारिखमा रातो ज्याकेटमा साइकल समातेर उनले तीन वटा फोटो फेसबुकमा पोष्ट गरेका छन् र लेखेका छन्, ‘जिन्दगी गतिशील छ ।’ हो, गैरेले फेसबुकमा लेखेझैं जिन्दगी गतिशील छ र जिन्दगीलाई गतिशील बनाउने साइकल हामीसँग वर्षौदेखि छ ।