युवालाई कुलत छाड्ने सपथ गराउँदै कोहलपुर प्रहरी

इलाका प्रहरी कार्यालय कोहलपुरले युवाहरुलाई कुलतमा नलाग्न सपथ गराउन सुरु गरेको छ । कुलत विरुद्ध अभियान चलाएको प्रहरीले गाँजा, मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्दै हिड्ने युवाहरुलाई नियन्त्रणमा लिंदै आएको छ । अभियान अन्तर्गत प्रहरीले सय बढी युवाहरुलाई नियन्त्रणमा लिई अभिभावक र शिक्षकको जिम्मा लगाइसकेको छ ।

 
इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइएका १६ जना युवालाई अभिभावकको जिम्मा लगाएको छ । त्यसअघि प्रहरीले उनीहरुलाई अबदेखि कुनै पनि गतल कार्य नगर्ने सपथ गराएको थियो । ‘कारवाही भन्दा सुधार्ने प्रयास हो’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी रमेश बहादुर सिंहले भने, ‘त्यसैले उनीहरुलाई अभिभावकको जिम्मा लगाउने गरेका हौं ।’ उनले युवाहरुले पुनः गल्ती नदोहोर्याउने सपथ समेत गराउन सुरु गरेको बताए ।

 
लागुऔषध सेवन गर्ने र मापसे गरी सवारी साधन चलाउने, स्कुल, कलेज नगई गु्रपमा जम्मा भई गाँजा, चुरोट खाने युवाहरुमाथि प्रहरीले निगरानी बढाएको हो । ‘नियन्त्रणमा पर्ने युवाहरुलाई पुनः गल्ती नदोहोर्याउने कागज गरी छाड्ने गरेका छौं’, डिएसपी सिंहले भने, ‘एक पटक नियन्त्रणमा परेका पुनः दोहोरिएका छैनन् ।’
प्रहरीले नियन्त्रणमा पर्ने युवाहरुको रेकर्ड समेत राख्ने गरेको छ । ‘के कति कारणले नियन्त्रणमा परेका हुन् भन्ने रेकर्ड राखेका छौं’, डिएसपी सिंह भन्छन्, ‘पुनः दोहोरिएर समातिएकालाई कानुनी कारवाही गरिनेछ ।’

 
प्रहरीले कोहलपुरमा चोरीका घटना बढेपछि लागुऔषध विरुद्धको अभियान अन्तर्गत युवाहरुलाई निगरानी गर्न सुरु गरेको थियो । नियन्त्रणमा पर्नेमा बढी जसो १० देखि १२ कक्षा अध्ययन गर्ने विद्यार्थी, यातायात क्षेत्रमा काम गर्ने युवा रहेको प्रहरीले बताएको छ । ‘नियन्त्रणमा लिएपछि उनीहरुको अवाञ्छित गतिविधिमा नलाग्न सम्झाईबुझाई समेत गर्दछौं’, डिएसपी सिंहले भने, ‘अभिभावकलाई पनि किन र कुन अवस्थामा उनीहरुका सन्तान नियन्त्रणमा लिइएको पूर्ण जानकारी दिने गरेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया