आठौं राष्ट्रिय खेलकुद : उपसमितिहरु सक्रिय पारिंदै

आसन्न आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेका उपसमितिहरुलाई सक्रिय बनाउन थालिएको छ । खेलकुदलाई भव्यता दिन र व्यवस्थित तयारीका लागि गठन गरिएका समितिहरुलाई पूर्णता दिंदै सक्रिय बनाउन थालिएको हो ।
‘समितिका संयोजक र सदस्य सचिव चयन गरिसकिएपनि समितिलाई पूर्णता दिइ नसकिएकाले त्यसतर्फ सबै संयोजकहरुको ध्यान पुगेको छ’, आठौं राष्ट्रिय खेलकुदका प्रचार संयोजक समेत रहेका राखेपका प्रेस सल्लाहकार रोहित दाहालले दैनिक नेपालगन्जसँग भने, ‘सबै समितिहरुले आफुलाई पूर्णता दिनेतर्फ छलफल, परामर्श अगाडि बढाएका छन् ।’ उनले प्रचार समितिलाई पूर्णता दिन लागिएको जानकारी दिए ।
‘समितिलाई पूर्णता दिने काममा परामर्श पूरा भैसकेको छ’, राखेपका सदस्य समेत रहेका समारोह समितिका संयोजक विनोद मैनालीले भने, ‘समारोह पूर्व तयारीका विभिन्न कामहरु भैरहेको छ ।’ मैनालीका अनुसार, समारोहलाई भव्यता दिन स्कुल, कलेज, सेना, प्रहरी लगायत विभिन्न सांस्कृतिक समूहहरुसँग छलफल अगाडि बढाइएको छ ।
‘अहिलेसम्मकै ऐतिहासिक समारोह बनाउने उद्देश्य राखिएको छ’, सांस्कृतिक भव्यतादेखि सुरक्षित र व्यवस्थित समारोह आयोजना हुने जानकारी दिंदै संयोजक मैनालीले त्यसका लागि ‘वर्कआउट’ भैरहेको बताए । राखेप सदस्य मैनालीले अन्य समितिहरु पनि क्रमशः आफ्नो जिम्मेवारीमा बिस्तारै सक्रिय भैरहेको जानकारी दिए ।
आगामी माघ अन्तिम साता नेपालगन्जमा आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राष्ट्रपति विद्या देवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । समारोहमा प्रधानमन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरुदेखि हजारौं खेलाडीहरुको सहभागिता रहने बताइएको छ ।

संघ पुनर्गठन
समाचारदाता
दैनिक नेपालगन्ज
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले आसन्न आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर अर्घाखाँचीका १० वटै खेलकुद संघहरुलाई पुनर्गठन गरेको छ । प्रदेश ५ को जिम्मेवारी सम्हालेको समितिका अध्यक्ष भीम ओलीले बुधबार सदरमुकाम सन्धिखर्क पुगेर जिल्लाका १० वटै खेलकुद संघहरुलाई पुनर्गठन गरेका हुन् ।
‘तीन बर्षदेखि संघहरु निष्क्रिय प्रायः रहेछन्’, आठौं राष्ट्रिय खेलकुदको जिल्ला स्तरीय छनोट प्रतियोगिता उद्घाटन गर्न पुगेका अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘फुटबल, भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस, क्रिकेट, एथलेक्टिस, तेक्वाङ्दो, कराँते लगायतका खेलसंघहरुमा नयाँ नेतृत्व सहित पुनर्गठन भएका छन् ।’
त्यसअघि अध्यक्ष ओलीले १० वटै खेलका विभिन्न छनोट प्रतियोगिताहरु सञ्चालनको औपचारिक कार्यक्रम समुद्घाटन गरे । १० वटा खेलबाट १ सय २७ जना खेलाडी छनोट गरिने प्रतियोगिता भोलि शुक्रबारसम्म चल्नेछन् । अध्यक्ष ओली आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर कपिलवस्तु र रुपन्देहीमा निर्माणाधिन भौतिक पूर्वाधारहरुको अनुगमनका लागि पनि जाने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया