नेपालगन्ज/रुपा गहतराज
पछिल्लो समयमा साना तथा मझौला उद्योग फस्टाउन थालेपछि उद्योग खुल्ने क्रम बढ्नुका साथै उत्पादन पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाकेका अनुसार बाँकेमा आर्थिक वर्ष २०७४र०७५ मा करिव ७ सय ८९ वटा साना उद्योगहरु दर्ता भएका छन् ।
विद्युत् अनियमितता, भोल्टेजको समस्या र खुला सिमाना लगायतका समस्या भए पनि जिल्लाका साना तथा घरेलु उद्योगले उल्लेख्य उत्पादन गर्न सफल भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँकेमा लगानीमैत्री वातावरण बन्दै गएकाले पछिल्लो समय साना उद्योग खुल्ने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६ सय २९ वटा साना उद्योगहरु दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा हालसम्म ५ हजार ३ सय ६२ वटा उद्योग दर्ता भएका छन् । आ.व. २०७४÷७५ मा मात्र जिल्लामा ७ सय ८९ साना तथा मझौला उद्योग दर्ता भएका छन् ।
आर्थिक बर्षमा दर्ता भएका ७ सय ८९ उद्योग मध्ये ७ सय १० उद्योग पुरुषले सञ्चालन गरिरहेका छन् भने २ सय ३५ उद्योग महिलाले सञ्चालन गरिरहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक ऋषि पोखरेलका अनुसार दर्ता भएका उद्योगहरुमा ४ हजार ९ सय ८३ जनाले राजगारी गरिरहेका छन् । जसमा पुरुष तर्फ र एकहजार ६ सय २९ छन् भने महिला तर्फ ३ हजार ३ सय ५४ जना रोजगारी प्राप्त गरेका छन् । उद्योगहरुमा अनुमानित लगानी ६ अरब ४४ करोड रहेको छ । यसबाट अनुमानित आम्दानी २० अरब हुने पोख्रेलले बताए । पोख्रेलका अनुसार, दर्ता हुने अधिकांश कृषि तथा बनजन्यजन्तु तर्फ अत्याधिक रहेका छन् । ‘आर्थिक वर्ष २०७४र०७५ मा मात्र २४८ वटा तरकारी, पशुपालन, दुध डेरी, माछापालनका फर्म कृषि उद्योग हरु दर्ता भएका छन् । उत्पादनमुलक अन्तरगत मिल, स–मिल, ग्रिल, फर्निचर १सय ९२ वटा उद्योग दर्ता भएका छन् । उनले भने, ‘गत आर्थिक वर्षसम्म १ सय ७५ वटा सेवामुलक उद्योग दर्तामा थिए ।’
आर्थिक बर्ष १ सय ७३ वटा होटल, रेष्टुरेन्ट र टुर्स एण्ड ट्राभल्स दर्ता भएका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा उत्पादनमूलकतर्फ १ सय ६२, पर्यटन तर्फ १ सय २६, सेवामूलक १ सय ७६ र कृषि तथा बनजन्यमा १ सय ७५ वटा गरी ६ सय २९ उद्योग दर्ता भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक ऋषि पोखरेलका अनुसार उत्पादनमुलक अन्तरगत मिल, स–मिल, ग्रिल, फर्निचर जस्ता उद्योगहरु रहेका छन् भने पर्यटन अन्तरगत होटल, लज, रेष्टुरेन्ट, टुर्स एण्ड ट्राभल्स रहेका छन् । त्यस्तै, सेवामुलक तालिम, मर्मत कृषि क्षेत्र अन्तरगतका तरकारी, पशुपालन, दुध डेरी, माछापालनका र्फम रहेको उनले जानकारी दिए ।
बाँकेको औद्योगिक विकासमा घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका रहँदै आए पनि सरकारले यसलाई थप मजबुत बनाउन चासो नदिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको गुनासो छ । उद्योगी व्यवसायीको छाता सङ्गठन संघका अध्यक्ष वैश्यले बाँकेका घरेलु तथा साना उद्योगले ऊर्जा, सुरक्षा र बजारीकरणको समस्या झेलिरहेको बताए । बाँके भारतसँग सीमा जोडिएको जिल्ला भएका कारण यहाँको उत्पादनले अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या भइरहेको जनाउँदै उनँले विद्युत् र अवैध पैठारी जस्ता समस्याले गर्दा उद्योग सञ्चालनमा कठिनाई आउनेगरेको बताए ।