आगामी माघको अन्तिम साता गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तिथिमिति तय गरी आवश्यक तयारी गर्न जनप्रतिनिधिहरुले आव्हान गरेका छन् । सोमबार मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको छलफलमा सहभागी बाँके, बर्दिया र दाङका सांसदहरुले भौतिक पूर्वाधारका कामलाई तदारुखताका साथ अगाडि बढाउँदै प्रतियोगिता सुनिश्चित गर्न माग गरेका हुन् ।
राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यदेखि स्थानीय तहका प्रतिनिधिसम्मको सहभागितामा भएको छलफलमा सहभागीहरुले कुनै पनि बहानामा प्रतियोगिता पछाडि धकेल्न नहुने भन्दै समयमै आयोजनाको सुनिश्चितता गर्न माग गरे । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पूर्वघोषित मिति यही मङ्सिर २१ गतेदेखि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगन्जमा नहुने भएपछि फागुनको पहिलो सातामा गर्न राष्ट्रिय खेलकूद परिषद्सँग माग गर्ने निर्णय गरिएको छ ।
छलफलपछि बाँके र दाङबाट सङ्घीय, प्रदेश संसद् र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ को बैठकले फागुनको पहिलो साता प्रतियोगिता आयोजना मिति निश्चित गर्न माग गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी सांसद नन्दलाल रोकाय, महेश्वर गहतराज, विमला विक, कोमल वली, प्रदेश सांसद बाबुराम गौतम, सुरेन्द्र हमाल, आइपी खरेल, उषा पुन, कृष्णा केसी, ‘नमूना’ नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर र कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले प्रतियोगिता सञ्चालनका लागि सबैखाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकपछि क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले खेलकुद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले माग गरिएको मिति फागुनको पहिलो सातामा प्रतियोगिता सञ्चालन हुने विश्वास व्यक्त गरे । अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी भैरहेको बताए । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि अध्यक्ष ओलीले यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि छिट्टै सुरु गरिने जानकारी दिए ।
‘तमाम चुनौति बीच पनि माघको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन गर्न सकिने गरी तयारी पर्याप्त गरिएको छ’, आठौं राष्ट्रिय प्रतियोगिता भौतिक पूर्वाधार तयारी समितिका संयोजक समेत रहेका राखेपका सदस्य विनोद मैनालीले छलफलमा सहभागी जनप्रतिनिधिहरुलाई जानकारी दिंदै भने ।
नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई अहिले तीव्रता दिइएको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । पूर्वाधार निर्माणअन्तर्गत नेपालगन्ज रङ्गशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । रङ्गशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ भने भुइँमा फ्लोरिङ गर्ने काम पनि सकिएको अध्यक्ष ओलीले जानकारी दिए ।
त्यसैगरी, रङ्गशाला क्षेत्रमा झण्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण भइरहेको छ । पूर्वाधार निर्माणअन्तर्गत रङ्गशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअरगन खरीद प्रक्रिया पूरा भइसकेको छ ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरु बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ । त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरि पर्खाल निर्माण, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रङ्गशाला, बर्दियाको गुलरिया र ठाकुरद्वारामा खेलमैदान तथा कबर्डहल मर्मत र निर्माणको काम भइरहेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मस्कट’का रुपमा पारित गरिएको थियो ।
छलफलका क्रममा सहभागी जनप्रतिनिधिहरुले प्रतियोगिताको सफलताका लागि प्रदेश सरकारसँग पनि बजेट माग गर्ने कुरामा जोड दिएका थिए । प्रदेश सरकारको सहयोगमा यस प्रदेशका खेलाडीलाई हौसला प्रदान गर्दै बन्द प्रशिक्षण सञ्चालन गर्न सांसदहरुले जोड दिए ।
छलफलपछि जनप्रतिनिधिहरुले नेपालगन्ज रंगशाला परिसरमा भैरहेका भौतिक पूर्वाधारका निर्माण कार्यको अनुगमन गरेका थिए । ‘यसले बाँके, बर्दियाका जनप्रतिनिधिहरुलाई आयोजनाबारे गम्भीर बनाएको छ’, अध्यक्ष ओलीले भने ।