शैक्षिक नीतिप्रति माध्यमिक विद्यालय शिक्षक एशोसिएसन नेपाल (हिस्टान) को आपत्ति, ऐन संशोधन प्रस्ताव
माध्यमिक विद्यालय शिक्षक एशोसिएसन नेपाल (हिस्टान) ले प्रस्तावित संघीय शिक्षा ऐन २०७५ सुधारका लागि विभिन्न प्रस्ताव राख्दै राज्य माध्यमिक शिक्षाका लागि गम्भीर नभएको गुनासो गरेको छ । हिस्टानको शनिबार नेपालगन्जमा सम्पन्न तेस्रो पूर्ण बैठकले विभिन्न प्रस्तावहरु राख्दै संघीय शिक्षा ऐनमा आफ्नो तर्फबाट विभिन्न सुझावहरु राखेको हो । विभिन्न ६ वटा प्रदेशबाट सुझावका आधारमा केन्द्रीय समितिले शिक्षा ऐनमा आफ्नो मागहरु प्रस्तावका रुपमा अघि सारेको हो । ‘हाम्रा प्रस्तावहरु शिक्षा ऐनमा समेटिउन् भन्नका लागि निरन्तर दबाब दिइने छ’, हिस्टानका केन्द्रीय सचिव कविन्द्र भट्टराईले दैनिक नेपालगन्जसँग भने ।
हिस्टान बाँकेले आयोजना गरेको कार्यक्रममा केन्द्रीय कमिटिको निर्णयबारे जानकारी दिंदै महासचिव विक्रम पोखरेलले राज्य शिक्षाबारे गम्भीर ढंगले नलागेको टिप्पणी गरे । ‘शिक्षा राजनीतिको प्राथमिकतामा परेन’, अत्यन्तै खरो ढंगले प्रस्तुत भएका महासचिव पोखरेलले राजनीतिक नेतृत्वको अदुरदर्शीताले शिक्षा क्षेत्र तहसनहस भैरहेको धारणा राखे ।
‘११/१२ मा एउटै स्थायी शिक्षक नियुक्त हुन सकेका छैनन्’, महासचिव पोखरेलले भने, ‘हेलमेट टिचरका भरमा माध्यमिक तहको शिक्षा कसरी गतिलो हुनसक्छ ।’ उनले तालिम र प्रोत्साहन अभावमा माध्यमिक तहका शिक्षकहरुमा निराशा बढ्दै गैरहेको भन्दै संघीय शिक्षा ऐनले समस्या समाधानमा आवश्यक पहल गर्नुपर्ने धारणा राखे । ‘राज्यले नै शैक्षिक माफियाकरणलाई बढावा दिइरहेको छ’, आक्रोशित केन्द्रीय सचिव कविन्द्र भट्टराईले कार्यक्रममा भने, ‘शिक्षकलाई चारै तिरबाट बन्दी बनाइएको छ ।’ उनले दशैंको मुखमा माध्यमिक तहका शिक्षकहरु तलब खान नपाएर छटपटाउने अवस्था सिर्जना भैरहेको भन्दै यस्तो अवस्थामा शिक्षकले कसरी विद्यार्थी पढाउन सक्छन् ? प्रतिप्रश्न गरे ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष विरेन्द्र यादवले तलब पाउन आन्दोलन गर्नुपर्ने बाध्यतामा रहेका शिक्षकले विद्यार्थीलाई कुन मनोबलले पढाउलान् भन्ने कुरा राज्यले महसुस गर्नुपर्ने धारणा राखे । उनले समूदायमा हस्तान्तरणका नाममा सामुदायिक विद्यालयहरु तहसनहस पार्न खोजिएको टिप्पणी गरे । शिक्षक संगठनका अध्यक्ष वामदेव सुवेदीले शिक्षकहरुको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने धारणा राखे ।
हिस्टान जिल्ला समन्वय समिति बाँकेले आफ्नो स्मारिका ‘हाम्रो प्रण’ विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । समन्वय समितिका अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायले शिक्षकहरुले उठाएका सवाललाई आफुले संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सभा सदस्य सुरेन्द्र हमालले शिक्षकले उठाएका जायज मागहरुको सम्बोधन गर्नलाई आफुले पैरवी गर्ने प्रतिबद्धता जनाउँदै बर्षौदेखि मावि तहका शिक्षकहरुको समस्या सम्बोधन गर्न नसक्नु राज्यको ठूलो कमजोरी रहेको धारणा राखे ।
हिस्टानका केन्द्रीय अध्यक्ष पुष्प न्यौपानेले संघीय शिक्षा ऐनले आप्mना मागहरुलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आफुहरु निरन्तर दबाबमा केन्द्रित रहेको बताए ।
हिस्टानले गर्यो सम्मान
हिस्टानले विभिन्न व्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ । केन्द्रीय समितिका पदाधिकारीहरुको सहभागितामा आयोजित भव्य कार्यक्रम बीच हिस्टानको आन्दोलनमा सघाउन पूर्व पदाधिकारी तथा शैक्षिक आन्दोलनमा सकारात्मक भूमिका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । हिस्टान बाँकेका अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार झलक गैरेलाई सम्मान गरिएको छ । दुई दशक बढीको पत्रकारिताका दौरानमा विभिन्न सञ्चारमाध्यममा रही शिक्षा क्षेत्रलाई दिइएको उच्च प्राथमिकताको कदर गर्दै पत्रकार गैरेलाई सम्मान गरिएको हिस्टान बाँकेका पूर्व अध्यक्ष समेत रहेका केन्द्रीय सचिव कविन्द्र भट्टराईले जानकारी दिए ।
दैनिक नेपालगन्जका प्रधान सम्पादक र सामुदायिक टेलिभिजन भिजनका टिभीका समाचार प्रमुख गैरेलाई कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय र प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले दोसल्ला र कदर पत्रले सम्मानित गरेका हुन् । कार्यक्रममा हिस्टान बाँकेका संस्थापक अध्यक्ष सुनिल सिंघल र हिस्टान बर्दियाका संस्थापक अध्यक्ष इश्वरी प्रसाद रिजाललाई पनि सम्मानित गरियो ।
कार्यक्रममा हिस्टान, बाँकेले गद्य कवितामा प्रथम भएका मंगल उमाविका प्रदुुमन कैराती, पद्य कविता तर्फ प्रथम भएका धम्बोझी उमाविका प्रकास आचार्य, गजल तर्फ धम्बोझी उमाविका गणेश विक, लघुकथा तर्फ प्रथम भएका चोल बहादुर खत्री र गीत रचनातर्फ प्रथम भएका ज्ञानोदय उमाविका उमा उपाध्यायलाई नगद सहित सम्मान गरेको थियो ।
त्यस्तै, १२ कक्षामा सर्वोत्कृष्ट नम्बर ल्याएर पास भएका विज्ञान संकाय तर्फ आदर्श माविका डिल्लीराज गौतम, ब्यवस्थापन तर्फ भृकुटी माविका ओम प्रकाश शिख, शिक्षा संकायतर्फ जनता माविका चोलमाय खत्री, मानविकी संकायतर्फ नारायण माविका इन्द्र तिमिल्सना र आरती कुमारी चौधरीलाई पनि सम्मान गरिएको छ ।
हिस्टान बाँकेका सचिव विनोद पौडेलले सहजीकरण गरेको कार्यक्रममा सहसचिव महारुप जैसी, सदस्य गणेश ओली, सल्लाहकार कविन्द्रराज भट्टराई लगायतले पनि बोलेका थिए ।