गम्भीर यौन हिंसापछि हत्या गरिएकी कञ्चनपुराकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारालाई काराबाही माग गर्दै शनिबार देशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । त्यसक्रममा बाँकेको नेपालगन्ज र कोहलपुरमा पनि पन्तका हत्यारालाई छिटो कारवाहीको दायरामा ल्याउन माग गरिएको थियो ।
प्रदर्शनमा सहभागीहरुले घटनाको डेढ महिना बितिसक्दा पनि सरकारले दोषी पहिचान गरी कारवाही गर्न नसकेको भन्दै आलोचना पनि गरिएको थियो । निर्मलाका निम्ति न्याय अभियानको आव्हानमा भएको प्रदर्शनमा प्लेकार्ड सहित उपस्थित भएका बाँके स्थित नागरिक समाजका अगुवाहरुले आँखामा पट्टि बाँधी विरोध प्रदर्शन समेत गरेका थिए ।
‘न्यायको खडेरी परेको भन्दै प्रतिकात्मक रुपमा आँखामा पट्टि बाँधि बिरोध प्रदर्शन गरिएको हो’, बासका कार्यकारी निर्देशक नमस्कार शाहले भने । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले महिलामाथि यौन हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले जघन्य अपराधका घटनामा अपराधीको पहिचान र कारवाही नहुनु दुःखद् भएको टिप्पणी गरिन् । उनले यौन हिंसाका घटना बढ्दै गएकाले सरकार जिम्मेवार भएर पीडितलाई न्याय दिनुपर्ने बताइन् ।
विरोध प्रदर्शनको संयोजन गरेका गैसस महासंघ बाँकेका सचिव समेत रहेका तथा बासका कार्यकारी निर्देशक शाहले दिनदहाडै चेलीहरु बलात्कृत हुनु, उनीहरुको हत्या हुनु र पीडितहरुले न्याय नपाउनु बिडम्बना भएको बताए । ‘नागरिक सुरक्षाका लागि खटिएको प्रहरी अधिकारी स्वयं शंकाका घेरामा तानिनु दुःखद् हो’, उनले भने, ‘निर्मला जस्ता चेलीहरुको बलात्कार पछि हत्या हुनु, प्रहरीको छानविन गोलमटोल हुनु, न्यायका लागि सडकमा आएका जनता माथि गोली बर्षाउनु कानुनी राज्यको उपहास हो ।’
कार्यक्रमका सहभागीहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथासिघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका थिए ।
आज आइतबार निर्मला हत्याका दोषीलाई कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके अगाडि सिट्टी बजार विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बासका निर्देशक शाहले जानकारी दिएका छन् । त्यस्तै शनिबार नै कोहलपुरमा पनि निर्मलाका हत्यारालाई कारवाही माग गर्दै प्रदर्शन गरिएको छ । प्रदर्शनमा कोहलपुरका विभिन्न संघ, संस्था, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
चिन्ताजनक यौन हिंसाका घटना
बाँकेमा यौन हिंसाका घटनाको तथ्यांक हेर्दा अवस्था चिन्ताजनक देखिन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार आ.व. ०७४/०७५ मा ३५ वटा जबर्जस्ती करणी र ३१ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।
त्यसअघि आ.व. ०७३/०७४ मा जबर्जस्ती करणीका ३९ र २७ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् । आ.व. २०७२/०७३ जबर्जस्ती करणी मुद्दाका २६ र जबर्जस्ती करणी उद्योगका २३ वटा मुद्दा दर्ता भएको तथ्यांक जिल्ला प्रहरी कार्यालयमा छ ।