‘खुला सीमानाले फाइदा’

नेपाल–भारत मैत्री संघका पदाधिकारीहरुले खुला सीमानाको फाइदा उठाउन आग्रह गरेका छन्

 

नेपाल–भारत बीचको खुला सीमानाबाट नेपालले भरपुर फाइदा उठाउन सक्ने धारणा व्यक्त गरिएको छ । शनिबार नेपालगन्जमा आयोजित नेपाल–भारत मैत्री संघको पाँचौ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले खुला सीमानाको बेफाइदा बारे चर्चा मात्रै गरिरहनु भन्दा फाइदा उठाउन जोड दिएका हुन् ।

 
खासगरी धार्मिक पर्यटनका रुपमा नेपालको ठूलो सम्भावना रहेको औंल्याउँदै कार्यक्रमका सहभागीहरुले करोडौं भारतीय हिन्दु नागरिकलाई नेपाल भित्र्याएर फाइदा उठाउन सकिने तर्क उनीहरुको छ । ‘नेपाल–भारत जनस्तरको बलियो सम्बन्धले हामीलाई कहिल्यै नोक्सान पारेन’, संघका केन्द्रीय निवर्तमान अध्यक्ष ओम प्रकाश सरावगीले भने । प्रदेश सभा सदस्य समेत रहेका सरावगीले नेपाल–भारतको बीचको ऐतिहासिक सम्बन्धको चर्चा गरे ।

 
प्रदेश ५ का प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य प्रदिप गुप्ता, धु्रव दाहाल लगायतले बोलेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अजय कुमार टण्डनले गरेका थिए । ‘संघले जनस्तरमा नेपाल–भारत बीचको सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ’, अध्यक्ष टण्डनले भने ।

 

 
अध्यक्षमा गुप्ता

 

नेपाल–भारत मैत्री संघको अध्यक्षमा प्रदिप कुमार गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । व्यवसायिक क्षेत्रका अगुवा उनी संघका केन्द्रीय सदस्य पनि हुन् ।

 
शनिबार भएको तेस्रो जिल्ला अधिवेशनले गुप्तासँगै सिङ्गो कार्यसमिति सर्वसम्मत घोषणा गरेको हो । प्रमुख निर्वाचन अधिकृत विश्वजित तिवारीका अनुसार, ब्रिजेश बहादुर सिंह, गिरिराज पौडेल, श्याम बहादुर केसी, सुदिपकुमार शर्मा भट्ट, सुरेन्द्र कुमार गुप्ता कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, नविन कुमार उपाध्याय, पंकज कुमार गुप्ता, हरिनारायण देवकोटा, जगदम्बा प्रसाद पाठक, सन्तोषकुमार वैश्य, बसन्त लामिछाने र रामलखन वैश्य पनि सदस्य पदमा निर्वाचित भएका छन् ।

 

‘२१ सदस्यीय कार्यसमितिमा दुई महिला सहित ५ सदस्य र तीन पदाधिकारी अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ’, नवनिर्वाचित अध्यक्ष गुप्ताले भने ।

प्रतिक्रिया

प्रतिक्रिया