श्रीकृष्णजन्माष्टमी मनाइँदै

आज आइतबार भाद्र अष्टमीका दिन हिन्दुधर्मावलम्वीहरुले ‘श्रीकृष्णजन्माष्टमी’ मनाउँदै छन् । त्यसक्रममा देशभरका भगवान् श्रीकृष्णको पूजा–आराधना गरिंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

 
श्रीकृष्णजन्माष्टमीको अवसरमा आज नेपालगन्जको कारकाँदो स्थित राधाकृष्ण मन्दिरमा लक्ष्यवर्ती प्रसाद वितरण, भजन किर्तन लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद काफ्लेले स्थानीयबासीको प्रयासमा जन्मोत्सवको आयोजना गर्न लागेको जानकारी दिए ।

 
आज कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्दछन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

 
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया