आज मधुकरको जन्मजयन्ती

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति साहित्य पुरस्कार’ डा. जीवेन्द्रदेव गिरीलाई प्रदान गरिंदै

वरिष्ठ स्रष्टा स्वर्गीय प्रेम प्रकाश मल्ल ‘मधुकर’को ८३औं जन्मजयन्ती आज शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भेरी साहित्य समाजले औपचारिक कार्यक्रम बीच स्वर्गीय मल्लको जन्मजयन्ती मनाउन लागेको हो ।
प्रेम प्रकाश मल्ल मधुकर स्मृति साहित्य पुरस्कार अर्पण कार्यक्रमसँगै बहुभाषिक कवि गोष्ठी, सम्मान लगायतका कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागिएको भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रम बीच प्रेम प्रकाश मल्ल मधुकर स्मृति साहित्य पुरस्कार वरिष्ठ स्रष्टा डा. जीवेन्द्र देव गिरीलाई प्रदान गरिने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. गिरीलाई यसबर्षको पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । यसअघि प्राध्यापक डा. गोपाल प्रसाद शर्मा अधिकारी, पूर्णलाल चुके र अब्दुल लतिफ शौकलाई प्रदान गरिसकिएको पुरस्कार यसपटक डा. गिरीलाई प्रदान गरिंदैछ ।
यसैबीच, पुरस्कार कोष वृद्धि गरिने भएको छ । कोषका लागि स्वर्गीय मल्ल पुत्री वीणाश्री मल्ल र ज्वाई बखत बहादुर मल्लले दुई लाख रुपैयाँ रकम थप गर्दै पुरस्कार कोष वृद्धि गर्न लागेका हुन् । पुरस्कारका संस्थापक वीणाश्री र बखत मल्लले यसअघि १ लाख रुपैयाँ भेरी साहित्य समाजलाई प्रदान गरेपछि समाजले ४० हजार रकम संकलन गरी कोष स्थापना गरिएको थियो । ‘कोष रकम वृद्धिसँगै पुरस्कारको राशीपनि बढाइएको छ’, अध्यक्ष तिमिल्सिनाका अनुसार, यसबर्षदेखि प्रेम प्रकाश मल्ल मधुकर स्मृति साहित्य पुरस्कारको राशी २५ हजार १ सय ११ बनाइएको छ ।
१९९३ साउन ११ गते रुकुम मुसिकोटमा जन्मिएका लोकप्रिय गायक, कवि, गीतकार मल्लको २०७२ बैशाख ११ गते निधन भएको थियो । पक्षघातले झण्डै १ दशक थलिएका मल्ललाई उनकी छोरी वीणाश्री मल्ल र ज्वाई बखतले स्याहार, सुसार गरेका थिए । मल्ल दम्पत्तिले पुरस्कार स्थापना गरी सञ्चालनको निरन्तरताका लागि भेरी साहित्य समाजलाई हस्तान्तरण गरेपछि निरन्तर समाजले कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया