राजदुतसँग पुरानै गुनासा

‘महामहिम राजदुतज्यू यो कुरा तपाईलाई म कयौं पटक दोहोर्याएर भन्दैछु, मलाई थाहा छैन तपाईबाट यो समस्याको गाँठो फुकाउने काम हुन्छ कि हुँदैन’, नेपाल जडिबुटी व्यवसायी संघका सल्लाहकार रविन्द्रनाथ शुक्लले भने ।
शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीलाई ६ बुंदे स्मरण पत्र बुझाएपछि खुला सत्र पाउनासाथ शुक्लले आफ्ना कुरा राखे । हातमा लिखित स्मरण पत्र बोकेका नेपाल जडिबुटी व्यवसायी संघका सल्लाहकार शुक्लले भने, ‘सन् १९९० देखि यो स्मरण पत्र मिति बाहेक कुनै कुरा अपडेट गर्न पाइएको छैन ।’ उनको प्रष्ट संकेत आफ्ना मागहरु भारत सरकारले सुनुवाई नगरेको भन्ने थियो ।

 

 
जडिबुटी व्यवसायी शुक्लले जडिबुटी व्यवसायी संघका तर्फबाट हरेक पटक भारतीय राजदुत आउँदा बुझाउँदै आएको स्मरण पत्रकै पुरानो कपि देखाउँदै भने, ‘अहिले त झन् १६ दिनदेखि निर्यात ठप्प छ ।’ शुक्लका अनुसार, ट्रान्जिट परमिटका नाममा भारतमा नेपाली जडिबुटी निर्यातका लागि दिंदै आएको सास्ती १८ बर्षदेखि जारी छ । ‘अदालतले गरेको न्याय समेत सुनुवाई भएन’, प्रदेश सरकारले गरेको मनोमानीबाट नेपाली जडिबुटी व्यवसायीहरु मर्कामा पर्दै आएको सन्दर्भ औंल्याउँदै शुक्लले भने, ‘प्लान्ट क्वारेन्टाइन नहुँदाको समस्या त छँदैछ ।’ राजदुत पुरीले शुक्लाको कुरालाई आफुले गम्भीर ढंगले अध्ययन गर्ने बताए ।

 
विभिन्न उद्योगी, व्यवसायीहरुको समस्यासँग अन्तरक्रिया गर्न उपस्थित नेपालका लागि भारतीय राजदुत पुरीसँग अधिकांस सहभागीले पुरानै कुरा दोहोर्याए । त्यसैले पुरी बेलाबेला भन्थे, ‘आइ नो ।’ कार्यक्रममा सहभागीहरुले नेपाल–भारत जमुनाह नाकामा एसएसबीदेखि कष्टमसम्मले गर्ने दुव्र्यवहार र भ्रष्टाचारसम्मका कुराहरु राजदुत पुरी समक्ष गुनासा गरे । ‘राज्यलाई कर तिरेर नेपाल ल्याइँदै गरेका सामानमा नाकाका प्रहरीले अण्डर टेबल नखाइकन आउनै दिंदैनन्’, राजदुतसँग व्यवसायीहरुको गुनासो थियो ।

 

 
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सुख्खा बन्दरगाह निर्माण कार्य निकै सुस्त गतिमा भैरहेको गुनासो दोहोर्याए । नेपालगन्ज नाकामा विभिन्न सुविधा थप्न अध्यक्ष वैश्यको माग थियो । खासगरी नेपाली नम्बरका गाडी भारतीय बजारमा निर्बाध घुम्न पाउने कानुनी व्यवस्था मिलाउन यसअघि पटकपटक माग गरिंदै आएको विषय यसपाली पनि अधिकांस उद्योगी, व्यवसायीहरुले उठाएका थिए ।

 

 
राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मीले सीमा नाकासँग जोडिएका विभिन्न सवाल राखे । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रप्रसाद अधिकारी, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष टिपी न्यौपाने, उद्योगपति कन्हैयालाल वैद्य, अधिवक्ता विश्वजित तिवारी लगायतले सीमा नाकामा देखिएका विभिन्न समस्याहरु राजदुत पुरी समक्ष राखेका थिए ।

 

 
‘सीमा नाकामा भारतीय सुरक्षाकर्मीहरुले नेपाली माथि गर्ने व्यवहार उचित छैन’, प्रदेश सभा सदस्य मो. याकुव अन्सारीले तत्काल सुधारका लागि पहल थाल्न राजदुत पुरीको ध्यानाकर्षण गराए । ‘जनतालाई दुःख दिने कार्य सीमा नाकामा बन्द हुनुपर्छ’, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको भनाइ थियो ।

 
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनले राजदुत पुरीलाई अध्यक्ष वैश्यले बुझाएको स्मरणपत्र पढेर सुनाएका थिए । स्मरण पत्रमा पनि नेपाल–भारत बीचको सम्बन्ध ‘रोटी–बेटी’को रहेकोदेखि विभिन्न मागहरु पुरानै पुनरावृत्ति गरिएको छ ।

 
कार्यक्रम बीच नेपाल भारत मैत्री संघका तर्फबाट केन्द्रीय सदस्य प्रदिप कुमार गुप्ताले प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर अंकित तस्वीर राजदुत पुरीलाई मायाको चिनोको रुपमा प्रदान गरेका थिए । त्यस्तै, नेपालगन्ज उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष नन्दलाल वैश्यले राजदुत पुरीलाई सम्मान पत्र पनि प्रदान गरे ।

प्रतिक्रिया

प्रतिक्रिया