बाँकेमा अनुसन्धान अधिकारी र सरकारी वकिलको प्रदेशस्तरीय सम्मेलन
समाचारदाता
दैनिक नेपालगन्ज
उच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगानाले बदलिँदो समय परिस्थिति अनुसार प्रहरीले गर्ने अनुसन्धानको स्वरुप परिवर्तन गर्नु पर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौले शुक्रवार कोहलपुरमा आयोजना गरेको प्रदेश नं.५, ६ र ७ स्तरीय अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको सम्मेलनलाई सम्बोधन गर्दै न्यायाधीश ढुंगानाले आशंकाकै भरमा कसैलाई पक्राउ नगरि तथ्य प्रमाण जुटाएर अदालतको अनुमति पछि मात्र पक्राउ गर्नु पर्ने ब्यवस्था अघि सरेको जानकारी दिए ।
‘पुराना कानूनको आधारमा प्रहरीले आफुलाई आवश्यक परेको ब्यक्ति तत्कालै पक्राउ गरि अनुसन्धानको नाम दुःख दिने प्रवृति अब त्याग्नु पर्ने अवस्था फौजदारी अपराध संहितामा उल्लेख छ’, न्यायाधीश ढुंगानाले भने, ‘नयाँ कानूनका अगाडी पुरानो शैली गैरकानूनी सावित हुन्छ ।’
प्रहरी र सरकारी वकिल दुबै पक्ष नयाँ कानून अनुसार ब्यवसायिक र प्रमाण मुखी हुनु पर्ने सुझाव दिँदै न्यायाधीश ढुंगानाले, मानवअधिकारको सर्वत्र सम्मान र रक्षाका लागि दुबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । सम्मेलनका प्रमुख अतिथि, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ कानून अनुसार अब मानव अधिकारको सम्मान गर्दै निष्ठा, इमानदारिता सहित कर्तब्यनिष्ठ हुनुको विकल्प नभएको बताए । प्रहरीको पुरानो पारालाई ब्यवस्थित गर्दै तथ्य र प्रमाणको आधारमा मात्र अनुसन्धान बलियो बनाउन प्रहरीलाई उनको निर्देशन थियो ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिल विच गतिशील सम्बन्ध कायम हुन जरुरी रहेको बताउँदै खनालले अभियोजनकर्ता र अनुसन्धानकर्ता विच सकारात्मक तालमेलले थुप्रै पक्षहरु सहज हुने बताए ।
अपराध गरेर सजाय भोगी रहेका ब्यक्तिहरुलाई अपराधको दायरा अनुसार फरक फरक थुनामा राख्नु पर्ने विश्वब्यापी सुझावहरु अघि सरिरहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरीले विवेक नपुर्याएको खण्डमा आम नागरिकले दुःख पाउने गरेको अवस्था प्रहरीले बुझ्न आवश्यक छ ।’
‘प्रहरीको कार्यकौशल र अनुसन्धानको परिधिबाटै आम नागरिकले न्याय प्राप्त गरेको र अभियुक्तले सजाय पाएको पक्का हुने खालको आधार सहित काम गर्नु पर्ने जिम्मेवारी प्रहरीको काँधमा छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘आम नागरिकलाई हिरासतमा लिनु अघि पर्याप्त प्रमाण र आधारहरुको विवरण पनि खुलाउनु पर्ने हुन्छ ।’
देशमा आगामी भाद्र महिना देखि लागु हुने फौजदारी अपराध संहिता बारे प्रहरी र सरकारी वकिल सम्मिलित सम्मेलनमा कानून र अनुसन्धान तथा अभियोजनका विभिन्न पक्षमा प्रशिक्षण दिने तयारी रहेको अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यातले बताए । प्रहरी देशको कुनैपनि शासन संचालन र कानून कार्यान्वयनको मुख्य पक्ष भएको बताउँदै बस्न्यातले सबै तहबाट प्रहरीको एक एक ब्यक्ति जिम्मेवारी पूर्वक काम गर्नु पर्ने बताए । नयाँ लागु हुने कानून अघि नै सुधार गर्नु पर्ने पक्षमा तत्काल सुधार गर्न र नयाँ कानून अनुसार अनुसन्धानको अवस्था थाहा पाउन सम्मेलन आयोजना गरिएको हो ।
सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपाल प्रहरीले लागु गरेको अपराध कार्य योजना तथा रणनीति बमोजिम सम्पादन गर्नु पर्ने कार्य र अभियोजन सम्बन्धमा देखिएका समस्याहरुको पहिचान गरी समाधानको पहल गर्न कार्यक्रममा छलफल गरिने बताइएको छ ।
सरकारी वकिल र अनुसन्धान अधिकारी विच कार्यगत एकरुपता कायम गर्न तथा दुबै विच रहेको मतभिन्नतालाई समाधान गर्न दुई दिनसम्म कार्यक्रममा विषयवस्तु प्रस्तुत हुनेछन् । कार्यक्रममा तीनवटै प्रदेशबाट प्रहरी, सरकारी वकिल र चिकित्सक तथा विधिविज्ञान विज्ञहरु सहभागी रहेका छन् ।
तीनवटै प्रदेशका प्रहरी उच्च अधिकारीहरु, सरकारी वकिल, अनुसन्धान अधिकृतहरु, मुद्दा चल्ने युनिटका इन्चार्ज, अनुसन्धानमा खटिने प्रहरी अधिकारी लगायतलाई नयाँ कानून र अनुसन्धान विधि बारे प्रशिक्षण थालिएको हो ।