बाँके ‘कर्णालीको आँगन’

समाचारदाता
दैनिक नेपालगन्ज
पूर्व गृहमन्त्री जनार्दन शर्माले बाँकेलाई कर्णाली प्रदेशको आँगनका रुपमा आफुहरुले लिएको बताएका छन् । सोमबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता पूर्वमन्त्री शर्माले बाँके र बर्दियाको विकासमा कर्णालीको चासो रहेको बताए ।
अच्युत राज सुवेदी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बाँकेको विकासलाई जोडेर उठेका मुद्दाहरुमा सरकारको ध्यानाकर्षण जनाउने प्रतिबद्धता व्यक्त गर्दै पूर्व मन्त्री शर्माले भने, ‘कर्णाली पर्यटकीय सर्किटको गेट नेपालगन्ज हो ।’ उनले कर्णाली प्रदेशले बनाएका हरेक योजनामा नेपालगन्जको गुणात्मक विकास जोडिएको बताए ।
‘समृद्धि नेताहरुले घरघर लिएर आउने कुरा होइन’, पूर्व मन्त्री शर्माले सामूहिक प्रयास र जिम्मेवारीबाट समृद्ध नेपाल सम्भव भएको तर्क गर्दै भने, ‘कर्णाली प्रदेशको राजधानी सुर्खेत भ्यालीसँग पूर्व–पश्चिम राजमार्गलाई ४५ मिनेटमा जोड्ने दु्रत मार्ग निर्माणका लागि योजना बनिसकेको छ ।’ कर्णाली प्रदेश र बाँके बर्दियाको हातेमालोबाट दुवैको विकास र समृद्धिको बाटो खुल्ने पूर्व मन्त्री शर्माको तर्क थियो ।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले विकास र समृद्धिको यात्रामा बाँकेले आफुलाई पछाडि पारिरहेको अनुभूत गरेको टिप्पणी गरे । ‘केही योजनाहरुलाई हामीले राष्ट्रिय गौरवका रुपमा उठाएका छौं’, सांसद गहतराजले बाँके, बर्दियाका सांसदहरु एक ढिक्का भएको प्रसंग उठाउँदै भने, ‘नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्नु पहिलो प्राथमिकता हो ।’ यसले पश्चिम नेपालकै विकासको बाटो खोल्ने उनको भनाइ थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले पञ्चायतकाल देखि पछाडि पारिंदै आएको नेपालगन्जका लागि विमानस्थलको स्तरोन्नतीले सम्भावनाको ढोका खोलेको बताए । ‘हामीलाई रुट दिनुस्’, भारतसँगको अन्तर्राष्ट्रिय उडानका लागि नाका माग गर्दै डा. राणाले भने ।
कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष बुद्धिप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
प्रतिष्ठानका सचिव झलक गैरेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदीले र स्वागत लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायकका पूर्व अध्यक्ष डिल्लीराज रेग्मीले गरेका थिए ।
यसैबीच, दिल्ली नेपालगन्ज हवाई उडानका लागि आवश्यक पहल गरिदिन पूर्व गृहमन्त्री शर्मासँग अपिल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विशेष पहलमा मंगलबार बसेको सर्वपक्षीय, सर्वदलीय वैठकले एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसँग अनुमतिको लागि आवश्यक पहल गरिदिन नेकपाका नेता समेत रहेका पूर्व मन्त्री सँग माग गरेको हो ।
पूर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माको विशेष उपस्थितिमा बाँकेका मुख्य राजनीतिक दलका प्रमुख, ८ वटै पालिका प्रमुख, प्रदेश तथा संघका सांसदसहितको वैठकले हालको एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसँग अनुमतिको लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्री समक्ष लिखीत माग गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, होटल अर्गनाइजेशनका प्रमुखको समेत सहभागितामा आयोजित बैठकले प्रधानमन्त्री केपी ओली समक्ष हवाई मार्ग दुई तर्फी गर्नका लागि भारतसरकारको अनुमतिका लागि पहल गरिदिन अनुरोध गरेको थियो ।
स्थानीय तहलाई मानार्थ सदस्यता
राप्तीसोनारीका रामलखन थारुलाई यसबर्षको ‘अच्युतराज स्मृति प्रतिभा पुरस्कार’
समाचारदाता
दैनिक नेपालगन्ज
पछिल्लो विनाशकारी भुकम्पबाट ज्यान गुमाउने बाँकेका ६ जनाको परिवार संगठित, अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले स्थानीय तहलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
सोमबार आयोजित औपचारिक कार्यक्रम बीच प्रतिष्ठानका अध्यक्ष प्रकाश सुवेदी, संरक्षक पूर्णकुमारी सुवेदी र प्रमुख अतिथि पूर्व मन्त्री जनार्दन शर्माले संयुक्त रुपमा स्थानीय तहका प्रमुखहरुलाई मानार्थ सदस्यता प्रदान गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापामगर, कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह, डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरी, उपप्रमुख साहिदा वानो, जिल्ला समन्वय समितिका उपाध्यक्ष ज्ञानेन्द्र कुमार चौधरी लगायतले मानार्थ सदस्यता ग्रहण गरे ।
‘विपद्जन्य जोखिम न्यूनीकरणका लागि प्रतिष्ठानले अघि सारेका हरेक सामाजिक क्रियाकलापमा हाम्रो साथ रहनेछ’, नेपालगन्ज नगर प्रमुख डा. राणाले भने । प्रतिष्ठानका संरक्षक, सांसद पूर्णकुमारी सुवेदीले प्रतिष्ठानलाई बृहत सामाजिक संस्थाका रुपमा क्रियाशिल बनाउँदै अगाडि लैजाने लक्ष्य रहेको बताइन् । त्यसका लागि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ कोषलाई प्रदान गर्ने घोषणा गरेकी सुवेदीले स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन् । कोषमा प्रतिष्ठानकी सदस्य मालती सुवेदीले एक लाख सहयोग घोषणा गरिन् ।
कार्यक्रम बीच यसबर्षको अच्युतराज स्मृति प्रतिभा पुरस्कार राप्तीसोनारी–७ बाँकेका रामलखन थारुलाई प्रदान गरिएको छ । स्थानीय वडाध्यक्ष समेत रहेका थारुलाई पछिल्लो भिषण बाढीमा डुबानमा परेका कयौं सर्वसाधारणको उद्दार कार्यमा खटिएर जिऊ ज्यान जोगाएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । १५ हजार ५ सय ५५ नगद सहित प्रमुख अतिथि पूर्व मन्त्री जनार्दन शर्माले थारुलाई कदर पत्रले सम्मान गरेका थिए ।

 

रक्तदान र आँखा शिविर
समाचारदाता
दैनिक नेपालगन्ज


लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायक र अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले मंगलबार रक्तदान र आँखा शिविर आयोजना गरेका छन् । लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायकका पूर्व अध्यक्ष स्व. अच्युत राज सुवेदीको स्मृतिमा रक्तदान र आँखा शिविर आयोजना गरिएको हो ।
कार्यक्रम बीच लायन्सले रक्तदानको क्षेत्रमा पुर्याएको योगदान र प्रयासबारे लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजालले प्रकाश पारेका थिए भने प्रमुख अतिथि पूर्व मन्त्री जनार्दन शर्माले रेडक्रस क्षेत्रीय ब्लड बैंक प्रमुख उपेन्द्र रेग्मीलाई प्राविधिक सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, युवा व्यवसायी लोकेन्द्र अर्याल, लगायतका ७८ जनाले रक्तदान गरेका छन् । अमर बहादुर खड्का, डम्बर विक तुफान, रिम बहादुर भण्डारी, खम्ब प्रसाद पुन, आशिष श्रेष्ठ, सुरेन्द्र सुवेदी, श्रृष्टि खड्का, नरेन्द्र न्यौपाने, उमेश सिंह, अर्जुन कार्की, धन बहादुर विष्ट, रविन्द्र लामिछानेले कार्यक्रममा रक्तदान गरेका थिए ।
निरक बुढामगर, विनोद केसी, गंगाराम मल्ल, गणेश विष्ट, मान बहादुर ओली, रमेश विक, शालिक राम खड्का, अस्मिता सुवेदी, निशा थापा, डा. राजन पाण्डे, प्रदिप ोली, लक्ष्मण थापा, सलामत नाउ लगायतले पनि रक्तदान गरे ।
कार्यक्रम संयोजक लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायकका पूर्व अध्यक्ष डिल्लीराज रेग्मीले आदर्श मावि राँझामा विद्यार्थी बालबालिकाहरुको आँखा चेकजाँच शिविर आयोजना गरिएको जानकारी दिए । कार्यक्रम बीच डिष्ट्रिक गभर्नर मधुसुदन शर्माले स्वर्गीय सुवेदीलाई मरणोपरान्त सम्मान गरेका थिए । शर्माले सुवेदीको सम्मान उनकी पत्नी मालती शर्मा र दुई छोरालाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
रक्तदानमा लायन्स लिडर सेम शाक्य, मुकुट ढकाल, मिना ढकाल, लियो लिडर विष्णु श्रेष्ठ, सरोवर प्रसाई, अस्मिता सुवेदी लगायत सक्रिय थिए । प्रतिष्ठानबाट कार्यक्रम संयोजक डम्मर विक, सहसचिव अर्जुन पौड्याल, सुर्य घर्ती लगायत रक्तदान कार्यक्रममा सक्रिय थिए ।

प्रतिक्रिया

प्रतिक्रिया