समाचारदाता
दैनिक नेपालगन्ज
लाली रुपन्देही–११ ले तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । शनिबार भएको फाइनलमा गतवर्षकै फाइनलिष्ट संकटा क्लव, काठमाडौंलाई १–० गोलले पाखा लगाउदै रुपन्देहीले लगातार दोस्रो पटक उपाधी हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका जोन ग्लोरीले ५३ मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । दुवैतिरबाट आक्रमक प्रयास भने भएका थिए । गोल गर्ने अवसर तुलनात्मक रुपमा संकटाले बढी पाएको थियो ।गोल्डकप जितेसँगै रुपन्देहीले पाँच लाख रुपैया पुरस्कार पाएको छ । दोस्रो भएको संकटाले दुई लाख पचास हजार पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका कप्तान दीपक गुरुङ भएका छन् । उनले सुजुकी मोटरसाइकल प्राप्त गरे ।
त्यस्तै, उत्कृष्ट गोलकिपर रुपन्देहीका राजुबाबु मगर, रक्षकमा रुपन्देहीकै युधा शाही, मिडफिल्डरमा संकटाका सौजन राई र उत्कृष्ट फरवार्ड संकटाकै शान्त गुरुङ भएका छन् । उनीहरुले सबैले दश÷दश हजार रुपैयाँ पाए ।
विजेता र उपविजेता टीम, उत्कृष्ट खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पुरस्कार वितरण गरे । विधागत उत्कृष्ट खेलाडीहरुलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगन्ज नगर उपप्रमुख उमा थापा, कोहलपुरका उपप्रमुख सन्जुकमारी चौधरी, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक आयोजना भएको अध्यक्ष शाहीले सन्तोष व्यक्त गर्दै नेपालगन्ज रंगशालाको विकल्प खजुरा मैदान हुनसक्ने तर्क गरे ।