नियात्रा : जुफालको छायाँ दुनैको माया

खगेन्द्र गिरि ‘कोपिला’

पुगेका हौं हामी एकाबिहानै राँझा बिमानस्थल । ‘बिहान पाँच बजेभन्दा अगाडि नै आइपुग्नु होला’ भन्दै उर्दी जारी गरेका थिए हिजो ट्राभल्सवालाले । पहाडतिर जाँदा प्लेनको टिकट नपाउने, पाइहाले पनि प्लेन नउडेर यात्रुले दुःख पाएका कथा धेरै सुनिएका हुन् तर हामीलाई त्यस्तो केही व्यहोर्नु परेन । आठ हजार आठ सय चालिस रुपियाँ पेश्की लगेर पनि भोलिपल्ट तीन हजार नौ सय पन्चानब्बे रुपियाँको टिकट थमाएर बाँकी पैसा फिर्ता पाइयो । सहुलियत दरमा मिलाई दिएछन् । हामीले सहुलियत नमागेर पनि । जय होस् ट्राभल्सवाला पुष्करजीको !
आधा घण्टा विमानस्थलको गेटमा उभिएपछि बल्ल साढे पाँच बजे तिर खुल्यो गेट । ग्वागर््वार्ती भित्र पसे यात्रुहरु । बिहानबिहानै भेडाबाख्राजस्तै दुगुर्ने यो हुल कोही जुफाल, कोही ताल्चा, कोही सिमीकोट त कोही जुम्ला उड्ने यात्रुहरुको हो । हाम्रो गन्तव्य जुफाल हो । कर्णाली प्रदेशका यी चार ओटा विमानस्थलमा एकाबिहानै दुई तीन वटा ट्रिप उडान गरिन्छ । नौ दश बजेपछि हावाको तीव्र वेगका कारणले उडान गर्न सकिदो रहेन छ । कहिलेकाहीं त बिहान सूर्योदयसंगै हावा चलेर उडान रद्द भैदिन्छन् । आकाशमा बादल देखियो र पानी प¥यो भने झन् जोखिम ! तैपनि यी जोखिममय हवाई उडानले कर्णालीको जनजीवनलाई वर्षौदेखि रक्तसञ्चार गरिरहेका छन् ।
होहल्ला, हतार र अस्तव्यस्तताका साथ यात्रुको नामाङ्कन र सरसामान चेकजाँच भएपछि साढे छ बजेतिर जहाजहरु उड्न थाले । ओहो.. एअरलाइन्सहरु पनि कति धेरै हुन्? सबैको आआफ्नै पोशाक, आआफ्नै चिन्ह र पृथकपृथक रङ्ग । सीता, बुद्ध, सौर्य, तारा, श्री, सिम्रिक, मकालु, गोमा, माउण्टेन नामका एअरलाइन्सका सानासाना प्लेनहरु पङ्क्तिबद्ध भएका छन् उड्नको लागि । हाम्रो प्लेन चैं समिट एअरलाइन्सको परेछ । एअरहोस्टेजले मन नलागिनलागि नमस्ते गरिन् । उनको रुखो नमस्ते स्वीकारेर फर्काउन पनि मन लागेन । यात्रुहरु जता पायो उतै बसे । रामचन्द्र आचार्य सर अलि अगाडिको लहरमा पर्नु भो म परेँ अन्तिम लहरमा । बाइस सिटे प्लेनका पाँच सिट खाली छन् । खाली सिटमाथि र तल भुईँभरी सामानहरु कोचिएका छन् । यात्रुवाहक जहाजभन्दा पनि यो मालवाहक जहाज हो कि जस्तो लाग्यो । आखिर व्यापार गर्नु न हो जे बोकेर भए पनि ।

 

कपडाको खोल च्यातिएका जहाजका सिट हल्लिरहेका छन् । भित्ताका रङ्ग उप्किएका छन् । नट बोल्ट खुकुलो भएर ट्याङट्याङ बज्न थाल्यो झ्याल । मर्मत र सरसफाईमा ध्यान नदिएको पाइयो । एअरहोस्टेजको झर्कोफर्को झन् उस्तै वितृष्णा जगाउने खालको । नेपाली आकाशको यात्रा ! के हो? कसो हो? मनमनै सम्झिएँ भगवानलाई ।
जे होस् यतातिर जहाज उड्नु नै ठुलो कुरो मानिन्छ । सेवा र सुबिधाको तालमेल नमिलेको यो सन्दर्भलाई यत्तिकै थाँती राखेर म पनि झ्याल बाहिर आँखा डुलाउन लागेँ । आँखामा ठोक्किन लागे पहाडका विचित्रका भूदृश्यहरु । सल्यान र रुकुमका हरिया डाँडाकाँडा माथि उडिरहँदा रोमाञ्चित भएर आयो मन । भेरी नदीलाई आधार बनाएर माथिमाथि उडिरहेको छ जहाज । डोल्पा शुरु भएपछि अग्लाअग्ला चट्टाने भीर देखिन थाले । एक ठाउँमा त भीरको निकै नजिकबाट उड्यो जहाज । झ्यालबाट हात लम्कायो भने भेटिएला जस्तो छ ठाडो भीर । उत्तर दिशा गरेर उडिरहेको प्लेन पूर्व मोडियो । उँचाई लिंदा र दिशा मोड्ने बेला प्लेनले घच्याक्घुचुक ग¥यो भने हंशले ठाउँ छोड्दो रहेछ । पैतिस मिनेटको उडानभर सबै यात्रुका आँखामा आशंका र भयको छाया पढिरहेँ ।
सूर्यको प्रकाश नपुगेका कुना, कन्दरा, खोंच, नदीका चेपहरु अझैं सुतिरहेका छन् निंद्रामा । उज्यालो र अँध्यारोको यही लुकामारीका पछाडि जीवनसंघर्षका धुमिल छायाहरु पढें । कोप्चे पहाडको बीचैबीच घुम्दैफिर्दै उडिरहेको जहाज जुफालमा उत्रिएपछि निर्र्भय भयो मन । बिहानपखको न्यानो घाममा मुसुक्क मुस्कुराइरहेको छ जुफाल । उत्तर फर्किएको सानो टारमा टाङ् फिंजाएर पल्टेको छ जुफाल विमानस्थल । चौबिस सय मिटरको उचाइमा अवस्थित छ जुफाल । यसैको जुम्ल्याहा भाइजस्तो लाग्ने माझफालको उँचाई झन् बढी नै होला । नेपालगंज फोन लगाउन खोज्यौं लागेन । दिउँसोको घाममा प्लेन नचल्ने विहानको समयमा फोन नलाग्ने । विज्ञानले आफ्नै किसिमले सुविधा दिएको छ र सुविधाका पछाडि असुविधा पनि थपिदिएको छ ।

 
मानिस र सरसामान छरपष्ट देखिए भुइँमा । अस्तव्यस्त छ वातावरण । लगालग आधा दर्जन जति जहाज उत्रिए र उडे । जहाज उडेसंगै मानिसको चहलपहल पनि एकैछिनमा हरायो । एअरपोर्ट वरिपरि घुचुमुच्च घर देखिए । प्रायः घरहरु स्थानिय मौलिक शैलीका छन् । एअरपोर्टको गेट बाहिर निस्किदा फोहोर र दर्गन्धसंग नमिठो साक्षात्कार भयो । उज्यालो मुस्कान बोकेर उभिएका छन् गेटैमा प्रकाश खत्री । हाँसेर स्वागत गरे । बिरानो ठाउँमा उनको आत्मियताले पग्लियौं हामी । ओरालो लाग्यौं उनकै पछिपछि । ‘जति हतार हुन्छ जुफाल आउने प्लेनको त्यस्तै हतार हुन्छ दुनै जाने जीपको’ प्रकाश हामीलाई छिटोछिटो हिडाउन खोज्दै छन् । हाम्रो गन्तव्य हो दुनै । दश मिनेट जति ओरालो झरेपछि हामी पुग्यौं अर्को टारमा । यो जुफालको जीप, घोडा र खच्चरको बिसौनी रहेछ । घोडा, खच्चरका लिदीले दुर्गन्धित । प्रकाशले जीपको अगाडिपट्टिका तीनवटा सिट मिलाए । एकैछिनमा खाँदाखाँद गरेर मान्छे भरिएपछि जीप ओरालो लाग्यो । साँगुरो घुमाउरो ओरालो बाटो । ढलीमली गर्दै जीप हिड्न लाग्यो । तराईको कच्चि बाटोभन्दा पनि बढी उड्दो रहेछ यो बाटोमा धुलो । जीपचालक मोती चौधरीको घर बर्दिया रहेछ । थारु भाषामा कुरा गर्न थालेँ म उनीसित । मसित थारु भाषामा कुरा गर्न संकोच मानेँ उनले । ‘मनरखनी बनाइलो कि नाइँ?’ यस प्रश्नले भने मजाले हँसायो उनलाई ।
मेरो आँखा वरपरका भूदृश्यमा घुम्न थाले । ढुङ्गैढुङ्गा र माटोको साम्राज्य छ चारैतिर । जुफालपट्टिको डाँडोमा कतैकतै हरियाली देखिएपनि पारिपट्टिको डाँडो भने एकदमै उजाड र सुख्खा छ । मरुभूमिको एउटा टुक्रा यही पहाडमा आएर पोखिएजस्तो । ओरालोमा अलि तल झरेपछि हरियालीले भरिएको एउटा गाउँ आयो । ‘डाँगीबाडा भनेको यही हो सर’ प्रकाशले परिचय दिए । कलकल गरेर बगिरहेको छ कुलो । तरकारी खेतीले सजिएका छन् गह्राहरु बाटो वरपर । के हुँदो रहेनछ र मानिसले गरेपछि । गाउँ देखियो माथिपट्टिको भिरालो ठाउँमा । छतबिहिन छन् घरहरु । एउटा घरको छत अर्को घरको आँगन बनेको छ । एकआपसमा जोडिएका जस्ता छन् सबै घर । खण्डखण्ड पारेर बाँडिएजस्तो लाग्छ एउटै घरलाई । सामाजिक बन्धनको अटुट नमूना । डाँगीबाडा तलबाट हेर्दा निकै रमाइलो लाग्यो । मरुभूमिको बीचमा भेटिएको हरियो चौरजस्तो लाग्यो यो गाउँ । मोतीपुर र पारंग नामका साना गाउँ काटेर कालागौडा पुगेपछि बाटोले ठूलीभेरीको किनार भेट्यो । बाटोको छेउछाउमा देखिन थाले हिमाली पीपल र बैंसका रुख । विपरित दिशामा बगिरहेको छ नदी । एकैछिनमा पुग्यौं रुपगाड हुँदै सुलिगाड । एउटा सुन्दर गुम्बा र गुम्बाजस्तै कलात्मक द्वारले मौन भाषामा स्वागत ग¥यो सुलिगाडमा हाम्रो । ऊँ मणि पद्मे हुम् मनमनै उच्चारण गरेर श्रद्धार्पण गरे बुद्ध भगवानलाई । गुम्बा र द्वारका भित्ताहरु कुरुप पारिएको छ राजनैतिक पार्टीका नाराहरु लेखेर । मन कुँडिएर आयो धार्मिक आस्था र साँस्कृतिक महत्वका सम्पदामा राजनितिक पार्टीका कार्यकर्ताले गरेको यो उपद्रव देखेर । दुनै बजारका रुपौला दृश्यहरु आँखामा ठोक्किन लागे धुपिचौर पुग्दै गर्दा । निकैबेर कुद्यौं ठूलीभेरी नदीको किनारैकिनारै धुले बाटोमा । जुफालबाट हिडेको डेड घण्टामा पुग्यौं दुनै ।

 
स्वर्गीय राजा वीरेन्द्रको क्षतविक्षत सालिक उभिएको चोकनेर ओराल्यो जीपले । ढुङ्गे सालिक, ढुङ्गे बाटो, ढुङ्गे पेटी, ढुङ्गे घर, ढुङ्गै ढुङ्गाका रासहरु छन् जताततै । कुनै ढुङ्गे युगको ढुङ्गे बस्तीमा पुगेजस्तो आभास भयो । हामी प्रकाशकै पछिपछि लुरुलुरु कृषि विकास बैंकको अतिथिगृहमा पुग्यौं । ओंठभरी मायालु मुस्कान बोकेर स्वागतार्थ उभिनु भएको छ गोरख बहादुर बुढ्थापा । जीवराज बम र मदन माझीको आत्मियता पनि मुस्कुरायो मुसुक्क हाँसो बनेर ।

 
नदीको वारिपारि फैलिएका साँगुरा फाँटमा पिंmजिएको छ दुनैको बस्ती । दायाँबायाँ उभिएका अग्ला ढुङ्गे पहाडले थिचिएझैं, निसास्सिएझैं, उकुसुमुकस भएझैं लाग्छ । दिउँसो बारह बजेपछि चल्ने तिब्र गतिको बतासले पनि यो उकुसुमुकुसलाई भगाउन सक्दो रहेनछ । नदीको साँगुरो बगर र पहाडको गहिरो कोप्चोमा बसेको दुनैको उचाई भने समुद्र सतहबाट एक्काइस सय मिटर रहेछ । ठूलीभेरीको वारिपारिका साँगुरा बगरमा अटेसमेटस भएर कोच्चिएका छन् ढुङ्गे घरहरु । ठूलाठूला भवनमा जिल्लास्तरिय कार्यालय, सानासाना घरहरु जति पसलैपसल । बगरको छेउछाउ हिमाली पीपल, बैंस र बकैनँुका पातला रुखले हरियो देखिए पनि माथिमाथिका अजङ्गका नाङ्गा पहाडले घेरिएको दुनै निकै सुख्खा र उजाड लाग्छ । पुराना साथी भेटिए जयकृष्ण हमाल । ‘दुनोको आकारजस्तो उपत्यका भएकोले दुनै नाम रहेको हो रे’ यसको नामाकरणको इतिहास खोतले साथिले । ‘तलबाट आएको कुनै पनि बस्तुको मूल्य यहाँ पुगेपछि दुना हुने भएकोले यसको नाम दुनै रहेको हो पनि भनिन्छ’ प्रकाशले अर्को कथा थपे ।

 
बिहानको घाममा यौवन भरिदै जाँदा दुनै पनि आफ्नो दैनिक कर्ममा डुब्यो । कहाँबाट शुरु गरौं म दुनैको कथा खोतल्न? यहाँका मान्छेले वर्षौदेखि साँचेका अधुरा सपनाहरुलाई उप्काउन पाएको भए कस्ताकस्ता जीवन्त कथाहरु लेखिन्थ्यो होला दुनैमा । त्यो जिम्मा रामचन्द्र सरलाई थमाएर दुनैको सतहमा बग्न थालेँ म ।

 
ठूली भेरीको वारिपट्टि सरकारी कार्यालय र बजारका कारण जति चहलपहल छ त्यसको दाँजोमा पारिपट्टि सुनसान लाग्छ । दुईओटा झोलुङ्गे पुलले जोडेका छन् दुनैका दुईटा बगरलाई । धुपिचौरबाट धुलो उडाउँदै आउँदै गरेको जीप देखेर उत्साहित हुन्छ दुनै । बिहान साढे चार बजे नै जुफाल जाने यात्रुलाई बोकेर जीप हर्न बजाउँदै कुद्ने तरखर गर्दा दुनैको निद्रा खलबलिन्छ । घोडा र खच्चर हिन्हिनाएका आवाजहरु कति सुन्यो कति दुनैले । जिन्दाबाद र मुर्दाबादका नारा पनि घन्किरहे बेलाबेला दुनैमा तर वारिपारिका अग्ला डाँडामा ठोक्किएर ती आवाज यतै फर्केर आए, यतै हराए । यहाँका मान्छेका रहरजस्तै ती नारा पनि यहीँको सुख्खा परिवेशमा बिलाए । माओबादी युद्धताका दुनैमा भएको सैन्य आक्रमणका चोट, घाउ र निशानीहरु बेलाबेला बल्झिरहन्छन् । डोल्पामा गरिब छन् तर भिखारी छैनन् । हुने खानेहरुमा भने लुकिलुकि माथिबाट मागेर खाने बानी बसिसकेको छ । हुँदा खानेहरु भने आफ्नो स्वाभिमानमा अडिएकै छन् ।

 
खोला पारिको गुम्बा र बजारको मुखैनिरको मन्दिरले आफ्नो मौनतालाई त्यागेका छैनन् तर धर्म परिवर्तनको झोला बोकेर प्रभुुका चेलाहरु दुनै पुगिसकेका छन् । एनजिओ संस्कृतिको नयाँ रुप सेकुवा र वियरमा अनुवाद भएको छ ।
म यहाँ आएदेखि नै पारिपट्टिको पाखोमा देखिने दुईटा कलात्मक गुम्बाका आकृतिले मलाई तानिरहेका छन् । एकदिन साँझपख जु¥यो त्यहाँसम्म पुग्ने साइँत । बगरैनिर भूत बंगलाजस्तो कैदीगृहको छेवैछेउ अलिकति उकालो चढेपछि तल्लो गुम्बाको प्राङ्गणमा पुग्यौं । यो निङ्मा सम्प्रदाय र माथिल्लो गुम्बा बोन्पो सम्प्रदायका रहेछन् । ढुङ्गे पर्खालले घेरिएको फराकिलो आँगन, मिलेर उभिएका बोट बिरुवा र ध्यानस्थ मुद्राका बुद्ध मुर्तीहरुले छुट्टै आकर्षण पस्किए । यहाँको वातावरण शान्त छ, सफा छ, प्राञ्जल छ । गुम्बाको छत, बरण्डा र वरपर टाँगिएका छन् रंगीबिरंगी लुङ्दर र धाच्र्योकहरु । सबैमा साना ठूला अक्षरले मन्त्र लेखिएका छन् । लुङ्दर र धाच्र्योकहरुमा लेखिएका मन्त्र या त विघ्ननाशक हुन्छन् या त मुक्तिप्रदायक हुन्छन् भन्ने मान्यता छ । यस्ता लुङ्दर र धाच्र्योकहरुमा ऊँ मणिपद्येहुम् र ऊँ वज्रकिलिकिलय सर्वविघ्न नाशय हुम् फट भन्ने मन्त्र लेखिएका हुन्छन् । पहिलो मन्त्रले मुक्ति प्रदान गर्छ र पछिल्लो मन्त्रले बाधा विघ्नहरु नाश गर्छ भन्ने मान्यता छ । तेर्सो गरी टाँगिएका धजालाई धाच्र्योक र ठाडो गरी टाँगिएका धजालाई लुङ्दर भनिन्छ । शैवतन्त्रमा ऊँ नमः शिवाय मन्त्रको जुन महत्व छ, बौद्धतन्त्रमा ऊँ मणिपद्येहुम् मन्त्रको त्यही महत्व हुन्छ । शिवको शिवत्व र बुद्धको बुद्धत्व एउटै हो । दुइटै भगवानहरु ध्यान, करुणा र मुक्तिको मार्ग सिकाउँछन् ।

 
सूर्यास्त भैसकेपछिको रिमरिमे उज्यालोमा ओरालो झर्न लाग्यौं हामी । दुनैका अग्लाअग्ला डाँडाहरुलाई हुरीले छोप्दै ल्यायो । ‘तीब्र गतिमा चलिरहेको हावालाई हुरीमा बदलिन र हुरीलाई हिमपातमा बदलिन बेर लाग्दैन यहाँ’ जयकृष्ण हमालले प्रकृतिको निर्ममताको बखान गरेपछि दौडियौं हामी । एकैछिनमा प¥यो दर्किने पानी । सुख्खा पहाडहरुले रहर पु¥याएर नुहाए । ‘आज त मज्जाको पानी प¥यो’ रमाए जयकृष्ण र प्रकाश पनि । हुरी बतास जति चले पनि वर्षात कम हुने हिमाली भेगका बासिन्दाहरु यदाकदा आकाश रोइदिंदा बिछट्टै खुसी हुँदा रहेछन् । वर्षातको चिस्यानले दुनैको यो रात हाम्रा लागि झनै चिसो भएर आयो ।

 

सतहमा आँखा दौडाएर हेर्दा सुख्खा माटोका थुप्राजस्ता लाग्ने डोल्पाका पहाडहरु दुई संस्कृति र दुई सभ्यतालाई आफ्ना जुम्ल्याहा सन्तानजस्तै छातीमा सजाएर मुस्कुराउँदै उभिएका छन् । भूगोलको विकटता र अर्थोपार्जनका उपायहरुको सिमितताले गरिब देखिने डोल्पा बिशाल साँस्कृतिक सम्पदाका कारणले निकै समृद्ध देखिन्छ ।
दुनैमा बिताएका तीन दिन र तीन रातहरुले यहाँको चञ्चले मौसमको बदलिइरहने बानीसंग अभ्यस्त हुन सिकाए । छिनछिनमा मौसम बदलिरहन्छ यहाँ । कतिखेर तेजिलो घाम त कतिखेर तेज गतिको हावाले डोल्पाली पाखाहरुलाई स्पर्श गरिरहन्छन् । कहिलेकाहीँ झुक्किएर आइपुग्ने वर्षातले हिमपात गराएर चट्टाने पहाडभरी हिमानी थुपारेर जान्छ । यहाँको मौसस निकै विषम भए पनि निकै समृद्ध छ यहाँको संस्कृति । डोल्पामा हिन्दु र बौद्धको भेद देखिएन । आर्य र मङ्गोलको बिभाजन भेटिएन । दुबै संस्कृतिका मूल्यमान्यताहरुलाई डोल्पालीहरुले समान रुपमा आत्मसात गरेका छन् । हिन्दु देवताका माडुँ तथा कोट र बौद्धहरुका गुम्बाहरुमा समान रुपले सबैको आस्था पोखिन्छ । अनुहारले मंगोलजस्तो लाग्ने मान्छेको परिचय माग्यो भने ऊ ठकुरी र क्षेत्री थरको हुन्छ । अनुहारले बाहुनजस्तो देखिइरहेको मान्छेसंग परिचय ग¥यो भने उसको थर गुरुङ या लामा हुन्छ । जोसंग परिचय ग¥यो उसैले झुक्क्यारह्यो मलाई । मान्छेका अनुहारजस्तै यहाँ मानिसका विश्वास, प्रथा, चालचलन र रिथिथितिहरु पनि एकैएकै छन् । श्रम, संघर्ष र जिजिविषाका कथाहरु पनि उस्तैउस्तै छन् । डोल्पाली समाजको अन्तरघुलन नेपालीपनको साझा परिचयजस्तो लागिरह्यो मलाई ।

 
पातला छन् बस्ती, पातलै बोट, बिरुवा, थुम्का र चट्टानमा टेको लगाएर उभिएका पहाड, क्षणक्षण बदलिने दृश्य, सफा हिमाल, सफा आकाश, सफा मन, घना छ धुलो र माटो, तर निर्दयी छ बतास । गनेर साध्य छैन थुम, थुम्का र चुचुराहरु । जताततै देखिन्छन् शिरचुली, हिमचुली, देवचुली, बनचुली, थुमचुलीका लहरहरु । प्रत्येक बिहानको पहिलो घाम सर्वप्रथम चुम्न आइपुग्छ यी चुलीहरुलाई । प्रत्येक साँझको चिसो बतासको पहिलो चुम्बन भेट्टाउँछन् यी चुलीहरुले । चुली—चुलीका लहरहरुभरि पिंmजिएको पहेँलो घामसंगै फिजिएँ म पनि । घामको पहेंलो रङ्गले रंगिएका पहरा, लहरा र छहरासंग रंगिए म पनि ।
हुन त कठोर संघर्ष, परिश्रम, कष्ट र विपन्नताका छायाहरुले हरेक मान्छेलाई लखेटिरहेकोदेख्न पाइन्छ डोल्पामा । तैपनि जीवनलाई चलाइरहने आशा, सपना र समृद्धिको प्यास पनि हरेक मान्छेका आँखा छल्किरहेको भेटिन्छ । दुनैमा बसुन्जेल सम्झिरहेँ आफ्नै पुरानो मुक्तक र आश्वस्त भैरहेँ डोल्पाको सुदूर भविष्यप्रति ः
मुटु छ र त सास छ
मन छ र त आश छ
सुखदुःखका साथिजस्तै
जीवन छ र त प्यास छ

प्रतिक्रिया

प्रतिक्रिया