बाँकेमा इट्टा उत्पादन घट्यो, बर्षाले क्षति

दैनिक नेपालगन्ज
समाचारदाता
यस बर्ष बाँकेमा इट्टा उत्पादन घट्ने भएको छ । मंसिर देखि जेठसम्म इट्टा उत्पादनको समय हो । बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ । तर, यसबर्ष सिजनकै मध्यभाग चैत्रमा परेको बर्षाका कारण करोडौं इट्टा गलेर नष्ट भए । त्यसबाट समालिएर पुनः इट्टा उत्पादन सुरु गरेका व्यवसायीहरुलाई जेठ महिनामा परेको बर्षाले थप क्षति पुर्याएको छ ।

 
‘सिजनको मध्य भाग चैत्र र सिजनको अन्तिम महिना जेठमा भएको बर्षाका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु पर्यो’, इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले भने, ‘यसले यस बर्ष बाँकेमा इट्टा उत्पादन कम हुने निश्चित भएको छ ।’ गत चैत्रको अन्तिम साता आएको हावाहुरी सहितको बर्षाले बाँकेका ५२ इट्टा व्यवसायीका ३ करोड बढी काँचो इट्टा काम नलाग्ने गरी नष्ट पारेको थियो । ‘जसका कारण ५ करोड बढीको क्षति इट्टा व्यवसायीले व्यहोर्नु परेको थियो’, अध्यक्ष खाँ भन्छन्, ‘पुनः बिहिबार भएको बर्षाले १ करोड ५० लाख इट्टामा क्षति पुर्याएको छ ।’ उक्त क्षति झण्डै ३ करोड रुपैयाँको रहेको अध्यक्ष खाँ बताउँछन् । ‘एउटै व्यवसायीको पकाउन राखिएका ३ देखि ६ लाखसम्म इट्टा गलेर काम नलाग्ने भएको छ’, अध्यक्ष खाँले भने ।

 
इट्टा उत्पादकहरुले सिजनमा ७ राउण्डसम्म इट्टा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा ५÷६ लाखसम्म इट्टा तयार पारिन्छ’, संघका कार्यालय सचिव सुर्यमणि पौडेलले भने, ‘यसपटक कुनै पनि उत्पादकले ४ राउण्ड भन्दा बढी उत्पादन गर्न सकेका छैनन् ।’ ‘यसबर्ष थप इट्टाभट्टाहरु नखुलेको भए बाँकेमा इट्टाको ठूलै समस्या देखिने थियो’, सचिव पौडेल भन्छन्, ‘थपिएका इट्टा उद्योगले केही लाख बढी इट्टा उत्पादन भएपनि त्यसले बढ्दो माग धान्ने अवस्था छैन ।’ ‘जेठ इट्टा उत्पादनको लागि अन्तिम महिना हो’, सचिव पौडेल भन्छन्, ‘त्यसपछि बर्षात् लाग्ने भएकाले उत्पादन बन्द हुन्छ ।’

 
इट्टा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु पर्ने कारण विमा गर्न नपाउनु रहेको अध्यक्ष खाँ बताउँछन् । ‘काँचो इट्टाको विमा हुँदैन’, कार्यालय सचिव पौडेल भन्छन्, ‘काँचोे इट्टामा बर्षात् क्षति भएपछि लगानी नै डुब्छ ।’ सरकारले २०७० असोजदेखि अनिवार्य रुपमा इट्टाको कारोबारलाई मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीहरु भन्छन्, ‘सरकारले करको दायरामा हामीलाई ल्यायो तर, हाम्रो व्यवसायिक सुरक्षाका लागि कुनै नीति अघि सारेन ।’

 
इट्टा व्यवसायी संघका पदाधिकारीहरुले व्यवसायीहरुको आग्रहमा बिहिबार विभिन्न इट्टा उद्योगको अनुगमन गरेका छन् । अनुगमनका क्रममा धेरैजसो इट्टा उद्योगका काँचो इट्टाहरु गलेर नष्ट भएको भेटिएको कार्यालय पौडेलले जानकारी दिए ।

 
यसैबीच इट्टा व्यवसायी संघले काँचो इट्टाको विमाको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने भएको छ । ‘आगामी सिजन अगावै स्थानीय सरकारसँगहरुसँग भेटेर विमाको व्यवस्थाका लागि नीतिगत पहल गरिदिन माग गर्ने तयारीमा छौं’, सचिव पौडेलले भने । आकस्मिक रुपमा हुने बर्षाको क्षतिबाट व्यवसायी ‘बर्बाद’ नै हुने अवस्थाबाट बचाउन विमाको विकल्प नरहेको बताउँछन् । उनीहरु सरकारलाई कर तिरेर व्यवसाय गरिरहेकाले व्यवसायीको सुरक्षाका लागि आवश्यक व्यवस्था पनि सरकारले नै गर्नुपर्ने धारणा राख्छन् ।

वर्षापछि फलफूल र तरकारीमा फाइदा
समाचारदाता
दैनिक नेपालगन्ज
बाँके सहित विभिन्न क्षेत्रमा विहिवार दिउँसो परेको पानीका कारण फलफूल र तरकारीमा फाइदा भएको जिल्ला कृषि कार्यालय बाँकेले जनाएको छ ।

 
यो बेमौसमी वर्षा भएपनि कुनै बाली अहिले फिल्डमा नरहेका कारण क्षति हुन पाएन, कृषि कार्यालयका प्रमुख केशव बहादुर बस्नेतले भने, यसबाट आँप र तरकारी बालीमा फाइदा पुगेको छ ।

 
प्रि मनसुनको पानी भएपनि यसका लाभ धेरै छन्, दैनिक नेपालगन्ज संग कुरा गर्दै बस्नेतले भने, वर्षाले खेत गोडमेल हुने खालको फाइदा पनि गरेको छ । आँपमा फूल लागेको मध्ये ०.१ प्रतिशत मात्रै फल्ने गरेको बताउँदै हुरी र हावाका कारण आँप झर्ने विषयमा चिन्ता नलिन समेत बस्नेतले आग्रह गरे । उनले प्राकृतिक तरिकाले फलफूल उत्पादन हुने भएकोले अनावश्यक चिन्ता लिनु नपर्ने बताएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया