बहुउद्देश्यीय प्रदर्शनी गृहका लागि बजेट उपलब्ध गराउने अर्थको प्रतिबद्धता
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जमा अन्तराष्ट्रिय विमानस्थल बन्ने सम्भावना बढेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहितको टोलीले शुक्रवार अर्थमन्त्रालयमा गरेको भेटका क्रममा नेपालगन्जको विमानस्थलको विषयले प्राथमिकता पाएको छ । साथै नेपालगन्जमा बहुउद्देश्यीय प्रदर्शनी हल निर्माण गर्ने विषय पनि प्राथकितामा परेको छ ।
शुक्रवार उद्योग वाणीज्य महासंघले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने वजेटमा निजी क्षेत्रका तर्फवाट आफ्नो प्रस्ताव लगेको हो । महासंघले अर्थ सचिव राजन शर्मासंग वजेटमा समावेश गनुपर्ने विषयमा नीजि क्षेत्रका तर्फवाट आफ्ना प्रस्तावका विषयमा छलफल गरेको हो । छलफलका क्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाले नेपालगन्ज स्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र वहुउद्देश्यीय प्रदर्शनी हल निर्माण गर्ने कामलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
काठमाडौं पछिको ब्यस्त विमानस्थलका रुपमा चिनिएको नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भन्दै बाँके र बर्दियाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, दलका नेता एवं उद्योगी ब्यवसायी र संचारकर्मीहरुले माग राख्दै आएका छन् । सोही विषयमा समान धारणा निर्माण गर्न एक साता अघि बाँके र बर्दियाका सांसद लगायतका टोलिले छलफल गरेको थियो ।
नेपालगन्जमा प्रदर्शनी हल निर्माण गर्नुपर्ने विषय एक दशक देखि उठाईदै आएको छ । अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी भएको बैठकमा अध्यक्ष राणाले बाँके र बर्दियाको विकासका लागि उठाइएका मुद्दाहरु प्रस्तुत गरेकी हुन् । भेटमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बर्षौदेखि पहल गरेपछि अर्थबाट बजेट प्राप्त हुन नसकेको उल्लेख गर्दै आगामी बजेटमा प्राथमिकता दिन आग्रह गरेका थिए ।
‘नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने र वहुप्रतिष्ठित प्रदर्शनी हल निर्माण गर्ने विषयलाई अर्थ सचिव र अर्थमन्त्रीले सकारात्मक रुपमा लिनुभएको छ’, बैठक पछि अध्यक्ष राणाले भनिन्, ‘वर्षैं देखि हामीले उठाएका मुद्दाले सार्थकता पाउछ भन्ने कुरामा आशावादी छौं ।’