एकता पछि कस्ले समाल्ला बाँकेको नेतृत्व

समाचारदाता
दैनिक नेपालगन्ज
नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला अध्यक्ष को होला ? बाँकेमा त्यसको बहस र चर्चा सुरु भएको छ । खासगरी एमाले र माओवादीको बहालवाला नेतृत्वले एकीकृत पार्टीको जिम्मेवारी पाउने, नपाउने बहशसँगै अबको पार्टी अध्यक्ष को होला भन्ने बारे बहस सुरु भएको हो ।

 

बिहिबारसम्म नेकपा एमालेको अध्यक्षमा अशोक कोइराला र माओवादी बाँकेको नेतृत्वमा आइपी खरेल छन् । पार्टी एकीकरणको चर्चा चलेदेखि संयुक्त गतिविधिमा जोड दिएका दुवै पार्टीले बाँकेमा नेतृत्वको दाबी गरिरहेका छन् । यद्यपि, माओवादी केन्द्रबाट बाँकेमा नेतृत्वको सम्भावना नदेखिएको स्वयं सोही पार्टीका नेता स्वीकार गर्छन् । ‘भागवण्डाका आधारमा जिल्ला छुट्टिने सम्भावना भएकाले अहिले नै यो वा त्यो भन्न सकिने अवस्था छैन’, माओवादीका एक नेताले बिहिबार दैनिक नेपालगन्जसँग भने, ‘तर पनि हाम्रा भागमा बाँके पर्ने सम्भावना अत्यन्तै न्यून छ ।’

 

बाँकेबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य दिनेश चन्द्र यादव र मोहम्मद हारुनले एकिकरण पछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पदमा सपथ ग्रहण गरेका छन् । त्यस्तै, माओवादीबाट पूर्णाकुमारी सुवेदी, तिलक परियार र महेश्वर गहतराजले केन्द्रीय कमिटिमा स्थान पाएका छन् । बाँकेबाट ५ जनाले केन्द्रीय कमिटि सदस्य जिम्मेवारी पाएपनि एमालेबाट अभैm एकजनाको सम्भावना रहेको पार्टी स्रोतको भनाइ छ ।

 
एमालेबाट दल बहादुर सुनार र देवराज भार अबका अध्यक्षका प्रबल दाबेदार देखिएका छन् । ‘उनीहरु मध्ये नै एक जनाले नेतृत्व पाउने सम्भावना छ’, सम्बद्ध स्रोत भन्छ, ‘एकीकृत पार्टीको नेतृत्व वरिष्ठ नेताहरुबाटै हुने सम्भावना छ ।’ भार र सुनार यसअघि नै पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा बसिसकेका छन् ।

 

एकताको खुशियालीमा दिपावली

समाचारदाता
दैनिक नेपालगन्ज
सत्तारुढ दुई ठूला दल एकीकरण भएको खुशियालीमा बिहिबार बाँके, बर्दिया, दाङ, सुर्खेत, बुटवल लगायतका विभिन्न ठाउँमा खुशियाली मनाइएको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुशियालीमा देशभर दिपावली गरिएको हो ।

 
त्यसक्रममा बाँकेको नेपालगन्ज र खजुरामा दिपावलीसँगै कोणसभा गरिएका छन् । नेपालगन्जको पुष्पलाल चोकमा नेकपा एमालेका जिल्ला नेता र माओवादी केन्द्रका जिल्ला नेताहरुको उपस्थितिमा दिपावली गरिएको हो । एमाले नेता अशोक कर्माचार्यका अनुसार, माओवादी बाँकेका इन्चार्ज समेत रहेका प्रदेश सभा सदस्य आइपी खरेल, अर्का सांसद उषा पुन, नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक कोइराला लगायत दिपावलीमा सहभागी थिए । माओवादी नेता अक्कल बहादुर बम, दामोदर आचार्य, ललित रौनियार, आदेश अग्रवाल, एमाले नेता रत्न खत्री, प्रमोद धिताल, दत्त प्रसाद आचार्य, अशोक कर्माचार्य लगायतका नेताहरु पनि दिपावलीमा सहभागी थिए ।

 
दिपावलीपछि नेता आइपी खरेल र अशोक कोइरालाले पार्टी एकतालाई गाउँ, बस्तीसम्म पुर्याएर सशक्त संगठन पुनर्निर्माण गरिने बताए । त्यस्तै, खजुरा बजारमा दिपावली गरिएको एमाले नेता सतिश निरौलाले जानकारी दिए । निरौलाका अनुसार, पार्टी एकीकरणको खुशिमा भएको दिपावलीमा एमाले बाँकेका सचिव रत्न खत्री, माओवादी नेता राजकुमार विक, खजुरा गाउँपालिका–१ का अध्यक्ष सुमन मल्ल, ३ का अध्यक्ष कान्तुराम गौतम र ४ का अध्यक्ष तिलक वीर सुनार लगायत सहभागी थिए ।

 
एकताको खुशीमा दिपावली मनाउने विषयलाई लिएर दुई पार्टी बीचको एकता बैठक बिहिबार दिउँसो एमाले पार्टी कार्यालयमा राखिएको थियो । बैठकले बिहिबार साँझ दिपावली, शुक्रबार बृहत एकता र्याली निकाल्ने निर्णय गरिएको नेता अशोक कर्माचार्यले जानकारी दिए । ‘सांस्कृतिक उत्सवमय सभा र त्यसअघि बृहत एकता र्यालीको निर्णय गरिएको छ’, कर्माचार्यले भने ।

 

यसैबीच, पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित एमाले रुपन्देहीका सदस्य बाबुराम पन्थीले बताएका छन् ।

 

एकीकरणको सन्देश अब आम जनतामा पु¥याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका नेता विनोद पहाडीले भने, ‘यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।’

 
विघटित एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुवेदी दुबै पार्टीको एकताले अब मुलुकमा राजनितिक स्थिरतासहित शान्ति, स्थायित्व, विकास र समृद्धिको अवसर आएकोे बताए । एकताको खुसियालीमा जिल्लाका प्रमुख शहर बुटवल, भैरहवा तथा ग्रामीण क्षेत्रमा समेत दीपावली गरिएको विघटित एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया