दैनिक नेपालगन्ज
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिसनमा रहेको राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्ज र यसको सेरोफेरोमा भौतिक पूर्वाधार निर्माण कार्यलाई तिव्रता दिएको छ । आगामी मंसिरको पहिलो साता नेपालगन्जमा आयोजना गर्ने घोषणा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक अर्ब ५ करोड बजेट भौतिक पूर्वाधारका लागि मात्र छुट्याइएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । ‘धमाधम भौतिक पूर्वाधार निर्माणको कामहरु अगाडि बढेका छन्’, ओलीले दैनिक नेपालगन्जसँग भने, ‘प्रतियोगिताको दिन नजिकिंदै गर्दा सबै निर्माणाधिन कामहरु सक्ने लक्ष्य राखिएको छ ।’
ओलीका अनुसार, सबैभन्दा ठूलो लगानीमा नेपालगन्ज रंगशाला निर्माण हुँदैछ । ३१ करोड बजेटको टेण्डर स्वीकृत प्रक्रियामा गएको जानकारी दिंदै अध्यक्ष ओलीले ६ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको बताए । एथलेक्टिस ट्रयाक, फुटबल मैदान, प्याराफिट, भिआइपी कक्ष लगायतका संरचनाहरु नेपालगन्ज रंगशालामा निर्माण गरिनेछन् । यसअघि नै खेलकुद मैदानमा माटो पटान भैसकेको नेपालगन्ज रंगशालामा ३० लाख बढी बजेट खर्च भैसकेको अध्यक्ष ओलीले बताए ।
पौडी पोखरी निर्माण कार्य पनि धमाधम भैरहेको छ । नेपालगन्ज रंगशाला छेउमा निर्माण भैरहेको पौडी पोखरीका लागि १४ करोड २८ लाख बजेट छुट्याइएको छ । २०७६ असारसम्म निर्माण अवधी दिइएको उक्त परियोजना ६ महिना अगाडि नै सक्ने गरी काम भैरहेको अध्यक्ष ओलीका दाबी छ । ‘प्रतियोगिता नै सञ्चालन गर्न सकिने गरी पौडी पोखरी निर्माण कार्य अगाडि बढेको छ’, ओलीले पहिलो चरणको काम सकिन लागेको जानकारी दिंदै भने ।
झण्डै १ करोड बजेट छुट्याइएको सुटिङ्ग रेन्ज आज सोमबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शिलान्यास गर्दैछन् । अध्यक्ष ओलीका अनुसार, ६१ लाखमा टेण्डर स्वीकृत भएको सुटिङ्ग रेन्ज भित्र खेलाडीका लागि आवश्यक सबै सुविधा उपलब्ध हुने गरी बनाइनेछ । ४७१४ स्क्वायर फिटको भुइँतला र ४८२० स्क्वायर फिटको पहिलो तल्ला निर्माणका लागि बजेट व्यवस्था भैसकेको जानकारी दिंदै अध्यक्ष ओलीले पहिलो चरणको काम असारसम्म सक्ने गरी ठेक्का दिइएको बताए ।
कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाउन्ड्री लगाइँदैछ । खजुराको सितापुरमा भलिबल स्टेडियमका लागि शिलान्यास भैसकेको छ । ‘राखेपले बजेट व्यवस्थापन गर्नासाथ भलिबल स्टेडियम निर्माण सुरु हुनेछ’, नेपालगन्ज स्टेडियम भन्दा ठूलो क्षमताको निर्माण कार्य हुने जानकारी ओलीले दिए । ओलीले जुडोका लागि पनि निर्माण कार्यमा ढिलाई नगरिने बताए ।
बाँकेसँगै बर्दियाको बाँसगढीमा कबड्डी एकेडेमी, भुरेगाउँमा खोखो कबर्ड हल बन्ने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । दाङको बेलझुण्डिमा ३४ करोड बजेटमा प्रदेश स्तरीय रंगशाला निर्माण कार्यका लागि टेण्डर प्रक्रिया सुरु भैसकेको अध्यक्ष ओलीले जानकारी दिए । लमहीमा ४० लाख बजेट क्रिकेट मैदानका लागि छुट्याइएको ओलीको भनाइ थियो ।
सुर्खेतमा रंगशाला निर्माणका लागि प्रारम्भिक अध्ययनका लागि मात्रै ४७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । ‘तत्कालीन राजनीतिक संरचनामा छुट्याइएको बजेट अब प्रादेशिक ढंगले कार्यान्वयनमा जानेछ’, ओलीले भने ।
आठौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत, नारा तय गरिसकिएको राष्ट्रिय खेलकुद परिषद्ले तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । राखेपले ‘आठांै खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ नारा घोषणा गर्दै तयारीमा तिव्रता दिएको छ ।