नेपालगन्ज अब ‘डिजिटल सिटी’

अपराध विरुद्ध डिजिटल अप्रेशन, सहर भित्र १४ स्थानमा सिसिटिभी

दैनिक नेपालगन्ज

नेपालगन्जमा नागरिक सुरक्षा अवस्थालाई चुस्त बनाउन प्रभावकारी हिसाबको पहल अघि बढेको छ ।
सहरमा हुने घटना, अपराध र आवागमन तथा नागरिक सुरक्षामा निगरानी बढाउन प्रहरीले सहरका १४ स्थानमा सिसिटिभी क्यामरा जडानको तयारी अघि बढाएको छ । त्यसका लागि उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य अध्यक्ष हुने गरि २५ सदस्यीय समिति गठन गरिएको छ ।

 
यसअघि नेपालगन्जको ५ स्थानमा जडान रहेको सिसिटिभी क्यामरा बिग्रिएको, रेकर्डिंग नभएको र चलेका क्यामरामा पनि तस्वीर नदेखिएको बारे सुरक्षा सम्बन्धी गम्भीर चुनौतीयुक्त समाचार दैनिक नेपालगन्जले हालै प्रकाशित गरेको छ ।
बाँकेका सरोकारवाला, सुरक्षा अधिकारी, विभिन्न विशेषज्ञ सहितको छलफलमा नेपालगन्जलाई डिजिटल सिटीको रुपमा सुधार गर्न पाइलाहरु अघि सरेका छन् । मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघमा भएको छलफलमा सुरक्षाका लागि नेपालगन्जमा कम्तिमा १४ स्थानमा क्यामरा जडान गर्ने लक्ष्य तय भएको हो ।

 
सहरमा भइरहेका अपराध, अनावश्यक आवागमन र अनुसन्धानमा सहायक हुने क्यामरा जडानका लागि २५ सदस्यीय समिति पनि गठन गरिएको छ । नेपालगन्ज सिसिटिभी ब्यवस्थापन समितिको नाम राख्दै अध्यक्षमा उद्योग वाणिज्य संघ नेपालगन्जलाई राखिएको छ ।

 
समितिको उपाध्यक्ष प्रेम प्रसाद सुवेदी संहकारी संघका अध्यक्ष रहेका छन् । सचिवमा विजया धिताल र कोषाध्यक्षमा हरमेश सोनी रहेका छन् । सदस्यहरुमा रचना श्रेष्ठ, विपी न्यौपाने, टेक बहादुर खड्का, तारा रोकाय, शोभाखर पौडेल, प्रेम खत्री, ठाकुर सिंह थारु, सकील जसगढ, संजय थापा, केशव न्यौपाने, तेज प्रसाद रेग्मी, उमेश गुरागाई, चम्पालाल बोथरा, मान बहादुर थापा, डा.सुरेश कनोडिया, सलाउद्दीन जसगढ, सुरेश चन्द, किसन गुरुंग, टेक बहादुर तामांग, अजय कुमार टण्डन, राजन कुमार गौतम रहेका छन् ।

 
पहिलो बैठकबाटै क्यामराका लागि समितिका पदाधिकारीहरुले स्वस्फूर्त रुपमा २ लाख ५२ हजार एक सय रुपैया संकलन गरेका छन् । ‘१४ स्थानमा क्यामरा जडान गर्नका लागि कम्तिमा २५ लाख आवश्यक पर्छ’, समितिका सदस्य समेत रहेका बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘त्यसको ब्यवस्थापनका लागि पनि समिति गठन गरिएको छ ।’

 
‘उद्योगी ब्यवसायीबाट सुरक्षा संवेदनशीलताका लागि उत्साही ढंगले लगानी हुने सम्भावना देखा परेको छ’, प्रहरी प्रमुख तामाङले भने, ‘आर्थिक संकलनका लागि समिति पनि गठन गरिएको छ ।’ सहकारी संघका अध्यक्ष तथा समितिका उपाध्यक्ष प्रेम प्रसाद सुवेदीको संयोजकत्वमा आर्थिक संकलन उप समिति गठन गरिएको उनले बताए ।
समितिका सदस्य संजय थापाको संयोजकत्वमा सिसिटिभी सम्बन्धी प्राविधिक अध्ययन उपसमिति गठन गरिएको छ । नेपालगन्ज क्षेत्रमा भएका अपराध अनुसन्धानमा फाइल अड्कने र अनुसन्धान प्रभावकारी हुन नसक्ने अवस्थालाई समाधान गर्न प्रहरीले क्यामरा जडानको पहल थालेको हो ।

 
‘सहरका अन्य कार्यालय, घर वा बैंकमा जडान रहेका क्यामरालाई सार्वजनिक स्थान पनि कभर गर्ने हिसाबले जडान गर्न पहल हुनेछ’, प्रमुख तामाङले भने, ‘नेपालगन्जलाई पूर्ण रुपले क्यामराको मुनि राख्ने तयारी अघि सरेको हो ।’
सहरमा हुने कुनैपनि सडक दुर्घटना, अपराध, आवागमन र निगरानीमा क्यमरा प्रयोग गर्ने लक्ष्यसहित नागरिक सुरक्षा सहयोगमा महत्वपूर्ण भूमिका हुने प्रहरी बुझाई छ । क्यामरा खरीद गर्दा कम्तिमा ५ वर्ष सम्म संचालन हुने ग्यारेन्टी सहित खरीद बारे प्रक्रिया अघि बढेको एसपी तामाङले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया