अस्पताललाई एक अर्बको सम्पत्ति दान

दैनिक नेपालगन्ज/समाचारदाता

तपाई मरणोपरान्त आफ्नो सम्पत्ति कसका लागि उपयोगी होस् भन्ने चाहनुहुन्छ ? त्यसबारे सोच्नु भएको छैन भने महादानी यी दम्पत्तिबाट प्रेरित हुन सक्नुहुन्छ ।

 

 

आँखा स्वास्थ्यको क्षेत्रमा पश्चिम नेपालकै महत्वपूर्ण केन्द्र बनिरहेको नेपालगन्ज स्थित फत्तेबाल आँखा अस्पतालका लागि श्रीजंग शाहले झण्डै एक अर्बको सम्पत्ति दान गरेका हुन् । ९३ बर्षिय शाहले सपत्नी उपभोग गर्दै आएको सम्पूर्ण सम्पत्ति मरणोपरान्त फत्तेबाल आँखा अस्पतालको श्रीवृद्धि र स्थायित्वका लागि दान गर्नुभएको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले जानकारी दिए ।

 

 

पश्चिम नेपाल र भारतीय क्षेत्रमा आँखा उपचारमा २०४३ साल देखि प्रभावकारी भूमिका निर्वाह गर्दै आएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले थप २२ करोड (सरकारी मूल्यांकन) बराबरको घर जग्गा कान्तिपथ काठमाडौमा प्राप्त गरेको हो । ‘स्थानीय बजार भाउ अनुसार यो झण्डै एक अर्बको सम्पत्ति हो’, डा. बर्माले दैनिक नेपालगन्जसँग भने ।

 

स्व.फत्तेजंग शाह र स्व.बालदिब्येश्वरी शाहका छोरा तथा अस्पतालका संरक्षक श्रीजंग शाह र उनकी पत्नी रुद्र कुमारी शाहले आफ्नो सम्पूर्ण घर जग्गा आँखा अस्पताललाई दान गरेका हुन् । काठमाडौ महानगरपालिका वडा नं.१ कित्ता नं.११२३ र ११२४ को करिब ५ कठ्ठा (३ रोपनी भन्दा बढी) जग्गा अस्पताललाई दान दिएका शाहले बुबाआमाको दान गर्ने बानीबाट आफुमा पनि दान गर्ने प्रेरणा प्राप्त भएको बताएका छन् ।

 

शाहका बुबा र आमाले यसअघि २०४३ सालमा दान गरेको स्वबासी घर जग्गाबाट स्थापना भएको अस्पताल निरन्तर प्रगति गरिरहेको र पारदर्शी तथा कुशल ब्यवस्थापनका साथ संचालन भइरहेको अवस्थालाई हेरेर अझै सहयोग गर्ने मनोभावना उत्पन्न भएको शाहले बताए ।

 

 

मेरो बुबा आमाले गरेको दानबाट लाखौं ब्यक्तिहरुको दृष्टि संरक्षित भइरहेको र आम नागरिकहरुको जीवनको गुणस्तरमा बृद्धि भएको बताउँदै शाहले भने, ‘बुबाले दान गरेको सम्पत्तीलाई आँखा अस्पतालले उचित ब्यवस्थान गरी जनकल्याणकारी कार्यमा लगाएको र सामुदायिक कार्यक्रम बिस्तार गर्दै लगेकोले बुबाआमा पछि थप दान दिएको हुँ ।’
‘मैले गरेको दानबाट अझ देश विदेशका नागरिकहरु सेवा पाउन त्यस भन्दा पुण्य कार्य अर्को हुन सक्दैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै, शाहले भने, ‘जीवनमा स्वर्ग नर्क यहीं छ ।’ उनले सम्झना गर्दै भने, ‘बुबाले कुल खानदानको केहि कीर्ति कायम गरी जानु भन्नुभएको थियो ।’

 

 

‘विभिन्न अवरोधका बावजूद मैले सम्पत्तिलाई अस्पताल प्रबन्धनको जिम्मेवारीमा दिएको छु’, शाहले भने, ‘यसको सही सदुपयोग हुने कुरामा म पूर्ण विश्वस्त छु ।’ यसअघिको दानलाई अस्पतालले गुनासो गर्ने कुनै ठाउं नराखी कुशल ब्यवस्थापन गरेको उनले बताए ।
फत्तेबाल आँखा अस्पतालले वार्षिक लाखौं ब्यक्तिहरुलाई आँखा उपचारको सेवा दिँदै आएको बताउँदै शाहले भने, ‘अस्पतालले राम्रो काम गरीरहेको छ, त्यसबाट प्राप्त हुने धर्ममा केहि सन्तुष्टि मलाई पनि प्राप्त हुन्छ ।’

 

 

समाजमा आफ्नो हित मात्र चिताउनेको कमी नरहेका बेला शाहले आफ्नो बहुमूल्य घरजग्गा दान गरेर अझै समाजमा राम्रा ब्यक्ति र दाताहरुको कमि नरहेको उदाहरणीय र प्रशंशनीय कार्य गरेका छन् । नेपालगन्जमा आँखा अस्पताले हरेक वर्ष उपचारका नयाँ विधि, निरन्तर गुणस्तर सुधार, भौतिक संरचना विकास, कर्मचारी ब्यवस्थापन, ३ सय ६५ दिन सेवा, नेत्र सहायक अध्यापन गराउने प्राविधिक कलेजको संचालन लगायतबाट सेवाग्राहीहरुलाई बिगत ३१ वर्षदेखि निरन्तर आकर्षित गर्दै आएको छ ।

 

फत्तेबाल आँखा अस्पतालबाट पश्चिम नेपालका मात्र नभई भारतीय क्षेत्रबाट समेत सेवाग्राहीहरुले लाभ लिँदै आएका छन् । ‘अस्पतालको चुस्त ब्यवस्थापन र पारदर्शी सेवाबाटै प्रभावित भएर मैले जग्गा दिएँ’, शाहले भने, ‘दुरुपयोग भएको भए किन दान गर्थे र ।’
‘अस्पताललाई अतुलनीय दान दिएका दाताको हित, उनको इच्छा अनुसारको उद्देश्यपूर्तिमा ब्यवस्थापनले कतिपनि कमि आउन दिदैन’, अस्पतालका प्रबन्ध निर्देशक डा. बर्माले भने, ‘हामी दाताको एक एक पैसाको कदर गर्न प्रतिबद्ध छौं र रहनेछांै ।’

 

 

प्रबन्ध निर्देशक बर्माका अनुसार, २०४३ सालमा शाह परिवारले दिएको एक विगाह जग्गामा अस्पतालले हाल साढे ४ विगाह क्षेत्रफल जग्गा बिस्तार गरिसकेको छ । १० शैय्याको अस्पतालबाट सुरु भएको फत्तेबाल आँखा अस्पतालमा डेढ सय शैय्या सेवारत छ भने थप १ सय शैय्या निर्माणाधिन रहेको डा. बर्माले जानकारी दिए । ‘१ लाख २० हजार ओपिडि र १२ हजार बढी शल्यक्रियाको सेवा बार्षिक रुपमा प्रदान गर्दै आएका छौं’, डा. बर्माले भने । जग्गा प्राप्तिको कानुनी प्रक्रियाका लागि डा. बर्मासँगै अस्पताल सञ्चालक समितिका सदस्य जैनेन्द्र कुमार टण्डन काठमाडौंमा सक्रिय छन् । आज शनिबार पत्रकारहरु बीच यसबारे औपचारिक जानकारी गराइने अस्पतालले जनाएको छ ।

को हुन् श्रीजंग शाह ?

फत्तेबाल आँखा अस्पताल संचालित घर जग्गा दान गर्ने कप्तान स्व.फत्तेजंग शाह र स्व.बालदिब्येश्वरी शाहका दोश्रो छोराको रुपमा वि.सं.१९८० मा काठमाडौमा श्रीजंग शाहको जन्म भएको हो ।

 

श्रीजंग शाहले कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए, डिप्लोम्यासी र अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका छन् । विश्वका दर्जन बढि मुलुकको भ्रमण गरेका शाह सुविख्यात त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहण रजत महोत्सव पटकबाट बिभूषित भईसकेका छन् ।
लुम्बिनी बिकास कोष र पशुपति क्षेत्र विकासका लागि नेपाल सरकारबाट निर्देशन भएअनुसार देशब्यापी रुपमा चन्दा संकलन गरी सामाजिक योगदान दिएका शाह, बिगत ३० वर्षदेखि फत्तेबाल आँखा अस्पतालको संरक्षकको रुपमा रही आएका छन् ।

 

पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष समेत रही सक्नु भएका शाह विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्मेलनमा नेपालको तर्फबाट अल्टरनेट गभर्नरको रुपमा सहभागी हुनुको साथै त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालिन शाही नेपाल वायु सेवा निगमको निर्देशक पदमा रही सेवा गरेका हुन् ।

 

नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्र ज्योति संघको आजीवन सदस्य रहेका शाह लुम्बिनी विकास कोषको सदस्य पदमा पनि क्रियाशिल थिए । नेपालगन्ज र काठमाडौ दुबै स्थानमा उनको घर रहेको छ ।

 

शाहको एउटा बिबाहित छोरी ईश्वरी राणा र श्रीमती रुद्र कुमारी शाह रहनु भएको छ । शाह सरल जीवन र विचार भएका ब्यक्ति हुन् । धार्मिक आस्थावान शाह, विभिन्न धार्मिक ग्रन्थहरुको विश्लेषण समेत प्रभावकारी ढंगले गर्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया