प्रभावकारी उपस्थिति, औचित्यहीन चेकजाँच

बाँकेमा ‘असंवेदनशील सुरक्षा’

विनय दीक्षित

नागरिक सुरक्षाको लागि जिम्मेवार तहका सुरक्षा अंगहरु नागरिक सुरक्षा प्रति संवेदनशील नरहेको पाइएको छ । बाँके भारतीय सिमाना संग जोडिएको जिल्ला हो । दिनहुँ सयौं नागरिकहरु रुपईडिहा र नेपालगन्ज नाकाबाट आवागमन गर्छन् । खुल्ला सिमाना भएपनि भारतीय सुरक्षा अधिकारीले सिमाक्षेत्रको सबै विवरण राख्ने गरेका छन् । रुपईडिहाबाट नेपालगन्ज आउने क्रममा, नाका प्रवेश लगत्तै इलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्मका सुरक्षाकर्मीको चेकजाँचबाट खेप्नु पर्छ । त्यहाँबाट नेपालगन्ज तर्फ अघि बढेपछि पुरानो भन्सार कार्यालय अगाडी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सघन चेकजाँच छ ।

 

 

केहि अगाडी बढेपछि सिमा प्रहरी चौकी जयसपुर, र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोली संयुक्त रुपमा चौलिक्का चोकमा चेकजाँच अघि बढाउँछ । त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य आकस्मान हुने प्रहरी गस्तीका सुरक्षा अधिकारीले नेपालगन्ज रुपईडिहा नाकामा सक्रियता देखाउँछन् । जमुनाहा नाकाबाट प्रवेश गर्दा चेकजाँचको क्रमबद्धता र प्रहरीको उपस्थितले सुरक्षा संवेदनशीलता प्रभावकारी रहेको चित्रित गरिरहँदा, बिग्रिएका सिसिटिभी क्यामरा र नागरिक विवरण विहीन प्रहरीको अभिलेखले सुरक्षा प्रति असम्बेनशीलताको पोल खोलेको हो ।
रुपईडिहा एसएसबीले नेपालबाट जाने र भारतबाट नेपाल आउने हरेक ब्यक्ति, सवारी साधन, पशु र सामाग्री समेतको विवरण राख्ने गरेको पाइएको छ । एसएसबीको दैनिक अभिलेख रजिष्टरबाट सिमा नाकामा जटिल निगरानी राखेको पाइएको हो ।

 

 

सिमा क्षेत्रमा एसएसबीले सिसिक्यामरा, हिडेन क्यामरा र ड्रोन क्यामरा सहित अभिलेखका लागि कर्मचारी खटाएर नै नागरिकको संख्यात्मक रुपमा अभिलेख राख्ने गरेको पाइएको छ । एसएसबीले आवागमन गर्ने महिला पुरुष, बालबालिका, सवारी साधन, चालक, ट्रक, ट्याँकर, साइकल, मोटरसाइकल सहित पशुको पनि विवरण एकमुष्ट राख्ने गरेको पाइयो ।
२०६४ सालमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सिमा क्षेत्रमा, इलाका प्रहरी कार्यालय जमुनाहाले संचालन गर्ने गरि ४ वटा सिसि टिभी क्यामरा जडान भएको थियो । ‘अहिले ३ वटाले काम गरिरहेपनि प्रष्ट रुपले मानिस चिन्न सकिँदैन’, इप्रका जमुनाहाका इन्चार्ज सुधीर खड्काले भने, ‘एउटा त बिग्रिएर कामै नलाग्ने अवस्थामा छ ।’

 

 

‘मर्मतका लागि सूचना दिइएको हो’, खड्काले भने, ‘यसको संचालन विधि पनि निकै जटिल छ, यसबाट खासै प्रभाव परिरहेको छैन । अहिले तस्वीर प्रष्ट बुझ्ने गुणस्तरको क्यामरा आवश्यक देखिएपनि ब्यवस्थापन हुन सकेको छैन ।’
नागरिक आवागमनको विवरण संकलन गर्न सम्भव नै नभएको इन्चार्ज खड्काले बताए । ‘यति धेरै ब्यक्तिलाई गणनानै गर्न सकिन्न’, उनले भने, ‘नेपालबाट काम गर्न भारत जान लागेका ब्यक्तिहरुको मात्रै विवरण संकलन गरिन्छ ।’
‘दिनहुँ हजारौं ब्यक्तिहरु आवागमन गर्छन, यति धेरै विवरण राख्न कसरी सम्भव छ ?’, खड्काले भने, ‘आवश्यक भएकाहरुको मात्र नोट हुने गरेको छ । ३५ जना प्रहरी रहेको इलाका प्रहरी जमुनाहामा अहिले २३ जना मात्रै खटिएका
छन् ।’

 

 

सिमानामा निगरानीको विधि बारे प्रहरी अन्योल रहेको पाइयो । ‘निगरानी यस्तै त हो नि’, दैनिक नेपालगन्ज संग कुरा गर्दै खड्काले भने, ‘पूरै विवरण राख्न सकिन्न ।’ सिमा नाकामा निगरानी गर्ने पक्ष सशस्त्र प्रहरी नेपाल सिमा सुरक्षा कार्यालय महेन्द्रनगरका सुरक्षा अधिकारी चौलिक्का चोकमा पोष्ट नै खडा गरेर चेकजाँच अघि बढाउँछन् ।
‘नागरिक आवागमनको पक्ष हाम्रो होइन’, सिमा सुरक्षा कार्यालयका प्रमुख एसपी फडिन्द्र पौडेलले भने, ‘भन्सारछलि गरी आएको सामाग्री वा आपतकालिन आवश्यक पर्ने सुरक्षाको जिम्मेवारी हाम्रो पक्ष हो ।’

 

 

चौलिक्का चोकमा सिमा प्रहरी जयसपुर र सशस्त्र सिमा सुरक्षा कार्यालयबाट ९ देखि १३ जना प्रहरी तैनाथ हुन्छन् । भन्सार नाकाबाट आएका ईरिक्सा, अटो, ट्रक, बस सहितको सवारी साधन चेकजाँच गर्दै आएको प्रहरी संग नागरिक मात्र हैन, गाडीको नं. सम्बन्धी अभिलेख पनि छैन । पुरानो भन्सार कार्यालयमा स्थापित रहेको सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व सुरक्षा गुल्म नेपालगन्जका प्रमुख डीएसपी सन्तोष विक्रम शाहले चोरी निकासी माथिको निगरानीको जिम्मेवारी रहेको बताएका छन् ।

 

 

‘भन्सार अगाडि खटिएका सुरक्षाकर्मीले चोरी निकासी र राजश्व छली सम्बन्धी घटनाहरु माथि निगरानी राख्छन्’, डीएसपी शाहले भने, ‘खासगरि भन्सार कार्यालयका प्रमुखको निर्देशनमा हामीले काम गर्छौं ।’
भन्सार कार्यालयबाट आवागमन गर्ने मालबाहक सवारी साधनको विवरण संकलन गर्ने गरेको डीएसपी शाहले बताए । ‘आवागमन गर्ने ब्यक्तिहरु माथिको निगरानी हाम्रो पक्ष होइन’, उनले भने, ‘इलाका प्रहरी कार्यालय जमुनाहाले सो सम्बन्धी काम हेर्छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले पनि जमुनाहा नाका भएर आवागमन गर्ने सवारी साधन र ब्यक्तिको विवरण राख्दैन । जिल्लामा मुख्य नाकाको अवस्था हो यो । अन्य सहायक नाका, होलिया, ककरदरी, घोडदौरिया, रोशनपुर्वा, सुईयाबाट समेत आउने जानेको अभिलेख प्रहरी संग छैन ।

 

 

हरेक दिन भन्सार नाका बाहेक सहायक नाकाबाट सयौं भारतीय सवारी साधान र मानिसहरु आउने गरेको तथ्यविच प्रहरीको हात खाली छ । न सवारी साधनको विवरण र मानिसको । नेपालगन्ज सहरको सुरक्षा चुनौतीलाई मध्यनजर गरी प्रहरीले पुष्पलाल चोक, धम्बोझी चोकमा पनि सिसिटिभी क्यामरा जडान गरेको थियो । प्रहरी ब्यायामशाला र जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको क्यामराको रेकर्ड मोनिटर मंगलवार बन्द स्थितिमा पाइयो । सुरक्षा निगरानीमा तल्लीन प्रहरी अधिकारीले भने, ‘लामो समय देखि क्यामरा बिग्रिएको अवस्थामा छ ।’

 

 

बाँकेको सुईया देखि राधापुर, बेलभार, सितापुर, जयसपुर, हिरमिनिया, होलिया, बेतहनी, गंगापुर, भगवानपुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर क्षेत्रका प्रहरी युनिटहरु सिमाना नजिक छन् । खुल्ला सिमाना भएका कारण दुबै देशका स्थानीयहरुको आवागमन दुबै तर्फ हुन्छ । सिमानाको हरेक ३ किलोमिटरमा भारतीय एसएसबी र उत्तर प्रदेश प्रहरीका युनिटहरु स्थापित छन् । अत्याधुनिक चेकजाँच र निगरानीको विधी अपनाउँदै आएको भारतकै सुरक्षा निगरानीको भरोसमा नेपाली सुरक्षा अधिकारीहरु आश्रित छन् । ‘सिमाना क्षेत्रमा नागरिक आवागमनको विवरण राख्न असम्भव किन ?’ प्रश्नको जवाफमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांग भन्छन्, ‘असम्भव त होइन, जनशक्ति अभावको विषयलाई नकार्न सकिन्न ।’

 

 

पूरै जिल्लाको सिमा क्षेत्रमा स्थापित रहेका प्रहरी युनिटहरु सिमा प्रहरी नभएको बताएका छन् । ‘यद्यपि निगरानीको क्षेत्र पर्दोरहेछ’, उनले भने, ‘नागरिक आवागमनलाई मुख्य नाका बाहेक अन्य स्थानमा ब्यवस्थापन गर्न नसक्नु संख्यात्मक चुनौती नै मुख्य कारण हो ।’ बाँकेको सिमा क्षेत्रमा भारतीय एसएसबीझैं चेकजाँच र निगरानीका लागि सिमा सुरक्षा कार्यालयहरु स्थापित छन् । सरकारले सिमा क्षेत्रमो सुरक्षा र सिमा निगरानीका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी तोकेर सिमा क्षेत्रमा एक दर्जन युनिटहरु स्थापित छन् । तर, भारतबाट नेपाल र नेपालबाट भारत आउने जाने ब्यक्तिहरुको विवरण युनिटहरुमा छैन ।

 

 

गत साता क्यामरा बिग्रिएकै स्थान पुष्पलाल चोकबाट १५ तोला सुन सहित ब्याग हराएको र सोही स्थान नजिकबाट १४ वर्षिय बालिकालाई बलात्कार गरि अभियुक्त फरार रहेको विषयमा प्रहरी अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।
बाँकेमा ३ वर्ष भित्र भएका १४ वटा हत्या घटनामा अझै अभियुक्त पत्ता लगेको छैन । ५ वटा हत्या घटनामा प्रहरीले मृतकको सनाखत समेत गर्न नसकेर अनुसन्धान जारी रहेको भन्दै आएको छ । दिपक हेमकार परिवार हत्याकाण्ड र मजीद मनिहार हत्याको कथा अझै नसुल्झिएकै स्थितिमा छ ।

प्रतिक्रिया

प्रतिक्रिया