किन बनाइँदैन भेरी अञ्चल अस्पतालको इको मेसिन ?

कृष्ण अधिकारी/नेपालगन्ज

पश्चिम नेपालका सरकारी अस्पतालहरु मध्ये नेपालगन्ज स्थित भेरी अंचल अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा उपलब्ध छ । भेरी अंचल अस्पतालमा मुटुरोग बिशेषज्ञ (डि एम कार्डियोलोजिष्ट ) डा कृष्ण प्रसाद अधिकारीले मुटु रोग सम्बन्धी उपचार सेवा दिदै आएका छन । तर, मुटुरोगको उपचारका लागि अत्याबश्यक पर्ने मुटुको भिडियो एक्सरे गर्ने मेसिन (इको मेसिन) मेसिन ५ महिना देखि बिग्रिएर थन्किएको छ ।

 

इको मेसिन समय मै मर्मत गरेर संचालन गर्ने तर्फ अस्पताल प्रशासनले ध्यान नदिंदा बिरामीहरु चर्काे मुल्य तिरेर निजी स्बास्थ्य संस्थाहरुमा गएर इको गराउन बाध्य छन । भेरीमा ८ सय ५०मा हुने इको जाँचको शुल्क निजी स्वास्थ्य संस्थाले २ हजार १ सय लिने गरेका छन । करिब ८० लाखमा नेपाल सरकारले खरिद गरेर भेरी अंचल अस्पताललाई उपलब्ध गराएको इकोको बिग्रिएको ५ महिना बिति सक्दा पनि बिग्रिएको इको मेसिनलाई मर्मत संहार गरेर चलाउने तर्फ अस्पताल प्रशासनले चासो नदिंदा बिरामीहरु चर्काे शुल्क तिर्न बाध्य भएका हुन् ।

 

बिग्रिएको इको मेसिन मर्मत संहारको प्रकृया अझै सुरु सम्म हुन सकेको छैन । त्यसै गरी अस्पतालले डेड बर्ष पहिले करिब १३ लाखमा खरिद गरेको टिएमटी मेसिनले खरिद गरी अस्पतालमा जडान गरिएकै दिन देखि काम गरेको छैन ।
सरकारी लगानीमा खरिद गरिएको टिएमटी मेसिनले काम नगरे पनि त्यसलाई संचालन गर्ने तर्फ अस्पताल प्रशासनले ध्यान नदिंदा टिएमटी मेसिन त्यसै थन्किएको छ । जसका कारण सरकारको लाखौको लगानी हुँदा समेत बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।

 

२०७१ बैशाख देखि भेरी अंचल अस्पतालले छाती दुख्ने, मुटुको धड्कन बढ्ने, चक्कर आउने, ब्लड प्रेसर कन्ट्रोल नहुने देखि हर्ट अट्याक भएको बिरामीहरुलाई उपचार सेवा दिदै आएको थियो । अस्पतालले मुटु रोगको उपचार सेवा सुरु गरे पछि मुटु रोग सम्बन्धी समस्या लिएर उपचारका लागि दैनिक ५० जना सम्म बिरामीहरु अस्पतालमा आउने गरेका
छन् । मदिरा र सुर्ति जन्य बस्तुको सेवन गर्ने, मासु धेरै खाने, धेरै समय तनाबमा रहने र शारीरिक ब्यायाम नगर्ने मानिसहरुमा मुटु रोग सम्बन्धी समस्याहरु देखिने गरेको छ ।

 

 

नेपाल सरकारले करौडौको लगानी गरेर भेरी अंचल अस्पतालमा उपलब्ध गराएको मुटु रोगको उपचार सेवा इको र टिएमटी मेसिन मर्मत संहार नहुँदा प्रभाबकारी बन्न नसके पनि अस्पताल बिकास समिति, प्रमुख, कर्मचारी युनियन र चिकित्सक संघ भने मौन छन ।

 

भेरी अंचल अस्पतालको सेवा र सुबिधालाई प्रभावकारी बन्दा आफ्नो प्राइभेट क्लिनिकको आम्दानी घट्छ मानसिकता अधिकाश चिकित्सकहरुमा भएका कारण अस्पतालको सेवा प्रभाबकारी बन्न नसकेको हो । अस्पतालमा आउने मुटुरोग सम्बन्धी बिरामी मध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहका छन् । त्यसै गरी मुटुको नशा साघँुरो भएका र हर्ट फेलर सम्बन्धी समस्या भएका बिरामीहरु पनि करिब १० /१० प्रतिशतको हाराहारीमा छन ।

 

त्यसै गरी जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गड्बडी भएका, मुटुको बरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु रहेका छन् । शहरी क्षेत्रका हुने खाने बर्गका मानिसलाई मात्रै हुने ठानिएको मुटु रोग सम्बन्धी समस्याबाट दुर्गम गाउँका बिपन्न जनता समेत पीडित हुने गरेका छन् ।

 

हरेक एक हजारमा एक जनामा मुटु सम्बन्धी समस्या देखिएको राष्ट्रिय तथ्याङ्कले मुटु रोगको समस्या डरलाग्दो रुपमा बढ्दै गएको देखिन्छ । मुटु सम्बन्धी उपचार बिशेषज्ञहरुले मात्रै गर्न सक्छन् तर मुटु रोगको समस्या डरलाग्दो रुपमा बढ्दै गए पनि मध्य तथा सुदुर पश्चिमका सरकारी अस्पताल मध्ये भेरी अंचल अस्पताल बाहेक अन्य अस्पतालमा मुटु रोग बिशेषज्ञ छैनन् । निजी क्षेत्रबाट संचालित अस्पतालहरुमा पनि बिशेषज्ञता हासिल गरेका राम्रा डाक्टरहरु आउन मान्दैनन् । आए पनि लामो समय नबस्ने समस्या कायमै छ ।

 

नेपालका करिब ८० लाख जनता बसोबास गर्ने पश्चिम क्षेत्रको एउटा मात्रै सरकारी अस्पतालमा एक जना मात्रै मुटु रोग बिशेषज्ञ छन् । तिनै मुटुरोग बिशेषज्ञले पनि अत्यावश्यक उपकरणका साथै साधन स्रोत नहँुदा सहज रुपमा मुटुरोगको उपचार सेवा प्रदान गर्न सकिरहेका छैनन् । जसका कारण यस क्षेत्रका जनताका लागि मुटुरोगको उपचार निक्कै जटिल र खर्चिलो बनेको छ ।

 

पश्चिम नेपालका जनतालाई सहज रुपमा मुटु रोगको उपचार सेवा उपलब्ध गराउन सरकारले राजधानी बाहिर पनि सुबिधा सम्पन्न मुटु अस्पलताल स्थापना गर्ने बेला भई सकेको बिज्ञहरुले बताएका छन ।

प्रतिक्रिया

प्रतिक्रिया