लायन्स कन्भेन्सन नेपालगन्जमा
स्वयंसेवी संस्थाका रुपमा विश्व प्रसिद्ध, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को राष्ट्रिय महाधिवेशन (कन्भेन्सन) नेपालगन्जमा आयोजना हुने भएको छ । आगामी चैत्र १७ गते नेपालगन्जमा लायन्स कन्भेन्सन निश्चित गरिएको हो ।
बिहीबार डिष्ट्रिक गभर्नर मधुसुदन शर्माले कन्भेन्सन आयोजना घोषणा गरे । पत्रकारहरु बीच डिष्ट्रिक गभर्नर शर्माले देशभरका ३ सय ३६ लायन्स क्लब, २ सय लियो क्लब र डिष्ट्रिक पदाधिकारीहरु समेत गरी २ हजार ५ सय बढी लायन्स लिडरहरुको जमघट नेपालगन्जमा हुन लागेको जानकारी दिए ।
‘केही परियोजनाहरु स्वीकृत गरेर अगाडी बढाउने योजनामा छु’, डिष्ट्रिक गभर्नर शर्माले ३ करोडको एउटा परियोजना स्वीकृत गरी लायन्स क्लब इन्टरनेशनल पठाइएको जानकारी दिंदै भने, ‘भेरी अञ्चल अस्पतालको मुटु विभागलाई उपकरण उपलब्ध गराएर स्तरोन्नती गर्ने प्रयासमा छु ।’ अस्पताल सँग प्रस्ताव आव्हान गरिएको जानकारी दिंदै शर्माले भेन्टिलेटर सहितको एम्बुलेन्सको पहल भैरहेको बताए । उनले फत्तेबाल आँखा अस्पतालसँगको सहकार्यमा नयाँ योजना समेत अघि सारे ।
लायन्स कन्भेन्सनबाट नयाँ नेतृत्व चयन पनि हुँदैछ । यसअघि २ पटक नेपालगन्जमा लायन्सको कन्भेन्सन आयोजना गरिएको सम्झदै पूर्व गभर्नर सेम शाक्यले भने, ‘देशभरका लायन्स लिडरहरुलाई नेपालगन्जमा स्वागत गर्दै आयोजनाको भव्यता ऐतिहासिक बनाउन चुनौति थपिएको छ ।’
कन्भेन्सनलाई भव्यता दिन लायन्स क्लब अफ नेपालगन्जका पूर्व अध्यक्ष अच्युत प्रसाईको अध्यक्षतामा कन्भेन्सन कमिटि बनाइएको छ । लायन्स लिडर मुकुट ढकाल कन्भेनर, कृष्णकाजी श्रेष्ठ को–कन्भेनर, नवराज पराजुली सेक्रेटरी मेम्बर र भीम सुवेदी मेम्बर रहेको कमिटि बनाइएको डिष्ट्रिक गभर्नर शर्माले जानकार दिए ।
आयोजनाका लागि झण्डै ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । ‘दर्ता शुल्क नै आयोजनाको मुख्य स्रोत हो’, डिष्ट्रिक गभर्नर शर्माले भने, ‘संकलित रकमबाट केही जोगाएर नेपालगन्जमा लायन्स सर्भिस सेन्टर निर्माणको लक्ष्य राखिएको छ ।’ त्यसका लागि नेपालगन्जमा ३ कठ्ठा जग्गा पनि व्यवस्थापन गरिसकिएको शर्माले जानकारी दिए ।
आयोजनाका लागि विभिन्न २२ वटा कमिटिहरु सक्रिय भैसकेको जानकारी दिंदै शर्माले नेपालगन्जले देशभरका लायन्स लिडरहरुलाई भव्य ढंगले स्वागत गर्ने विश्वास व्यक्त गरे । डिके ढुंगानाको अध्यक्षतामा विधान समिति, सेम शाक्यको अध्यक्षतामा मनोनयन समिति, ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा उद्घाटन सत्र, चिन्तामणि धितालको अध्यक्षतामा दर्ता समिति, सुरेन्द्र श्रेष्ठको नेतृत्वमा यातायात व्यवस्थापन समिति, गिरिराज पौडेलको अध्यक्षतामा सञ्चार तथा स्मारिका, सिद्धि महर्जनको नेतृत्वमा खाद्य व्यवस्थापन समिति बनाइएको छ ।
यस्तै, कृष्णकाजी श्रेष्ठको अध्यक्षतामा हल व्यवस्थापन तथा साजसज्जा, सुष्मा महर्जनको नेतृत्वमा स्वागत समिति बनाइएको छ । स्वागतका लागि बनाइएको समितिमा रचना श्रेष्ठ उपाध्यक्ष तथा टंक बहादुर धामी, विनय श्रेष्ठ, रेवती सिंह, चन्द्र कंडेल, सुरेन्द्र सिंह सरदार, चिरञ्जीवि ढकाल सदस्य छन् ।
यम बहादुर राना, नारायण सिंह चेमजोङ, लालमणि घिमिरे, भीम शाही, राजेन्द्र श्रेष्ठ, लक्ष्मणराज पौडेल, सरद रेग्मी, उदयराज लम्साल, होमकला गिरी, धु्रव पंगेनी, हेमराज चपाई, सुरेन्द्र कुँवर र शुक्रराज सापकोटा स्वागत समितिमा सदस्य छन् ।
आकस्मिक कोष स्थापना
एक लायन एक रुपैयाँ प्रतिदिन
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गभर्नर मधुसुदन शर्माले आत्मनिर्भर सामाजिक सेवाका लागि ‘आकस्मिक कोष’ स्थापना गरेका छन् ।
जुलाई २०१७ पद बहाली गरेका गभर्नर शर्माले ‘एक लायन, एक रुपैयाँ प्रतिदिन’को नारा अघि सार्दै आकस्मिक कोष स्थापना गरेका हुन् । ‘कहीँपनि आकस्मिक स्रोतको आवश्यक पर्दा चन्दा उठाउनु पर्ने अवस्थाको अन्त्य गर्न खोजिएको हो’, डिष्ट्रिक गभर्नर शर्माले भने, ‘अनौपचारिक रुपमै पहल अघि सारिएपनि सबैतिरबाट सकारात्मक रेस्पोन्स आइरहेको छ ।’
कोष घोषणासँगै झण्डै १४ लाख रुपैयाँ जम्मा भैसकेको छ । ‘बार्षिक झण्डै २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य हो’, शर्माले बिहीबार पत्रकारहरुसँग भने, ‘२ लाख रुपैयाँ दिनेलाई ट्रष्टिका रुपमा सम्मान दिइनेछ ।’ देशभर ३ सय ३६ लायन्स क्लब र २ सय बढी लियो क्लब रहेको डिष्ट्रिक ३२५ बी २ मा आबद्ध ९ हजार लायन्सकर्मीहरुसँग दैनिक एक रुपैयाँ सामाजिक कार्यका लागि छुट्याउने प्रस्ताव गभर्नर शर्माको हो । ‘त्यसको ब्याजबाट आउने रकम कुनै पनि आपतकालीन सहयोगका लागि खर्च गरिने व्यवस्था मिलाइनेछ’, शर्माले भने ।