कोहलपुर/रविन्द्र ठकुरी
कोहलपुर नगरपालिकाको गुट्खा निधेधित क्षेत्रको घोषणा व्यवसायीहरुको अटेरीका कारण कार्यान्वयनमा आउन सकेको छैन । घोषणा कार्यान्वयनमा ल्याउन अब नगरपालिकाले कारवाही अगाडी बढाउने तयारी गरिरहेको छ ।
गत पुस १० गते नगरपालिकाले भव्य कार्यक्रम बीच नगरलाई गुट्खा निषेध बनाउने घोषणा गरेको थियो । तर, उक्त घोषणाको प्रभाव एक महिना बितिसक्दा पनि देख्न सकिएको छैन । ‘घोषणा भएको हामीलाई जानकारी छ’, स्थानीयबासी भन्छन्, ‘तर, कार्यान्वयन पक्षमा त्यसको प्रभाव हामीले देख्न सकेका छैनौ ।’ उनीहरु अहिले पनि बजारमा खुलेआम गुट्खा बिक्री भैरहेको र कसैले अवरोध नगरेको बताउछन् ।
घोषणाका क्रममा नगर प्रमुख लुट बहादुर रावतले व्यवस्थापनका लागि एक साता लाग्ने बताएका थिए । कार्यान्वयनका लागि अझै अनुगमन र कार्यविधि, ऐन निर्माण गर्न नसकिएको नगर प्रमुख रावत स्वीकार्छन् । ‘अब केही दिनभित्रै आवश्यक नियम बनाउने छौं’, नगर प्रमुख रावतले दैनिक नेपालगन्जसग भने, ‘त्यसपछि अटेरी गर्र्ने खुद्रा देखि डिलर सम्मलाई कारवाहीको दायरामा ल्याउने छौं ।’
नगरपालिकाले आफ्नो घोषणास“ग नगरबासीलाई सुर्तीजन्य पदार्थ नबेच्न सूचित समेत गरिसकेको छ । ‘सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने बारे माइकिङ्ग गरेर जानकारी दिइसकेका छौं’, नगर प्रमुख रावतले भने । ‘यदि कसैले सुर्तिजन्य पदार्थको बिक्री वितरण गरिएको खण्डमा त्यस्ता ब्यापारीलाई पहिलो पटक नगरपालिकामा ल्याएर सम्झाउने, दोस्रो पटक गरेको खण्डमा ५ सय जरिवाना र तेस्रो पटक गरेको खण्डमा एक हजार जरिवाना गर्ने र त्यति गर्दा पनि अटेरी गरेमा नगरबाट दिइने सुविधाबाट वञ्चित गर्ने व्यवस्था गर्दैछौं’, नगर प्रमुख रावतले भने ।
व्यवसायीहरुले सस्तो लोकप्रियताका लागि नगरपालिकाले मनोमानी घोषणा गरेको आरोप लगाउदै आएका छन् । ‘हामी स“ग छलफल नै नगरी नगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री निषेध गर्यो’, व्यवसायी भन्छन्, ‘कानुनतः व्यवसाय गर्न हामीले किन नपाउने ?’ कोहलपुरबासी नगरपालिकाले नगरलाई सुर्तीजन्य पदार्थ मुक्त बनाउन ठूलो चुनौति रहेको बताउ“छन् । ‘नगरले अनुगमन गरेर कारवाही नथाल्दा सम्म सुर्तीजन्य व्यवसायमा कमी आउने देखिंदैन’, उनीहरु भन्छन् ।
कोहलपुर नगरपालिका बसपार्कका एक ब्यापारीले भने, ‘हामीले बेच्ने भनेकै चुरोट, गुट्खा हो, यसमा राम्रो फाइदा पनि छ , नबेचेर के गर्ने ?’ उनी नगरको घोषणा बारे आफुलाई जानकारी भएपछि कसैले रोकतोक गर्न भने नआएको बताउ“छन् । ‘स्थानीय सरकारको घोषणा गरिब र विपन्न वर्गका व्यवसायीलाई बेरोजगार बनाउने खालको छ’, सुर्तीजन्य पदार्थ मात्रै विक्री गर्दै आएका एक व्यवसायीले भने, ‘हामी उक्त निर्णय मान्दैनौं, बन्द नै गर्ने हो भने कम्पनी नै बन्द गर्नुस् ।’
कोहलपुर नगरपालिकालाई सुर्ति, गुट्खा जन्य पदार्थ घोषणा कार्यक्रममा जति सरोकारवाला निकायले प्रतिबद्धता जनाएतापनि अहिले सबैले बेवास्ता गरिरहेको पाइन्छ । ‘सबैले समर्थन जनाए तर कार्यान्वयनका लागि कसैले चासो देखाएको छैन’, स्थानीयबासी भन्छन् ।
दैनिक नेपालगन्ज