अहिले पनि ताजै छन् यादहरु उस्तै गरि ! सानो हुँदाका ती रमाइला पलहरु, बाँचुन्जेल सम्झनाका कोशेलीका रुपमा सधैं खोलेर उपयोग गर्न पाइने । थारु समुदायमा माघीको महत्वबारे मैलै बताइरहनु नपर्ला । त्यसो त म सबै पर्वको उचित सम्मान गर्छु, तर तपाईंका लागि दशैं, ईद वा क्रिसमस जस्तै मेरा लागि माघी ।
आज पनि उत्तिकै सम्झना छ, जाडोमा राती नै उठेर नुहाउन गएको मम्मी बाबाको पछि पछि लागेर धारा सम्म आफु पनि जाने अनि उहाँहरुले नुहाउँदा पानीमा खसाएको चिल्लर पैसा टिपेको, भाइ र म त्यै पैसाको लागि तछाड्मछाड गरेको ।
आहा ! त्यतिबेला कति राम्रो एक रुपैयाँको चारवटा टफी आउने । क्या रमाइलो पानीबाट बटुलेको चिल्लर पैसाको महत्व पहाडै फोरेर ल्याएको जस्तो लाग्थ्यो । पाँच र दश वटा चिल्लर पैसालाई दशौ पटक गन्ती लगाउने र खुशी हुने, साथीलाई सोध्ने खै तिमिले कति पैसा पायो ? तिम्रो भन्दा मेरो धेरै भन्दै साथीलाई देखाउने । मानिस कसरी खुशी हुन्छ ? खुशीको स्रोत के हो ? त्यतिबेला खुशीको स्रोत चिल्लर बने, साथीभाइसँगका तछाड्मछाडमै पनि रमाइयो । अचेल सम्झँदा लाग्छ, ती दिन त अब आउँदैनन् तर त्यसरी खुशी हुने उपाय आउला ?
आफु कस्तो छु भन्ने अहिले त्यति नियालेकी छैन । तर, उतिबेलाकी आफु चाहिं सम्झन्छु । मज्जाले चकचक गर्ने, उस्तै परे कसैले पैसा दिन्छु नाँच भन्दा नाचिहाल्ने बानी थियो मेरो । नाँचेपछि अरु थप रुपियाँ मम्मीले दिनुहुन्थ्यो । साथीहरू सङ्ग माघी मेला रमाउदै गएको, पैसा खर्च गर्न लोभ लाग्ने, अरुले केही खाने कुरा किनेको देख्ने बित्तिकै खोसेर खाइदिने ती दिनहरु आज पनि यादगार छन् ।
वास्तवमा त्यतिबेलाको माघी मेरो लागि आज मान्ने दशैं भन्दा कम थिएन । जब ठुली हुँदै बुझ्दै जाँदा थारु जातिमा माघीको छुट्टै महत्व झल्किएको पाएँ । माघीका दिन, सुर्य न उदाउँदै घरका सबै परिवारजन नुहाउने (अरु जातिले जस्तै), नुहाइ सके पछि सेतो टिका लगाउने, देउता कोठामा निस्राउ (नुन र चामलको अलग अलग भाँडो) राखेको हुन्छ । छोरा मान्छेले पालै पालो छुने चलन छ । छोएको निस्राउ घरमा आफुले नखाने, बिहे गरेर गएका छोरीचेलीलाई दिने प्रचलन छ । त्यस दिन वर्ष भरिको पीर व्यथा सबै बिर्सेर खानपिन गर्ने रमाउने नाँच्ने गाउने आदि गरेर माघीको शुभकामना एक अर्का सङ्ग साटासाट गरिन्छ ।
अझ थारु बस्तीमा घर घरमा नाँच्दै हिड्ने चलन छ (तिहारमा देउसी भैलो खेलेझंै) दक्षिणा पनि दिने चलन छ । यसै क्रममा संकलन गरेको रुपियाँले फेरि पनि नाँचेका टिम मिलेर बनभोज जस्तै गरि मघ्नी खाने गर्छन् । माघीमा विशेषगरी एक वर्ष सम्म भक्रीमा राखेको जारको झोल, बङ्गुरको मासु, ढिक्री र अन्य परिकार खाने गर्छन् ।
प्रायः थारुहरु संयुक्त परिवारको रूपमा मिलेर बसेका हुन्छन् । उनीहरूबिच कसैको चित्त मिलेको छैन भने माघीदिवानी अर्थात् माघ महिनाको भोलिपल्ट सबै परिवारजन र समाजका बुद्धिजीवीलाई भेला गरि आ आफ्नो चित्त नबुझेको विषय राख्ने गर्छन् र निश्कर्षमा पुग्छन् । यहीँ दिन थारुहरु बखेरि बस्छन् र महतावा (गाउँको मुखिया)छान्ने गर्दछन । यसरी नै यो प्रक्रिया परापुर्व काल देखि चल्दै आएको छ । यसले आदिवासी थारु समुदायको आफ्नै संस्कार देखि सरकार (शासन विधि) सम्मको झल्को दिन्छ ।
बाँके, बर्दिया, दांग, कैलाली र कञ्चनपुरमा विशेषतः थारु बस्तीहरुमा माघीको रौनक छाइसकेको छ । अहिले आएर माघी मेलाहरुका आयोजना गरिन थालेका छन् । माघीलाई अब थारु समुदायले मात्र नभइ सबै जसोले शुभकामना लिने र दिने, महोत्सवमा रमाउने असल संस्कारको थालनी भएको छ । माघीका विकृत पक्षहरु कमैया कम्लहरी फेर्ने कामहरु रोकिएका छन् । थारुका सांस्कृतिक विशेषतालाई व्यवसायिकता सँग जोडेर आर्थिक विकाससँगै सांस्कृतिक संरक्षणका अभियानहरु सार्थक भइरहेका छन् । समग्रमा माघी सबैको हुन थालेको छ । शुभकामना ।