मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने : प्रजिअ केसी

बाँके । ०७४ पुस १४ गते
मानव अधिकारको अवस्थालाई विकासको सूचकका रुपमा लिन सकिने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १४ गते आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा केसीले उक्त कुरा बताएका हुन् ।

 

 

प्रजिअ केसीले मानव अधिकारको अवस्था हेरेर विकासको अवस्था चित्रण गर्न सकिने भएकाले मानव अधिकारको अवस्थालाई विकासको सूचकको रुपमा लिन सकिने बताए । उनले देशको विकास, सम्वृद्धी उपलब्ध स्रोत साधनको स्तरवृद्धि नभएको बताउँदै देशको मानव अधिकारको अवस्था विकासोन्मुख रहेको प्रष्ट्याए । विद्यमान कुरिती अन्त्यका लागि सरकारी निकायको मात्र मुख नताकी निजी तहबाट समेत लाग्नुपर्ने सुझाव दिए ।

 
राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेलले राज्यले आम नागरिकलाई झुठा मुद्दा लगाउनु राज्यको स्वेच्छाचारी निती भएको बताउँदै वर्ग विशेष र विचार विशेष भएका व्यक्तिलाई झुठा मुद्दा लगाउनु मानव अधिकारको उल्लङ्घन भएको बताए । उनले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारका घटनालाई विशेष प्राथमिकताका साथ वर्ष पुस्तकमा समेटन सुझाव दिए ।

 
संघीय प्रहरी इकाई कार्यालयका प्रमुख एसएसपी महेश विक्रम शाहले जिम्मेवार निकायले इमान्दारी पूर्वक आफ्नो कर्तव्य पुरा नगर्दा मानव अधिकारको हनन हुने बताए । उनले घटना कसरी हुन्छ र यसको कारक तत्व के हो ? भन्ने कुरा उल्लेख गर्न सुझाव दिए । पीडितले न्याय पाउनु भनेकै मानव अधिकारको संरक्षण भएको एसएसपी शाहले बताए । जबसम्म आम समुदाय शिक्षित, सचेत र सजग हँुदैन तबसम्म घटना भइरहन्छन एसएसपी शाहले भने ।

 

नेपालगञ्ज उच्च वार एशोसियसनका अध्यक्ष बलबहादुर चन्दले सुरक्षाका नाममा आम नागरिकलाई दुख दिन नहुने धारणा राखे । नेपाल वार एशासियसनका पूर्व उपाध्यक्ष प्रह्लादबहादुर कार्कीले मानव अधिकारको उपभोग गर्ने वातावरणको सृजना नभएसम्म मानव अधिकारका घटना भइरहने बताए । यसैगरी मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेश गौतम, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष रुद्र सुवेदी, गैसस महासङ्घकी कावा अध्यक्ष सपना भट्टराईले इन्सेकले गर्दै आएको अभिलेखबाट पीडितलाई न्याय पाउने आधार बनेको बताए ।

 

इन्सेक नेपालगञ्जका संयोजक भोला महतले प्रदेश नम्बर ५ र ६ का १६ जिल्लामा पछिल्लो ६ महिना (जुलाई २०१७ देखी डिसेम्बरको) अवधिमा इन्सेकद्वारा सङ्कलन गरिएका मानव अधिकार हनन र ज्यादतीका घटनाहरूको तथ्याङ्कसहितको अवस्थाका विषयमा जानकारी गराएका थिए । वर्ष पुस्तक सबैको विश्वसनीयता रहोस भन्ने उद्देश्यले सबैको सुझाव सल्लाह लिन कार्यक्रमको आयोजना गरिएको संयोजक महतले बताए ।

 

इन्सेकद्धारा प्रकाशन गरिएको प्रतिवेदनमा पछिल्लो ६ महिनामा ४ सय २३ घटनामा ६ सय ६० जना पीडित भएको उल्लेख गरिएको छ । जसमध्य राज्य पक्षबाट ५३ घटनामा १ सय ६४ जना पुरुष र ३० जना महिला पीडित भएका छन् । गैरराज्य पक्षबाट ३ सय ७० घटनामा ४ सय ६६ जना पीडित भएको इन्सेकले जनाएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा पछिल्लो ६ महिनामा १३ जना महिलाको परिवारजनबाट हत्या भएको जनाइएको छ । यस अवधिमा सबैभन्दा बढि महिला अधिकार र बालअधिकारका घटना भएको इन्सेकको अभिलेखले देखाएको छ । जस अनुसार पछिल्लो ६ महिनामा महिला अधिकारका २ सय १३ घटनामा २ सय २५ जना पीडित भएका छन् । यसैगरी ४८ बालअधिकारका घटनामा ५७ जना बालबालिका पीडित भएको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया