१६० लिटर डिजल बरामद
बाँके राप्तीपारि क्षेत्रबाट भारतीय क्षेत्रमा अवैध निकासी हुँदै आएको पेट्रोलियम पदार्थ बारे प्रहरी कारवाही तीन जना तस्कर फन्दामा परेका छन् ।
शनिवार विहान नरैनापुर गाउँपालिका वडा नं.५ बाट भारत श्रावस्ती जिल्लाको जमुनाहा बजार लैजाने क्रममा १६० लिटर डिजल सहित इलाका प्रहरी कार्यालय भगवानपुरले तीन जनालाई पक्राउ गरेको हो ।
नरैनापुर ५ बस्ने मनोज कुमार यादव, जितमान राढ र हिरालाल गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक मुद्दा इन्चार्ज विर बहादुर थापाले बताए । बरामद भएको डिजेल र तीनैजना अभियुक्तलाई कारवाहीका लागि आइतवार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइने उनले बताए ।
राप्तीपारि क्षेत्रबाट भारतको विभिन्न सहर सम्म नेपाली क्षेत्रको पेट्रोलियम पदार्थ खासगरि डिजेल तस्करी भइरहेको बारे दैनिक नेपालगन्जले समाचार प्रकाशित गर्दै आएको छ । यसअघि प्रहरीले कडाई गरेपछि रोकिएको तस्करी केहि दिन यता थप बढेको बारे समाचार बाहिर आएपछि प्रहरी कारवाही अघि बढेको हो । भारतीय मुल्य भन्दा नेपाली क्षेत्रको पेट्रोलियम पदार्थ सस्तो पर्ने भएकोले पछिल्लो समयमा भारतीय क्षेत्रमा डिजेल तस्करी ब्यापक रुपमा बढेको थियो ।