प्रतिनिधिसभा र प्रदेश चुनाव : बाकेमा कस्को ‘पल्ला’ भारी ?

किरण ढकाल

 

आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको प्रारम्भिक सक्रियता देखिएको छ । दलका स्थानीय समितिहरुले उम्मेदवारहरुको प्रारम्भिक सिफारिस केन्द्रमा पठाएका छन् । बाँकेमा ३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । बाँकेमा कस्को पल्ला भारी छ भनी प्रारम्भिक लेखाजोखा प्रारम्भ भएको छ ।
गएको स्थानीय निर्वाचनमा बाँकेका ८१ वडाहरुमा वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामका आधारमा यहाँ प्रारम्भिक विश्लेषण प्रस्तुत गरिएको छ ।

 
प्रतिनिधि सभा क्षेत्र नं १

बाँकेको प्रतिनिधि सभा क्षेत्र नं. १ मा नरैनापुर र राप्ती सोनारी गाउँपालिका रहेका छन् । कोहलपुर नगरपालिका पनि यसै क्षेत्रमा पर्दछ ।
गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २० हजार ६ सय ५९ मत प्राप्त गरेको थियो । एमालेले १८ हजार ५ सय ८९ र माओवादी केन्द्रले ११ हजार ८ सय ७२ मत प्राप्त गरेका थिए । यसै गरी राप्रपाका वडा अध्यक्षहरुले ४ हजार २ स ३८ र संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले क्रमश ३ हजार ३ सय ६०, १ हजार ६ सय ८८ मत प्राप्त गरेका थिए ।
एमाले र माओवादी केन्द्र बीचमा तालमेल हुने भएकोले वाम गठवन्धनको मत ३० हजारको हाराहारीमा रहेको छ ।
कांग्रेससंग फोरम लोकतान्त्रिक एकिकरण हुने र राप्रपासंग औपचारिक तालमेल प्रक्रिया अघि वढिरहेको प्रजातान्त्रिक गठवन्धनको २७ हजार रहेको छ । संघीय समाजवादी फोरम समेत यो गठवन्धनको सहयात्री बनेमा थप ३ हजार ३ सय मत थपिने निश्चित छ ।

 

क्षेत्र नं. १ को प्रदेश नं. १
प्रदेश १ मा नरैनापुर तथा वडा नं. ८ र ९ बाहेकको राप्ती सोनारी गाउँपालिका थपिएको छ । १३ वडा रहेको यस प्रदेश क्षेत्रमा कांग्रेसका वडा अध्यक्षहरुले करिब ९ हजार ७ सय, एमालेले ७ हजार ६ सय र माओवादी केन्द्रले करिब ६ हजार ८ सय मत प्राप्त गरेका थिए । यहाँ संघीय फोरमको ३ हजार ३ सय र राप्रपाको १ हजार ५ सय मत रहेको छ ।
यो क्षेत्रमा वाम गठवन्धनको करिब १४ हजार ४ सय मत रहेको छ । यसैगरी प्रजातान्त्रिक गठवन्धनको ११ हजार २ सयमा संघीय फोरमको ३ हजार ३ सय मतले प्रतिस्पर्धा कडा हुने अनुमान गर्न सकिन्छ ।

 

क्षेत्र नं. १ को प्रदेश नं. २
यो प्रदेश क्षेत्रमा कोहलपुर नपा र राप्ती सोनारीको वाड नं. ८ र ९ पर्दछन् । कुल १७ वडा रहेको यहाँ वडा अध्यक्षहरुको मतका आधारमा एमाले र कांग्रेसको बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । ११ हजार हाराहारीमा मत रहेको दुइ दलहरुको मत भिन्नता केवल २० मात्र रहेको छ । यहाँ एमालेको सहयोगी माओवादी केन्द्रको ५ हजार मत रहेको छ । कांग्रेस सहयोगी राप्रपा र फोरम लोकतान्त्रिकले गत स्थानीय चुनावमा मत ३ हजार ७ सय मत प्राप्त गरेका थिए ।

 

प्रतिनिधि सभा क्षेत्र नं. २
डुडुवा गापा र नेपालगन्ज उपमनपा मिलाएर प्रतिनिधि सभा क्षेत्र नं. २ बनाइएको हो । यसमा नेपालगन्जका वडा नं. १६ र १७ समावेश गरिएको छैन । कुल २७ वडा रहेको क्षेत्र नं. २ मा कांग्रेस सबैभन्दा ठूलो पार्टी रहेको छ ।
एमाले, माओवादी, राप्रपा र संघीय फोरमको मत लगभग हाराहारी मै छ । कांग्रेसले गत स्थानीय निर्वाचनमा १२ हजार ७ सय मत प्राप्त गरेको थियो । त्यहाँ उसको सहयोगी राप्रपाको ८ हजार ५ सय र फोरम लोकतान्त्रिकको १ हजार मत छ । डुडुवा गाउँपालिकामा राम्रो पकड रहेको संघीय फोरमको ८ हजार १ सय मत रहेको छ । यस निर्वाचन क्षेत्रमा एमालेको मत ९ हजार ४ंंंंंंंं सय रहेको छ । वाम गठवन्धनको सहयात्री दल माओवादी केन्द्रको मत ७ हजार १ सय रहेको छ ।
क्षेत्र नं.२ को प्रदेश क्षेत्र नं. १
डुडुवा र नेपालगन्जका वडा नं. १३ र १८ देखि २३ सम्मलाई समेटेर बनाइएको क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. १ मा कुल १२ वडा रहेका छन् । यहाँ कांग्रेसले ७ हजार ५ सय मत प्राप्त गरेको थियो । संघिय फोरमले ५ हजार ९ सय मत पाएको थियो । कांग्रेसको सहयोगी दल राप्रपाको ३ हजार ५ सय र फोरम लोकतान्त्रिकको करिब ७ सय मत रहेको छ ।
एमालेको करिब ४ हजार ७ सय र माओवादी केन्द्रको २ हजार ७ सय मत रहेको छ । यहाँ वाम गठवन्धन भन्दा प्रजातान्त्रिक गठवन्धनले गत स्थानीय निर्वाचनमा धेरै मत प्राप्त गरेको आंकडाले बताउँदछ ।

 

क्षेत्र नं.२ को प्रदेश क्षेत्र नं. २
यो प्रदेश क्षेत्र नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १ देखि १५ सम्मलाई समेटेर बनाइएको छ । यसमा वडा नं. १३ रहेको छैन । कुल १४ वडा रहेको यो क्षेत्रमा राप्रपाको सवैभन्दा धेरै मत रहेको
छ । राप्रपाको ५ हजार २ सय रहेको छ । कांग्रेसको ५ हजार १ सय रहेको छ । यसैगरी प्रजातान्त्रिक गठवन्धनको सहयोगी फोरम लोकतान्त्रिकको करिब ४ सय मत रहेको छ भने संघीय समाजवादी फोरमले यहाँ २ हजार ३ सय मत प्राप्त गरेको छ ।
एमाले र माओवादीले यस क्षेत्रमा क्रमश ४ हजार ७ सय र ४ हजार ४ सय गरी कुल ९ हजार १ सय मत ल्याएका थिए ।

 

प्रतिनिधि सभा क्षेत्र नं. ३
नेपालगन्जको वडा नं. १६ र १७, जानकी, खजुरा र वैजनाथ गाउँपालिकालाई समेटेर प्रतिनिधि सभाको क्षेत्र नं. ३ बनाइएको हो । कुल २४ वडा रहेको यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारहरुले करिब २१ हजार २ सय मत प्राप्त गरेका थिए । वाम गठवन्धनको अर्को सहयोगी दल माओवादी केन्द्रले १४ हजार ४ सय मत पाएको थियो । यहाँ कांग्रेसले १६ हजार ९ सय र उसका सहयोगी दलहरु राप्रपा र फोरम लोकतान्त्रिकले क्रमश ३ हजार ४ सय र १ हजार ६ सय मत मात्र प्राप्त गरेका थिए । संघीय समाजवादी फोरमको यहाँ २ हजार ५ सय मत रहेको छ ।

 

क्षेत्र नं.३ को प्रदेश क्षेत्र नं. १
वैजनाथ गाउँपालिका र खजुराको वडा नं. ५, ६, ७ र ८ लाई प्रदेश क्षेत्र नं. १ बनाइएको छ । यहाँ एमालेको करिब १२ हजार मत रहेको छ । उसको सहयोगी माओवादी केन्द्रको करिब ७ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १० हजार ८ सय र उसको सहयोगी दल राप्रपाले १ हजार ५ सय मत स्थानीय निर्वाचनमा प्राप्त गरेको तथ्यांक रहेको छ । यहाँ फोरम लोकतान्त्रिकको करिब ८ सय मत रहेको छ ।

 

क्षेत्र नं.३ को प्रदेश क्षेत्र नं. २
नेपालगन्जको १६ र १७, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्म लाई समेटेर बनाइएको यस प्रदेश क्षेत्रमा एमालेको सर्वाधिक धेरै ९ हजार २ सय मत रहेको छ । यसैगरी वाम गठवन्धनको अर्को घटक माओवादी केन्द्रको ७ हजार ४ सय रहेको छ । कांग्रेस र उसका सहयोगी खेमा राप्रपा तथा फोरम लोकतान्त्रिकको क्रमश ६ हजार, १ हजार ८ सय र १ हजार प्राप्त गरेका छन् । यहाँ संघीय समाजवादी फोरमका वडा अध्यक्षहरुका उम्मेदवारहरुले करिब २ हजार ५ सय मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया