बाँकेमा बढे क्षतिपूर्तिका मुद्दा

उपभोक्ताले आफु माथिको न्यायिक सजगता बढाएको पाइएको छ । त्यसकारण क्षतिपूर्ति समिति बाँकेमा सम्बन्धित मुद्दा बढ्न थालेका छन् । गुणस्तरिय बस्तु तथा सेवा नभएकोमा कानूनी प्रक्रिया नअपनाई आन्दोलन र टोलफोडमा उत्रिने उपभोक्ताहरु पछिल्लो समयमा कानूनी प्रक्रियामा जान थालेका हुन् ।

 
उपभोक्ताले गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्न नसकेका कारण पर्न गएको क्षति बारे उपभोक्ता संरक्षण ऐन बमोजिम जिल्ला क्षतिपूर्ति समितिमा उजुरी दिन थालेका छन् । कानुनी ब्यवस्था अनुसार बाँकेमा हालसम्म ६ वटा उजुरी दर्ता भै सकेका हुन् ।

 
समितिका अनुसार, एउटा उजुरीको टुंगो पनि लागि सकेको छ । ५ वटा उजुरी बिचाराधिन अवस्थामा रहेको जिल्ला क्षतिपूर्ति समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता बसन्त गौतमले जानकारी दिए । उपभोक्तालाई कानूनी प्रावधान र क्षतिपूर्ति समिति बारे जानकारी नभएर पनि मुद्दा नपरेको हुन सक्ने गौतमको बुझाई छ । ‘त्यसबारे सचेतना आवश्यक छ,’ उनले भने ।

 
बाँकेका भेरी अचल अस्पताल, मेडिकल कलेज शिक्षण अस्पताल, आँखा अस्पताल फूलटेक्रा उपचारमा लापरवाही गरेका कारण क्षति पुगेको भन्दै समितिमा ५ वटा दायर उजुरीहरु परेका छन् । नेपाल टेलिकमले गुणस्तरिय सेवा नदिएको भन्दै एउटा उजुरी दर्ता भएको छ । उजुरीहरु उपर समितिको बैठक बसेर कारवाही प्रक्रिया अगाडी बढाइएको समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए ।

 
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको क्षतिपूर्ति समितिको बैठकले अस्पतालहरुका बिरुद्धमा परेको उजुरीका सम्बन्धमा छानबिन गर्न बिशेषज्ञ सहितको छानबिन उपसमिति गठन गरेको छ । छानविन उपसमिति सम्बन्धित बिशेषज्ञ डाक्टरका साथै नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्द र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खरेन्द्र पौडेल छन् ।

 
क्षतिपूर्ति समितिमा भेरी अंचल अस्पताल अस्पतालले हेमा देवी छन्त्यालको उपचारका क्रममा लापरवाही गरि क्षति पु¥याएको भन्दै पहलमान सुनारले भेरी अंचल अस्पतालका बिरुद्धमा उजुरी दर्ता गराएका छन् । यसै गरि निवेदक इश्वर कुमार गिरीले फत्तेवाल आँखा अस्पताल फुल्टेक्राले आँखाको अपचारका क्रममा लापरवाही गरेको आरोप लगाउदै अस्पताल र चिकित्सक बिरुद्धमा क्षतिपूर्ति मुद्धा दायर गरेका छन् ।

 
यसै गरि निवेदक सब्बिर अलि साईले नेपालगन्ज मेहिकल कलेज शिक्षण अस्पताल कोहलपुर र चिकित्सक बिरुद्धमा उजुरी दर्ता गराएका छन् । निवेदक नारायण प्रसाद भट्टराईले नेपालगन्ज स्थित माँ जानकी हस्पीटल प्रालिका बिरुद्धमा क्षतिपूर्तिको उजुरी दायर गरेको समितिले जनाएको छ ।

 
नेपाल टेलिकम विरुद्ध अधिवक्ता विश्वजित तिवारीले उजुरी दिएका हुन् । टेलिकमको क्षेत्रीय कार्यालय नेपालगन्ज र ग्राहक सेवा कार्यालयका बिरुद्धमा गुणस्तर अभावले क्षति पुगेको भन्दै तिवारीले उजुरी दर्ता गराएका हुन् । समितिले तिवारीको उजुरी निवेदनको सम्बन्धमा सबुत प्रमाण भए सो सहित सात दिन भित्र लिखित जवाफ पेश गर्न भनी विपक्षीहरुको नाममा पत्र लेखि पठाउने निर्णय भएको समितिका सदस्य अधिवक्ता गौतमले जानकारी दिए ।
समितिले तीन महिना अघि एउटा मुद्दाको सुनुवाई गर्दै पीडित पक्षलाई एक लाख रुपिया क्षतिपूर्ति दिलाई दिने निर्णय गरेको थियो ।

 
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ अनुसार ऐनको बिपरित हुने गरि कुनै उपभोग्य बस्तु तथा सेवा बिक्रि वितरण तथा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई कुनै किसिमको हानी नोक्सानी हुन गएमा क्षतिपूर्तिको मागदावी गर्न सक्ने व्यवस्था छ । सुनुवाईका लागि क्षतिपूर्ति समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने व्यवस्था छ ।

 
हाल समितिमा प्रजिअ रमेश कुमार केसी, जिल्ला न्यायाधीवक्ता टेक बहादुर थापा, भेरी अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बिरेन्द्र बहादुर चन्द, नेपाल सरकारले तोकेको जिल्ला उपभोक्ता सस्थाको प्रतिनिधिको रुपमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतम, जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र नेपाल सरकारले तोकेको अधिकृत सदस्य सचिव रहने ब्यवस्था भएका अनुसार बाणिज्य कार्यालयका अधिकृत कृष्ण प्रसाद पौडेल छन् ।

प्रतिक्रिया

प्रतिक्रिया