नेपालगन्ज बसपार्क सडक विवादमा बोल्यो उपमहानगर

नेपालगन्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको सडक साघुरो पारिएको आरोप प्रति नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । विभिन्न सञ्चार माध्यममा धारणा व्यक्त गर्दै हिडेका नगर प्रमुख डा. धवल समशेर राणाले पहिलो पटक लिखित वक्तव्य मार्फत आफ्नो धारणा सोमबार सार्वजनिक गरेका हुन् ।

 
बाँकेको हुलाकी राजमार्ग नेपालगन्ज बघौडा सडक अन्तरगत नेपालगन्ज उप महानगरपालिकाको पुष्पलाल चौक–बसपार्कमा भैरहेको सडक निर्माण कार्यमा पछिल्ला दिनहरुमा देखिएका चासो र टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै डा. राणाले औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

 
‘हल्लाको भरमा छलफल र बहस नगर्न’ भन्दै डा. राणाले १८ मिटर भित्र विभिन्न संरचना बन्ने प्रष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘पछिल्ला दिनहरुमा सडकका बिषयमा पुष्पलाल चौक बसपार्क सडक खण्ड २२ मिटर तथा ३० मिटरको हो, मापदण्ड बिपरित भयो भनि गरिएका टिप्पणी तथा हल्लाको भरमा पछि नलागी यथार्थ नियम तथा मापदण्ड बुझेर मात्र छलफल र बहस गर्नु हुन आग्रह छ ।’

 
भारत सरकार र नेपाल सरकार बिच सम्झौता बमोजिमको भारत सरकारको ६६ करोड आर्थिक लगानीमा बाँके जिल्लामा निर्माण भैरहेको हुलाकी सडकको विषयमा नेपाल सरकारले तयार गरेको लागत डिजाइन र इस्टीमेट अनुसार नै काम भैरहेको वक्तव्यमा उल्लेख छ । ‘११ मिटर (कालोपत्रे) पिच, त्यस बाहिर दुवै तर्फ १.२५ मिटरको नाला (दुबै तर्फ कुल नाला २.५ मिटर) र दुबै तर्फ १.५ (दुबै तर्फ जम्मा फुटपाथ ३ मिटर) फुटपाथ बनाउने गरि मापदण्ड अनुसार नै काम भैरहेको सम्बन्धि सबैमा जानकारी गराउँदछु’, वक्तव्यमा भनिएको छ ।

 
विकासको कार्यमा सहकार्यको आव्हान गरेका डा. राणाले नेपालगन्जको ठुलो समस्या ढल निकास र फोहर व्यवस्थापनको दिगो समाधानको रुपमा रहेको ल्याण्डफिल्ड साइटको निर्माणको काम भैरहेको जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया