भारतीय अभिनेता खन्नाको निधन

चर्चित भारतीय अभिनेता विनोद खन्नाको बिहीबार निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ खन्नाको मुम्बई स्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

खन्नालाई ब्लड क्यान्सर भएको थियो । खन्नाद्वारा अभिनित थुप्रै चलचित्र चर्चित छन् । उनी चार पटक सम्म सांसद निर्वाचित भैसकेका थिए । १४४ वटा चलचित्रमा काम गरेका खन्ना पन्जाबस्थित गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद थिए । उनलाई अन्तिम पटक सन् २०१५ मा शाहरुख खान–काजोल अभिनित चलचित्र ‘दिलवाले’ मा देखिएको थियो ।

खन्नाले मेरे अपने, कुर्बानी, पुरब और पश्चिम, रेशमा और शेरा, हाथ की सफाई, मुकद्दरका सिकन्दर जस्तो चर्चित चलचित्रमा अभिनय गरेका छन् ।

खन्नाको आजै अन्तिम संस्कार गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले सन् १९९९ मा फिल्मफेयर लाइफटाइम अवार्ड, बेस्ट सपोर्टिङ एक्टर विधामा फिल्मफेयर अवार्ड र सन् २००७ मा जिसिने अवार्डको लाइफ टाइम अवार्ड पाएका थिए।

प्रतिक्रिया

प्रतिक्रिया