बाँकेमा स्थानीय तह संख्या नथपिने

सप्तरी, सिराहा, धनुषा, सर्लाहि, महोत्तरी, रौतहट, बारा, पर्सा र नवलपरासी, रुपन्देही र कपिलवस्तुकाे मात्र पुनरावलाेकन हुने ।

नेपालगन्जन्यूज । प्रदेश २ का सबै र प्रदेश ५ का तीन जिल्ला गरी ११ जिल्लाहरुका स्थानीय तहहरुको संख्या मात्र पुनरावलोकन हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । यो संगै बाँके र बर्दियाका स्थानीय तहहरुको संख्यामा कुनै फेरबदल नहुने पक्का भएको हो ।

मधेशी मोर्चासंग भएको सहमती अनुसार सरकारले २ र ५ नं. प्रदेशका स्थानीय तहको संख्या दोश्रो पटक जनसंख्याका आधारमा पुनरावलोकन गर्ने निर्णय गरेको थियो । यसका लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको संयोजकत्वमा पुनरावलोकन समिति गठन गरेको थियो ।

पुनरावलोकन समितिले प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, सर्लाहि, महोत्तरी, रौतहट, बारा, पर्सा र प्रदेश ५ का नवलपरासी, रुपन्देही र कपिलवस्तुका जिल्ला समन्वय समितिलाई पुनरावलोकन गर्नका लागि सिफारिस पठाउन निर्देशन दिएको हो ।

ती जिल्लाका जिल्ला समन्वय समितिहरुले अहिलेको स्थानीय तह संरचनामा रहेका वडाहरु विभाजित नगरी १४ बैसाख सम्म नयाँ संख्या निर्धारण गरी पुनरावलोकनका लागि सिफारिस पठाउनसक्ने छन् ।

३१ जेठमा दोश्रो चरणको स्थानीय निर्वाचन हुने निर्णय भएसंगै बाँके र बर्दियामा पनि स्थानीय तह थपिन सक्ने चर्चा थियो । राष्टिय जनता पार्टी बाँकेका नेता ललित रौनियारले बाँकेमा स्थानीय तह संख्या पुनरावलोकन गरिनु पर्ने आफुहरुको माग रहेको बताए ।
गत बर्षको फागुन २२ मा मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले स्थानीय तह पुनसंरचना आयोगले सिफारिस गरेको ७ सय १९ स्थानीय तहमा २५ थप गरी ७ सय ४४ स्थानीय तहलार्इ कार्यान्वयन गरेकाे थियाे ।

प्रतिक्रिया

प्रतिक्रिया