तीन घर र चार गाेठ पनि जले ।
नेपालगन्जन्यूज , ११ बैसाख ।
बाँकेको डुडुवा गाउपालिका वार्ड नं. १ होलियाको कोडुवामा हिजो राती भएको आगलागीमा परि तीन बालबालिकाको मृत्यु भएको छ ।
घटनामा स्थानीय मुन्सीलाल मौर्यको ८ वर्षे छोरी राधा मौर्य, १० वर्षे छोरी सोनी मौर्य र ६ बर्षे छोरा पवन मौर्यको मृत्यु भएको हो ।
‘आगलागीमा अरु मानिसहरु भाग्न सफल भए । बालबालिकाहरु सुतिरहेकाले भाग्न सकेनन् ।’ घटनाका प्रत्यक्षदर्शीहरुले नेपालगन्जन्युजसंग भने ।
मृतक बालबालिकाको शब पोस्टमार्टमका लागि भेरी अन्चल अस्पतालमा राखिएको छ ।
आगलागी स्थानीय धनीराम यादन, गोर्वधन मौर्य र रामदुलारे मौर्यको घर र गोठ जलेको इलाका प्रहरी कार्यालयका इन्चार्ज अनल बहादुर खड्काले नेपालगन्जन्यूज संग बताए ।
हिजो राती आएको हावाहुरी लगत्तै घटना भएको प्रहरीले जनाएको छ । आगलागीलाई हिजो राती नै प्रहरी र समुदायको प्रयासमा आगलागी नियन्त्रणमा आएको थियो ।
विस्तृत क्षती विवरण संकलन र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बाँकेमा सुख्खा मौसम शुरु हुनासाथ आगलागीका घटनाहरु हुने क्रम बढेको छ । यसअघि राप्ती सोनारी, नरैनापुर लगायतका गाउँपालिकाहरुमा आगलागी भएका समाचार सार्वजनिक भएका थिए ।
(तस्वीर : भीम बहादुर सार्की)