बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरुमा बालबालिकाहरुलाई प्रयोग नगर्ने प्रतिबद्धता राजनीतिक दलहरुले गरेका छन् ।

जिल्ला बालकल्याण समिति बाँकेको आयोजनामा शुक्रवार नेपालगन्जमा आयोजना गरिएको बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि राजनैतिक दलसँगको सम्बाद र छलफल कार्यक्रममा राजनीतिक दलका नेताहरुले निर्वाचनका क्रममा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

जिल्ला बाल कल्याण समिती बाँकेका संयोजक एवम बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका एक दर्जन बढी दलका नेताहरुले मौखिक र लिखित दुबै रुपमा बालअधिकारको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता पत्रमा नेपाली काँग्रेसबाट लाहुराम चौधरी, नेकपा एमालेबाट रत्न खत्री, नेकपा माओवादी केन्द्रबाट आइपी खरेल, एराप्रपाबाट कल्पना डाँगी, मधेशी जनअधिकार तान्त्रिक फोरमबाट हरनारायण वानिया, सद्भावना पार्टीबाट लक्ष्मी नारायण बर्माले हस्ताक्षर गरेका थिए ।

नेकपा मालेबाट करमचन्द्र आजाद, नेकपा संयुक्तबाट मोहनलाल सोनखर, नेपाल परिवार दलबाटट लक्ष्मी बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट रसीदअहमद सिद्धिकी, नेकपा मार्कसबादीबाट खलु प्रसाद चौधरी, राष्ट्रबादी पार्टीबाट मोहम्मद असलम सिद्धिकी र नेपाल जनता दलबाट छोटेलाल सोनकरले हस्ताक्षर गरेका थिए ।

यसअघि कार्यक्रममा स्थानीय तहको चुनावमा बालबालिकाको दुरुपयोग हुन सक्ने स्थानहरु र राजनैतिक दलहरुको भूमिका विषयमा सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बिरेन्द्र थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख सुनिता केसी र बाल संरक्षण अधिकृत शोभा राम बस्नेतले बालअधिकारका लागि सचेत रहन सबैलाई आग्रह गरे ।

बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन, युनिसेफ, प्लान इन्टरनेशनल, सिविन नेपाल, केन्द्रिय बालकल्याण समिती, माइती नेपाल, फातिमा फाउण्डेशन, स्याक, जिल्ला बाल क्लब संजाललगायतका संघसंस्थाहरुको संयुक्त सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत आशिष बर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया