बर्दियामा पर्यटकको घुइचो

भावुक योगी/बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने तिनकुनेमा पाटेबाघ हेर्ने पर्यटकहरुको घुइचो बढेको छ । नेपालमा बाघ पाइने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै दुर्लभ मानिने पाटे बाघ दिनहु देखीन पाइएपछि बाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो बढेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने तिनकुने क्षेत्र बाघ हेर्नको लागि मनोरम स्थान मानिन्छ । तीन वटा नदीको कुना एकै ठाउँमा मिलेको तिनकुनेमा बाघ हेर्नको लागि पर्यटकहरु घण्टौ कुरेर वस्ने गर्छन् । केही समयको प्रतिक्षा पछि तीन कुनेमा बाघ हेर्न पर्यटकको धोको पुग्ने गरेको छ ।

कतिपय स्वदेशी तथा विदेशी विद्यार्थीहरु बाघको अनुसन्धानका लागि समेत महिनौसम्म तिनकुनेमा बिताउने गर्छन् । यो चैत र बैशाख महिना वाघ अवलोकनका दृष्टिले साह्रै उपयोगी महिना मानिन्छ ।

मंसिर देखि वैशाख महिना सम्म बाघको गर्भधारणको समय हुने भएकाले पनि यी दिनहरुमा जंगल क्षेत्रमा वाघको वढी विचरण हुने गरेको पाइन्छ । तिनकुने क्षेत्र वाघले पानी पिउन, शिकारका लागि ओहोरदोहोर गर्ने निकुञ्ज भित्रको प्रमुख चोक भएकाले पनि तिनकुनेमा बाघ सजिलै देख्न पाईन्छ ।

यतिखेर बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नकै लागि पर्यटकहरु आउने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । स्वदेशी पर्यटकले बाघलाई कम महत्व दिएपनि विदेशी पर्यटकहरुले महत्वका साथ निकुञ्ज भित्र दुर्लभ पाटेबाघ हेर्न तछाड मछाड गर्दैछन् ।

विश्वका धेरै देशहरुबाट पर्यटकहरु यो महिनामा बाघ हेर्नकै लागि आउने गरेका छन् । अध्ययन, अनुसन्धानका लागि पनि आउने विद्यार्थीको संख्या उत्तिकै छ । सन् २०१३ को वाघ सर्भेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १९८ वटा पाटेबाघ रहेको तथ्याङक छ ।

सन् २०१६ मा गरिएको बाघ अनुगमनका क्रममा बर्दियामा ५० वटा वयस्क ६ वटा अर्ध वयस्क र २९ वटा पोथी गरी ८५ वटा पाटेबाघ छन् । यस बर्ष पनि क्यामरा ट्रापिङ्ग प्रविधिबाट बाघको अनुगमन गरिएको छ केही दिनपछि त्यसको रिपोर्ट आउने क्रममा रहेको निकुञ्जले जनाएको छ ।


९ महिनामा साढे ९ हजार बढी पर्यटकद्वारा निकुञ्ज अवलोकन


विदेशी पर्यटकहरु आफ्नो अनुकुलता र तालिका अनुसार नेपाल भ्रमणमा आउने भएकाले विशेष गरी बाघ हेर्नको लागि समय दिएरै आउने गरेका छन् । निकुञ्जमा गतबर्षको तुलनामा पर्यटकको संख्या वढेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा यसबर्ष हाल सम्म ९ हजार ६ सय ६७ भन्दा वढी नेपाली, सार्क लगायत विदेशी पर्यटकहरुले अवलोकन भ्रमण गरेको निकुञ्जका निमित्त संरक्षण प्रमुख रमेश थापाले जानकारी दिए । निकुञ्जले सोही अवधीमा साढे १ करोड भन्दा वढी राजस्व समेत संकलन गरेको छ ।

बर्दिया निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तु पाटेबाघको लागि उपयुक्त वासस्थान मानिन्छ । ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज पूर्वमा वाँके, पश्चिममा कैलाली र उत्तरमा सुर्खेत जिल्लाको सिमाना जोडिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया