निर्वाचन सुरक्षामा तयार रहन निर्देशन

गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा अधिकारीहरुलाई निर्वाचन सुरक्षाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका
छन् । आज सोमबार नेपालगन्जमा मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै सुरक्षामा कही कतै चुक नहोस् भन्नेमा सजग रहन निर्देशन दिएका हुन् ।

गृहमन्त्री निधिले निर्वाचन अघि, निर्वाचन र निर्वाचन पछिको सुरक्षा अवस्थालाई मध्यनजर गरेर केन्द्रीय सुरक्षा रणनीति बनाइएको बताए । उनले मतदान केन्द्र, मतदाता, उम्मेदवार, राजनीतिक पार्टीहरुको चुनाव केन्द्रित गतिविधिहरुको सुरक्षा गर्न तयार रहन निर्देशन दिए ।

चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी निर्वाचनलाई सफल बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको गृहमन्त्रालय सुरक्षा समन्वय महाशाखाका प्रमुख तथा सहसचिव बालकृष्ण पन्थीले बताए ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा १ सय २३ स्थानीय तहको सुरक्षाका लागि जिम्मेवार सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।

गोष्ठीमा जिल्ला स्तरीय सुरक्षा अवस्थाका बारेमा छलफल भैरहेको छ । गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला प्रशासनका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया