सालको अन्तिम साता ।

मिसन : डिग्री परिक्षा ।

गन्तव्य : नेपालगन्ज देखि सुर्खेत ।

साधन : धन्नै एक दशक टेक्न लागेको बजाज डिस्कभर ।

सवारी : मात्र एक पुरूष ।

साथी : सामसुंगको थोत्रो मोबाइल, एयरफोन ।

त्यसमा बज्दै थियो नेपालगन्ज छाड्नुअघि युट्युवबाट डाउनलोड गरिएको नुसरत फतेह अलि खानको कव्वाली मेरे रस्के कमर, तुने पहेलि नजर, जब नजरसे मिलाई मजा आगया को लाइभ भर्जन जसलाई साकिब अलि ताजीले गाएका थिए ।

नेपालगन्ज छोड्दाको तयारी यति थियो ।

नेपालगन्ज छाडेर २६ किलोमिटर पर चिसापानीको निकुन्ज चेकपोष्टमा आफ्नो विवरण टिपाएर उकालो लागेपछि हेल्मेटम भित्र लाइभ कव्वालीको आवाजलाई चिर्ने गरी केही कराएझै लाग्यो । कसैले कव्वालीमा बज्ने ताली जस्तै कोही चर्को स्वरमा तालि बजाइरहेको थियो ।

‘हैन के हुँदैछ यो ।’ एयरफोनबाट बजिरहेको गीत पज गरे ।

‘ह्याँ दाई कस्तो मजा आइरहेको थियो । बन्द गरेर ल्यांग नगर्नुन यार ।’

चर्को स्वरमा हेल्मेट भित्र र्याईए गर्दै कोही करायो ।

एक छिन त झसंग भए ।

‘हैट को हो यो ?’

‘म पुण्टे मच्छरके दाई चिन्नु भएन ?’

उल्टो प्रश्न पो सोध्छ बा !


बायाँ तिरको साइड लाइट बारेर बाईकलाई सडक किनारामा रोके । हतार हतार हेल्मेट खोले । कालो कालो पोटिलो एक थान मच्छर पखेटा फट्फाटाउँदै मेरो आखाँ नजिक आयो । आकार देखिएपनि उ हाँसेको चाही देखिन ।


‘काँ बाट आइस म सँग ?’ मेरो झन्काहा स्वरुपमा सोधे ।

‘ह्या दाई, उहि नेपालगन्जदेखि सँगै आको हैन ? नचिनेझै गर्ने ?’

अचम्म । ‘यार’ पो भन्छ बा ।

‘मैले कसरी चिन्ने तलाई ?’ रिसैको झोंकमा सोधे ।

‘अरे दाई अस्ती बेलुका तपाई घर बाहिर बस्दा साप्रामा टोकेको बिर्सनु भयो ?’

टोकेको त थियो । प्याट्ट हानेको पनि हो । मर्यो भनेथे मैले त ।

‘काँ मर्नु दाई, नेपालगन्जमा हामिलाई मार्न मजाक ठान्नु भा छ क्या ?’ मच्छरले खिस्याँउने शैलीमा भन्यो, ‘दाई सुर्खेत जान लाग्नु भा’छ भन्ने थाहा पाएर लुसुक्क छिरेको नि । कति नेपालगन्जको गर्मी मात्र खानु यार ।’

पुण्टेको कुरा सुन्दा लाग्यो, एक्लै छु । सुर्खेत सम्म जाने साथी पनि छैन । बरु यै सँग कुरा गर्दे बाटो काट्नु पर्यो ।

‘ल हिँड त तेसो भए जाउँ ।’

‘तर कव्वाली चाँहि लाउनु पर्छ है दाई । आफु त नुसरतको फ्यान जो परियो ।’ उसले फुर्तिसाथ पुण्टेले सर्त राख्यो ।

हेल्मेट लगाए । कताबाट उडेर गई पुण्टेले हेल्मेटमा आफु बस्ने ठाउँ बनाई सकेको थियो ।

मोटरसाइकल स्टार्ट गरे । पज रहेको कव्वालीलाई प्ले गरे । बाइकले पुनः राजमार्ग समात्यो ।

‘दाई गीत त दामी छ है । सुन्न त लाइभनै मजा आउने यार ।’ उसले नुसरतको बखान गर्न थाल्यो ।

‘अनि मजा नआउने भए कानमा कोचेर हिन्थे त ?’

मोटरसाइकलको रफ्तार बढ्यो ।

…………………………………………………………………………………………………………

१५ खोलाको मोड काट्दै थिए ।

‘दाई अलि अलि चिसो पो भो त हौ । अलि बिस्तारै चलाउनु न।  आफु त पहिलो चोटि यता आउँदै छु, बाटो पनि घुमाउरो रैछ वाकवाक आउला जस्तो पो भो ।’ पुण्टे फेरी बोल्यो ।

रफ्तार सम्हाले ।

पुण्टे कव्वालीको तालमा ताल मिलाउँदै तालि बजाईरहेको थियो ।

‘नेपालगन्ज किन छाड्न मन लाग्यो त ?’ म गफिन थाले ।

‘होइन दाई घुम्न मन लागो के ? कति त्यो नेपालगन्जको नाली चाहार्नु यार । कहिलेकाही हामिलाई पनि स्वच्छ हावा खान मन लाग्छ नि ?’

‘ह्या मुला । मान्छेलाई बिहान बेलुका टोकेर बस्न खान नदिने । राती सुत्दा कानमा आएर ट्या ट्या गर्ने अनि आफु चाहि घुम्न आउने । अब तेरो काम चाही कसले गर्छ नि नेपालगन्जमा ? ‘

‘क्या कुरा गर्नु हुन्छ दाई ? नेपालगन्जमा मेरा सन्तान कम छन् भन्ठान्नु भाछ क्या ? अंकमा गन्न नसकिने छन् ।’

उ बोल्दै थियो ।

एयरफोनमा नुसरतको कव्वालीमा ताजीले नसा सिसेमे अंगडाई लेखे लगा, बस मेरे दा मे सागर खटकने लगे भन्ने अन्तरा अलाप्दै थिए ।

‘वाह वाह वाह मजा आयो यार दाई । यो लाइन चाँहि दमदार छ ।’ पुण्टे फुर्किदै बोल्यो ।

‘तिमिहरु नेपालगन्जमा यति बिधि किन बढेका छौ ?’ पुण्टेले गीतको थप बखान गर्नु अघि मैले सोधे ।

‘दाई हामी बढेकाकी तपाईहरुले बढाउनुभाको ?’ उल्टो मलाई नै सोध्यो ।

‘हामीले कसरी बढायौं ?’

‘हामी कहाँ बस्छौं ?’ पुण्टे सोध्छ ।

‘फोहोरमा, नालिमा, जमेको पानीमा ।’ मैले भने ।

‘अनि त्यो फोहोर कसले बनायो ? नालीमा फोहोर फालेर पानी कसले जमायो ?’

हामिले ।

‘अनि त्यती भएपछि हामी बढेनौं त ? अनि हाम्रो आवादी कसले बढा’को रहेछ त दाई ?’

कुरो त ठिकै गर्यो । नेपालगन्जको सडक, त्यस आसपासको नालीमा पानी बगाउन बनाइएको तर कचराले भरिएको नाली सम्झे । बर्षामा सधैं पानी जम्ने बेलासपुर जाने रोड सम्झें । सदरलाईनमा बिहान थुप्रिएका फोहोरका डंगुर सम्झे । अनि सोचे किन पुण्टे नजन्मियोस । किन उसको आवादि नबढोस् ?

एक पटक त पुण्टेले अनुहारै रातोपिरो बनाउने गरी पो लजाइ दियो ।

………………………………………………………………………………………………………….

मोटरसाइकलले देउरालीको ओरालो समायो ।

कानको एयरफोनमा ताजी ब्रदर बेहिजाबा ना वो सामने आगए, और जवानी, जवानी से टकरा सेयर गाउँदै थिए ।

अघिको लाज मेटाउँदै पुण्टेलाई सोधे, ‘हैन भाई म १३ वर्ष अगाडी नेपालगन्ज पस्दा त तिमिहरुको आवादि यति धेरै थिएन नी ?’

‘१३ वर्ष अघि नेपालगन्जमा यति मान्छे र फोहोर पनि त थिएन नी दाई’, पुण्टेले टुमुर्केको लवजमा जवाफ फर्कायो । लाग्यो उ म सँग सवाल जवाफ भन्दा पनि कव्वालीमै मस्त छ ।

तर ओरालोमा मोटरसाइकलको रफ्तार बढेकाले पुण्टे डरायो । ‘दाई बिस्तारै चलाउनु न यार ।’ डर मिश्रित स्वरमा अनुरोध गर्यो ।

‘अनि पुण्टे भाई तिम्रो बारेमा पनि केही भन न यार ।’ अनुरोध फँयाके । मलाई बाटो कटाउनु जो थियो ।

पुण्टेले सुरु गर्यो ।

‘दाई बडा टेन्सन छ यार । अस्ति तपाईकी घरबेटी आमा छिन् नि तिनलाई टोक्न मेरो हजुरबा चुण्टे गएका थिए । तर तपाईकि घरबेटी त कडा रैछिन् यार । ब्याटमिण्टनको र्याकेट जस्तोले हानेर बाजेलाई ठकरै बनाइछन् । बुढा बडा अच्छा थिए यार । छानी छानी टोक्न जान्थे । क्यार्नी बुढा गई हाले, तर बाजेले भनेको कुरा मलाई थाहा छ दाई ।’

पुण्टे गफिन सुरु गरिसकेको थियो । म चुप लाग्नुमै उचित लाग्यो ।

‘कुरा २०–२५ वर्ष अगाडीको हो रे दाई । नेपालगन्जमा त्यती मान्छे पनि थिएनन । न्यूरोड भन्ने बनेकै थिएन । त्यहाँ त भैसी आहाल खेल्ने खाल्डो थियो । त्यती खेर हाम्रा सन्तानहरु पनि धेरै थिएनन् ।

बिस्तारै मान्छेको बस्ती नेपालगन्जमा सर्न थाल्यो । मान्छेको संख्या बढ्दै गयो । ठुल्ठुला घर बने तर ढल बनाउने चाल पाएनन् । बनेका ढलमा पनि घरमा जम्मा भएको फोहोर बिहानै नालीमा ल्याएर मिसाउन थाले । पान, पुकार खाएर नालीमै थुक्न थाले । नालीमै हग्न थाले । त्यो नालीमा हग्ने काम त शहर भित्र अहिले पनि गर्छन है दाई ।’ मैलाई जिस्काए जसरी पुण्टेले खिल्ली पारामा भन्यो ।

‘अनि नि दाई त्यति खेर त त्यो नगरपालिका भन्ने छ नि बिपि चोकमा, अनि स्वास्थ्य भन्ने अपिसले पनि के जाती ओखती छर्केर हाम्रा सन्तान लार्भामै मार्थे रे । अहिले त त्यो पनि हरायो । तर फोहोरको डंगुर भने बढेको बढेई छ । पानी बग्नुपर्ने नाली फोहोरले जमेको छ । अनि हामी नफैलेर को फैलोस् ?’

यतिबेला सम्म बबई पुल पुगीसकेको रैछु । पुल कटेर उकालो लागेपछि पुण्टे फेरी सुरु भयो ।


‘अहिले सुन्याछु । सरकारले खुला दिशा मुक्त घोषणा गर्दै छ रे । तर नि दाई मलाई कम्तीमा नेपालगन्जमा चाही खुला दिशा मुक्त होला भन्ने लाग्दैन ।’


‘किन ? नगरपालिका र त्यत्रा संघसस्था लागेका छन् यार तिमिले भनेर नहुने हो र ? ”

‘अरे दाई कुरा गर्नु हुन्छ । बाहिर हग्ने, मुत्नेलाई नगरपालिकाले कति दिन लखेटेर भ्याउँछ ? अझै पनि बाहिर हग्ने मुत्ने धेरेछन् दाई । तपाईबाट पो छेलिए जस्तो लाग्यो होला । हामी त प्रायः त्यही बेला मौका पारेर रगत चुस्छौ ।’ हट्टहास हाँसो सहित पुण्टेले भन्यो ।

‘दाई तपाई त यसो पत्रिकामा लेख्ने पनि गर्नु हुन्छ । के साँच्चै तपाईलाई नेपालगन्ज शहर भित्रका मान्छेले कुना काप्चामा लुकेर हग्न छाड्लान ? के केटाकेटीले घरभित्र हगेको गु नालीमा ल्याएर मिसाउँन छाड्लान ?’

पुण्टेको प्रश्नले मलाई यसरी घुमाएछ कि हर्रे चेकपोष्ट पुगेको थाहै भएन ।

मोटरसाइकल रोकेर इन्ट्री गराए र अघि बढे ।

………………………………………………………………………………………………………….

अहिले चाहि एयरफोनमा नुसरतकै ये जो हल्का हल्का सुरुर है, ये तेरी नजरका कुसुर है  लाई ताजी ब्रदर्स गाउँदै थिए ।

‘भाई तिमिले कम्तीमा अब देखि मलाई त टोक्दैनौनी ?’ नेपालगन्ज फर्केपछि मच्छरको टोकाईबाट छुटकारा पाउने लालसासहित हर्रेबाट ओरालो लाग्दै गर्दा पुण्टेलाई सोधे ।

‘धैत् कहाँ त्यस्तो हुन्छ दाई । धर्म भन्या धर्म हो नि यार । छाड्नै मिल्दैन ।’

मुला कस्तो बटारिएको रै’छ । औलाले किचिमिच पार्दिन मन लाग्यो । फेरी सोचे बाटो त अझै बाँकी नै छ । अनि आफु एक्लै ।

‘ए त्यसो पो ? त्यसो भए म पनि घरमा मेरो घरबेटीले तिम्रो बाजेलाई मारे जस्तै मार्ने व्यवस्था मिलाउँछु ।’

हाहाहाहाहाहा….. पुण्टे हाँस्यो ।

‘के हो भाई मार्ने कुरा गर्दा पनि हाँस्छौं त यार ?’


‘त्यो त बुढा झुक्केर परेका हुन दाई, तपाईले मलाई मार्न साप्रामा हान्दा साप्रा मात्रै रातो भएको बिर्सिनु भो क्या ?’ मलाई खिस्याउँदै पुण्टेले भन्यो ।


‘अनि मच्छर धुप, काला हिट, अण्डा राख्ने कार्टुन पनि त छ नि । त्यही बालेर भगाउँछु तिमिलाई ।’

‘हा..हा..हा.. दाई पनि ! आजकल नेपालगन्जको कुन घरमा जलेबी जस्तो धुप, काला हिट, अण्डाको खोस्रा छैन ? तर पनि हामी खुल्लम खुल्ला उडेकै छौं, घुमेकै छौं, टोकेकै छौं, खुन चुसेकै छौं । कहिलेकाहि हामी एक छिन् भागे जस्तो पनि गछौं अनि फेरी फर्केर गई टोकी हाल्छौ । कस्सम नेपालगन्जमा हामिले नटोकेको एक जना मान्छे देखाईदिनुस तपाईलाई टोक्नै छाडिदिन्छु । त्यस्ता काला हिटलाई अब हामी के टेर्नु । हामी पनि यि सब झेलेर बलियो भैसकेका छौं दाई ।’

गफै गफमा छिन्चु कटेर पनि भेरी पुल पार गरिसकेको रहेछौं  ।

………………………………………………………………………………………………………….

कानमा मास्टर सलिम तुम्हे दिल्लगी भुल जानी पडेगी, मोहब्बतके राहोमे आकर तो देखो गाउँदै थिए ।

‘अब नेपालगन्जबाट हामिलाई मास्न त्यती सजिलो छैन दाई ? ‘

‘किन ?’

‘हामी धेरै भैसक्यौं । नगरपालिकाको ट्रयाक्टरले दिनहुँ फोहोर उठाउँन जान्छ, तर प्रत्येक दिन फोहोर बढेको बढ्यै छ । शनिबार सडकमा झाडु लाउने जम्मा हुन्छन तर जस्को घर अगाडी फोहोर छ त्यही मान्छे सुर्ती माड्दै रमिता हेर्छ । कुचो समातेर आफुचाँही झाडु लाउन आउँदैन । भरे त्यही मान्छेले घरको फोहोर बाटोमा ल्याएर फाल्छ । घरमै जलाउने, व्यवस्थापन गर्ने गर्दैन । खाने घरमा अनि फोहोरचै बाटोमा फोको पारेर फाल्ने गरेपछि हामीलाई कहाँ कम गर्न सक्लान र !’

कुरो ठिकै लाग्यो ।

हैन यो नेपालगन्जलाई के भएको होला ?

सोच्दै थिए । धुलाबिट पुगी सकिएछ । ‘दाई यहाँ पनि नेपालगन्ज जस्तै ठुलो रोड बन्न लागेरहेछ है ?’ भने र पुण्टेले सोधे पछि पो थाहा पाए ।

‘हो पुण्टे भाई यहाँ पनि अब प्रदेश राजधानी बन्ने होला नि त । त्यसैको तयारी हो भाई ।’

‘ओ हो गज्जब ठाउँ रैछ दाई यो सुर्खेत भन्ने त । चारै तिर पहाड पनि रैछ । एयरपोर्ट पनि रैछ । मज्जाको ठाँउ रैछ है । गर्मी पनि कम रैछ ।’

अलि वर आएर केही टायरका खाँद देखेपछि पुण्टे झन खुसी देखियो ।

‘ओहो दाई यहाँ पनि हाम्रो लागि त रामै व्यवस्था रहेछ नि । अब यता पनि हाम्रो सन्तान अलि बढाउनु पर्यो ।’

मंगलगढी चोक आइपुग्दा बसपार्क र त्यहाँ वरपरको फोहोर देखेर पुण्टे अझ बढि खुसी भयो ।

‘ओ हो दाई यहाँ त रमाईलो रहेछ । फोहोर पनि रहेछ । मोज हुनी भो । ल दाई म त लागे । राम्रो सँग परिक्षा दिनुहोला ।’

पुण्टेले र्याईए गर्दै पखेटालाई गति दियो ।

म पनि चुपचाप घण्टाघर तर्फ मोडिए ।

थाहा छैन पुण्टेसँग फेरी नेपालगन्जमा भेट हुन्छ कि अर्को पटक सुर्खेत आउँदा उसका सन्तानहरुसँग चिनजानको मौका मिल्छ ।

कानको एयरफोनमा भने पहिलेझैं नुसरतको कव्वालीलाई ताजीले ‘नशा सिसेमे होता तो नाचती बोतल भन्ने सायर जोडेर गाउँदै थिए ।

@brmagar

प्रतिक्रिया

प्रतिक्रिया