ऋचा लुइटेल

प्रिय फोहोरका डंगुरहरु

स्नेही अभिवादन ।

अलिखित सम्बन्धको तराजुमा हामी जोखिएर न दुस्मन भयौं, न आफन्त । हजार सपना बोकेर नेपालगन्ज आउनु अघि देखि तिमी सँग म परिचित
थिए ।

तिम्रा आफन्तबाटै तिमी तिरस्कृत भएको खबर सुनेकै हुँ । तर भोग्दै जाँदा महशुस   गरेकी छु प्रिय ।

पतिलाई मन नपरेपछी जर्बजस्ती परित्याग गरिएकी परित्यक्ता भनौ कि जिन्दगी गुजारा चलाउन ग्राहक खोजेर शरीर साट्ने पेशेवर । के हो तिम्रो परिचय ?

सुन्तलाका केस्रा चुसेर तिमी मिल्काइन्छौ । केराका बोक्रा बनेर अनार, कागती, ऊँखुका डाक्ला, इँटाका टुक्रा, फाटेका जुत्ता, लुगा फाटेका थाग्ना, थैला चाउचाउ,  बिस्कुट, जुस तिमी कुन कुन रुपमा आउँछौं ।

नेपालगन्जको शहर भरी तिमीलाई बिस्यार बनाएर तिम्रै अघिल्तिर सेल्फी खिच्नेहरु तिम्रो उपहास गरिरहेका छन ।

निर्दोष तिम्रो आचल धुमिल धुमिल बनाइरहन्छन ।

उपमहानगरपालिकाका योजनाहरु, बजेटहरु, एनजिओ आइएनजिओ, सिडियो, एलडिओ, डाक्टर कर्ण सहितको टोलीले सुरु गरेको नगर सरसफाई अभियानमा नन्दलाल बैश्य, हेमन्त काफ्ले, बिस्वजित तिवारी, खुद्रा व्यवसायी, उद्योगी व्यवसायीहरु झाडु बोकेर दिनहुँ कुदेकै छन । तर तिमी ज्युँ का त्युँ छौ प्रिय ।

तिमीलाई सडकमा मिल्काएर मुखमा माक्स लगाउनेहरु लाज पचाएर तिमिलाई गिज्याई रहेका छन ।

मलाई थाहा छ तिमी घर बिहिन छौ । हजारौको भिडमा नितान्त एक्लै छौ । तिमीले हाम्रो बारी मलिलो पारेर म ताजा तरकारी खान्छु तर तिम्रो महत्व नबुझ्नेले तिमीलाई  सडकमा लम्पसार पारेर तिमी सँग दिनहुँ सम्भोग गरिरहेका छन ।

बिशाल मगरको तस्विरमा तिम्रो सुन्दर घर निर्माण को लक्ष्य, बिनय दिक्षितको समाचार, मेरा कविता र लेखहरु  तिम्रो एकान्त कुनाको बासस्थानको खोजीमा दिनहु लागि रहेका छन । तरपनी हाम्रा प्रयासहरु ज्युँ का त्यूँ छन ।

तिमी गुल्मको कुनामा भनौकी, पुष्पलाल चोक, बिपि चोक, धम्बोझी, न्युरोडको खाली ठाउँ, बिद्युत चोक होस, कारकादो चोक बसपार्क होस या चारबाहिनी बेलासपुर । या त कोरियनपुर गोसाई गाउँ सम्झाउ कि बाँके गाउँ । निर्बस्त्र तिम्रो छाति टेकेर हिँड्न अभ्यस्त मान्छे देखेर म निःशब्द हुन्छु ।

कोहलपुर बसेर तिमिलाई सागर गैरे बारम्बार गिज्याउँछन । तिमिले शहर कुरुप बनायौ भन्छन । तर तिमी निर्दोस भएको प्रमाण कसैले बुझ्दैनन् ।

तिम्रा कारण शहर बदनाम छ । बर्षामा तिमी निर्वाध भौतारिन्छौ । हिउँदमा खुम्चिएर हावाहुरीमा तिम्रो यौवन छताछुल्ल हुँदा तिम्रो बिरुद्ध ठुलै आन्दोलन हुन्छ ।

हिरमनियामा बन्ने भनेको तिम्रो घर कहिले बन्छ ।  या त यो पनि बन्छ एकदेशको सपना ?  प्रश्न अझसम्म अनुत्तरित छ ।

नगर भित्र न तिम्रो लागी बिस्तारा छ, न तिमी सडकमा लाज पचाएर निर्वस्त्र छटपटाइरहेको देख्दा कसैको मन कटक्क हुन्छ ।

सिक्टाको कुना भनौं कि टेलिकमको गोदाम, तिम्रो उपस्थिती भुस्याहा कुकुरको भन्दा बढी छ ।

होटलै होटल छन नेपालगन्जमा, स्कुलै स्कुल, बैंक अनि किराना र हार्डवेयरका पसलहरु । म नाम भन्दिन तिमी बुझ्छौ, म बुझ्छु । लबस्तरो तिमीलाइ भन्छन तर उनिहरु लबस्तरो बनेको कस्ले देख्ने ?

तिम्रो न कुनै गन्तवय छ न् कुनै पहिचान । शहर भित्र तिमी धेरै छौ तर पनि तिमी एक्लै नितान्त एक्लै छौ ।

तर गाउँमा तिम्रो सम्मानमा बाली लगाउनु अघि उत्सव मनाइन्छ ।

खेतका गराहरुमा सम्मान् पूर्वक तिम्रो आसन ग्रहण गराइन्छ फाटेका प्लाष्टिका झोलाहरु आमाहरुले बटुलेर बलेसिको मास्तिर सिउरेर राख्नु  हुन्छ ।

ताकी झरिपर्दा आगो सल्काउन काम लागोस ।

तर खै किन किन शहरमा तिम्रो न् कुनै खाचो छ न कुनै महत्व ।

तिमी गाउँमा भएको भए च्यातिएको लुगापनी हन्मेर्नो हुन्थ्यौ ।

भाँचिएको खाट भएपनी आगो बाल्न काम लाग्थ्यौ । चुडिएका चप्पलहरु तुना फेरि फेरि लगाइन्थ्यो । मजेत्रो झोलुङो बन्थ्यो । फाटेका सारी पटुकी बन्थे । केटाकेटी सुताउने डसना बच्चा बेर्ने थाङ्ना बन्थे ।

के गर्छौ प्रिय सहरमा तिमी बेरोजगार छौ  । अलपत्र छौ अस्तब्यस्त लथालिङ्ग  छौ ।

नेपालगन्जमा तिमी अलपत्र परेको सालौ साल भो । तिमी बर्षामा हिलाम्य हुन्छौ  । हिउँदमा किक्रिक्क हुन्छौ । खडेरी पर्दा हुरी चल्दा तिमी फेरी जहाँबाट मिल्क्याइएका हुन्छौ त्यही पुग्र्छौ  फेरी अपमानित हुन्छौ धुत्कारीन्र्छौ  गलहत्याइन्छौ ।

तिमी कहिले अबला बन्यौ । कहिले बेसाहार बन्यौ । आमा बाबु बिहिन नाता गोता बिहिन तर पनि बारम्बार तिमी चर्चामा रहन्छौ । नेताका भाषणमा योजनाका राता किताबहरुमा, चुनावमा, एनजिओ आइएनजिओका कार्यक्रमहरुमा, कविका कवितामा, चोक चोकमा हुने चर्चामा, अखवारका पानामा तिमी बारम्बार छाइरहन्छौ प्रिय फोहोरका डङ्गुरहरु तिमी छाइरहन्छौ जतात्यतै ।

नेपालगन्जको गर्मी सहन सक्नेहरुपनी सडकमा निर्बाध तिम्रो उपस्थितिले तर्किरहेका हुन्छन । तिमी माथी भन्किरहेका झिङ्गाबाट फैलिने महामारीको दोषी  तिमी हुन्छौ । तैपनी तिमी चुपचाप चुपचाप  कहिले निदाइरहन्छौ कहिले छटपटाइरहन्छौ ।

सहरको खबर सोध्नेले पहिला तिम्रो खबर सोध्न छुटाउँदैन र तिमिलाइ गाली गर्न पछि पर्दैनन । ओहो कति भाग्यमानी तिमी, कति चर्चित । पर्ख अब केही दिन पर्ख  स्थानीय चुनाबको भोटमाग्न आउने नेताहरु तिम्रो बुइ चढेर आउने छन । तिम्रो तातो चिसो असर खराब भन्ने छन । तिम्रो घर बनाउने बाचा गर्नेछन ।

आश्वासनका पुलिन्दा बाँडेर तिम्रो जयजयकार गर्नेछन । प्रिय तिमी हेरीराख्नु के–के भन्ने छन, के–के गर्नेछन । नियती बदल्न नियत सफा भएकाहरुलाइ तिमी पनि जय गर्नु । तिमीपनि सहयोग गर्नु । अनि बिस्वास म पनि गर्ने छु ।

तिम्रो घर बन्ने छ । तिम्रा कारिन्दा हुनेछन । तिम्रो आफ्नो पहिचान हुनेछ । अधिकार हुनेछ । सहरसफा गर्ने कर्मचारीहरु दिनहुँ काममा जुट्नेछन । जनताले बडारेर थुपारेका तिम्रा थुप्राहरु समयमै तिम्रो बासस्थानमा पुग्नेछ बेरोजगारले रोजगारी पाउनेछ ।

मैले त भनिराखेकी छु तिम्रो बास बनाउन नगरभित्रका हजारौ पसल घरबाट महिनाको १०० उठाएपनी तिम्रो घर बन्छ । पर्ख प्रिय अब मेरो कुरा पनि सुनिनेछ । नेताले भाषणमा बोल्नेछन । अनि मात्रै त सबै सबैको जय हुनेछ । नेपालगन्ज साँच्चिकै सुन्दर हुनेछ । यतिन्जेल पर्खियौ पर्ख है केही दिन अझै पर्ख ल  ।

प्रतिक्रिया

प्रतिक्रिया