११ महिनामा १५ प्रतिशत काम
नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण कार्यमा चरम लापरवाही देखिएको छ । निर्माण सक्नुपर्ने ४ महिना बाँकी रहँदा ८५ प्रतिशत काम अधुरै रहेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोष सँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बस पार्क निर्माण कार्य अगाडि बढाएको हो । निर्माण कम्पनीसँग भएको सम्झौता अनुरुप १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी कामको सुरुवात भएको थियो ।
अब्यवस्थित रुपमा संचालित नेपालगन्जको बसपार्कलाई अध्याधुनिक सुविधा सम्पन्न बनाउन १५ महिना भित्रको सम्झौता भएपनि ११ महिनामा जम्मा १५ प्रतिशत काममात्र पूरा भएको इन्जिनियरले बताएका छन् ।
२० करोड रुपैयाँको लागतमा १५ महिना भित्र निर्माण सम्पन्न हुने बसपार्क निर्माणमा विभिन्न कारणले गती लिन सकेकाे छैन । सवारी साधनलाई पार्किंग गर्न सहज हुने र यात्रीहरूलार्इ सुविधासम्पन्न बसपार्ककाे अनुभव गराउनका लागि १५ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारले समयमा काम नगर्दा बसपार्क निर्माणकाे काममा ढिलाइ भएकाे हाे ।
अत्याधुनिक टर्मिनल भवन सहितको बसपार्क बनाउने योजना विना कारण सुस्त देखिएको एक इन्जिनियरले बताए । ‘आवश्यकता बमोजिम जनशक्ति परिचालन हुन नसकेको कारण काममा ढिलाई भएको हो’, उनले नेपालगन्जन्यूज सँग भने, ‘ठेकेदारले गर्नु पर्ने दायित्व निर्वाह नगर्दा समस्या उत्पन्न भएको हो ।’
युनाइटेड विल्डर्सले १५ महिनाभित्र अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क निर्माण कार्य पूरा गर्ने शर्तमा नेपालगन्ज उपमहानगरपालिका संग सम्झौता गरेको छ ।
नेपालगन्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने सपना विचमै अल्झिएको हो ।
बसपार्क निर्माणको प्राविधिक रेखदेख तथा सुपरभिजनका लागि खटिएका सेरा कन्सल्टेन्ट प्रालिनका इन्जिनियर धर्मराज भट्टराईले निर्माणमा ढिलाई भइरहेको स्वीकार गरे । उनले ढिलाईको कारण समेत खुलाउन चाहेनन् । ‘काम बन्दै भएको छैन, तर कामले गति पनि लिन सकेको छैन’, ईन्जिनियर भट्टराईले नेपालगन्जन्यूज संग भने, ‘पूर्व सभासद सन्ध्या देवको घर बाउण्ड्रीमा परेकोले सो विवादका कारण पनि निर्माण कार्यमा केहि सुस्तता देखिएको हो ।’
‘पूर्व सभासदकै कारण पर्खाल निर्माण रोकिएको छ,’ भट्टराईले भने, ‘उपमहानगरपालिका र सभासद विच जग्गाको हक दावीका विषयमा आरोप प्रत्यारोप भइरहेको छ ।’
उपमहानगरपालिकाले जग्गा सरकारी भएको र सरकारी जग्गामा देवले राजनीतिक आडमा घर निर्माण गरी कब्जा गरेको आरोप लगाउँदै आएको छ ।
करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायी पनि दबाव बनाउँदै आएका थिए ।
हरेक गाडीबाट दैनिक २० रुपैयाँ देखि सय रुपैयाँ सम्म शुल्क उठाउदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ । यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगर–पालिकाको योजना छ ।
बसपार्कबाट राजधानी लगायत पूर्व–पश्चिम तथा उत्तर तर्फ गरी दैनिक ४ सय बढी साना ठूला बसहरू संचालनमा रहेका छन् ।
निर्माण कम्पनीका इन्जिनियर समुन्द्र केसीले भने हस्तान्तरण हुन ढिलाई भएका कारण काम ढिला भएको बताएका छन् । उनले सुरुवातमै केहि समस्या भएकोले सो अवधिलाई समेत जोडेर समय भित्रै काम पूरा गर्ने प्रयास जारी रहेको बताए ।
‘बसपार्कमा रहेका पसलहरु हटाउन ढिलाई भयो, साइट खाली हुन समय लागेको, समयमा भुक्तानी नभएका कारण काममा समस्या देखा परेको हो,’ ईन्जिनियर केसीले भने, ‘यद्यपि प्रयास चाहि समयमा काम पूरा गर्ने नै रहेको छ ।’ उनले समयमै सक्ने लक्ष्यसाथ काम गरिने दावी गरेका छन् ।