मतदान सार्वभौम र मौलिक अधिकार

आगामी बैशाख ३१ गतेका लागी स्थानिय तह निर्वाचनको घोषणा भएसंगै निर्वाचन सम्बन्धि चर्चा परिचर्चा सुरु भएको छ । स्वच्छ र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन पर्यवेक्षकहरुको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ । निर्वाचन पर्यबेक्षण निर्वाचनको वैद्यता र बिश्वसनियता जाँच्ने कसि हो ।

निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरण निर्वाचन सम्पन्न गर्नका निर्वाचन पर्यबेक्षणको आवश्यकता पर्दछ । जनताले मतदानको अधिकार निधक्कसंग प्रयोग गर्न पाएका छैनन कि छैनन भनी बुझ्ने माध्याम निर्वाचन पर्यवेक्षण हो । पर्यबेक्षणका माध्यमबाट निर्वाचन प्रक्रियाका सवल र कमजोर पक्षका बारेमा थाहा पाउन सकिने भएकाले निर्वाचन पर्यवेक्षणलाई राज्यको तेश्रो आँखा पनि मान्ने गरिन्छ ।

निर्वाचनमा मतदान गर्ने जनताको सार्वभौम र मौलिक अधिकार हो । स्वच्छ, बिश्वसनिय, मर्यादित र धा“धलीरहित निर्वाचन भएको खण्डमा मात्रै जनताले सहि प्रतिनिधिहरुको छनौट गर्न सक्दछन् । निष्पक्ष निर्वाचनले मात्रै लोकतान्त्रिक पद्धतीको सुढृढीकरण र बिकाशमा समेत टेवा पु¥याउने भएकाले आवधिक निर्वाचनलाई लोकतन्त्रको मुटु नै मान्न सकिन्छ ।

बिगतको निर्वाचनमा खटिने निर्वाचन पर्यवेक्षकहरु मध्ये केही पर्यबेक्षकहरु दलका उम्मेदवारको पक्षमा लागेको, आफ्नो ब्यवशायिक मुल्य र मान्यता बिपरितका काम गरेको आरोपहरु पनि लाग्ने गरेका थिए । पर्यवेक्षकको कुनै पनि दल वा बिचार प्रति आफ्नो आस्था वा समर्थन भए पनि काममा आस्था वा बिचार कदापी झल्कनु हुदैन । पर्यवेक्षकहरु निष्पक्ष भई काम नगर्दा सम्म उनीहरु ब्यवसायिक हुन सक्दैनन । इमान्दारिता र ब्यवसायिकता नै पर्यबेक्षकको असली पहिचान हो ।

स्वतन्त्र निश्पक्ष, विश्वसनीय र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचन पर्यबेक्षणको महत्वपुण भूमिका हुने गर्दछ । निर्वाचन लोकतन्त्रको मर्म, जिवन र केन्द्रबिन्दु भएकाले स्वतन्त्र, शान्तिपुर्ण धाधली रहित भएन भने लोकतन्त्रको आत्मा नै नरहने भएकाले पर्यबेक्षकले इमान्दारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नु पर्दछ । निर्वाचनको परिणाम सर्वस्वीकार्य, राष्ट्रिय, अन्तराष्ट्रिय मान्यता प्राप्त गर्न सकेमा मात्र निर्वाचनको सार्थकता रहने भएकाले निर्वाचन पर्यबेक्षणको महत्वपूर्ण भूमिका रहन्छ ।

पर्यवेक्षकले आफ्नो परिचय खुल्ने परिपयपत्र बोकेर फिल्डमा जान, पर्यवेक्षण गर्ने ब्यक्तिहरुको नामावली सुरक्षाकर्मीलाई पहिलेनै उपलब्ध गराउनु र बुथमा अनावश्यक भिड नगरी सुरक्षाकर्मीहरुसंग आवश्यक समन्वय गरेर पर्यवेक्षण गर्नु पर्दछ । निर्वाचनमा सिमान्तकृत बर्ग, कारागार, हिरासतमा रहेका लगायतका सबै बर्ग र क्षेत्रका जनताको पहुँच भयो की भएन तिनले सहज मतदान गर्न पाए की पाएनन भन्ने कुरा प्राथमिकताका साथ पर्यबेक्षण गरिनु पर्दछ । साना दलका उम्मेदवारले आफना विचार राख्न पाए की पाएनन, मतदाता निर्भयताका साथ धम्की बिना मतदान केन्द्रमा पुग्न सके की सकेनन भन्ने कुरा पनि पर्यबेक्षणको महत्वपुर्ण बिषय बन्ने गर्दछ ।

सार्वजनिक स्थानमा ठुलो अक्षरमा पोष्टर छाप्दैमा वा संचार माध्याममा ठुलो स्वरमा प्रशारण गर्दैमा मतदाता शिक्षा भएको मान्न नसकिने भएकाले निर्वाचन पर्यबेक्षणले यस्ता कुरामा समेत विचार पु¥याउनु पर्दछ ।
पर्यवेक्षकहरुले राजनैतिक दलको पक्ष वा बिपक्षमा नलागि निश्पक्ष र स्वतन्त्र रुपमा व्यवसायिक मर्यादालाई ख्याल राखेर निर्वाचनको पर्यबेक्षण गर्नु पर्ने हुन्छ । निर्वाचनका पक्षधर र बहिष्कार गर्ने बिचको द्वन्कले उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशिलता र मानव अधिकार हनन हुन सक्ने कुरालाई पर्यबेक्षकले शुक्ष्म ढंगले पर्यबेक्षण गर्नु पर्ने हुन्छ ।

के के हुन्छन निर्वाचन पर्यवेक्षकका अधिकार :
पर्यवेक्षकहरूलाई निर्वाचनसँग सरोकार राख्ने सम्बद्ध सबै पक्षसँग निर्वाचन सम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, पर्यवेक्षण आचारसंहिता अन्तर्गत रही निर्वाचन सम्बन्धी सवै विषयहरुमा स्पष्ट हुन पाउने, निर्वाचन आयोग वा मातहतका अधिकारीहरूको अधिकार क्षेत्र सम्बन्धी जानकारी पाउने; निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध

आवत जावत, संवेदनशील निर्वाचन समाग्रीहरू :
(मतपेटिका, मतपत्र आदि) को ओसार–पसार, मतदान, मतगणना, निर्वाचन परिणाम र सञ्चार माध्यमहरूमा पहुँच आदि कुराको पर्यवेक्षण गर्ने मतदान केन्द्रको गोप्य कक्ष बाहेक मतदान केन्द्रमा मतदान अधिकृतको अनुमति लिएर निर्वाध प्रवेश पाउने अधिकार राख्दछन् ।

यसै गरि मतसङ्केत गरेको अवस्थाको बाहेक निर्वाचन अधिकृत/मतदान अधिकृतले स्वीकृति दिएमा मतदान केन्द्र लगायतका निर्वाचन प्रक्रियाको तस्वीर खिच्न, मतगणना स्थलमा निर्वाचन अधिकृतको अनुमति लिएर निर्वाध प्रवेश पाउने; पर्यवेक्षकले बस्न चाहेमा निर्वाचन अधिकृतले तोके बमोजिम मतपेटिका संकलन गरी राखेको स्थलमा बस्न पाउने; निर्वाचन परिणाम घोषणा गर्दा अपनाइने प्रक्रिया सम्बन्धी जानकारी लिन पाउने, निर्वाचन सम्बन्धमा परेको कुनै पनि उजुरी वा गुनासो बारे जानकारी लिन पाउने; निर्वाचन सम्बन्धी प्रक्रियाको विभिन्न चरणमा राजनीतिक दलहरूको सहभागिता रहे-नरहेको विषय बारे थाहा पाउने र पर्यवेक्षणको क्रममा आफूले प्राप्त गरेको अनुभव आदान–प्रदान गर्न सक्न सक्दछन् ।

पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहिता :
पर्यवेक्षकले आफ्नो परिचयपत्र सबैले देख्ने गरि पहिचानका साथ पर्यवेक्षणको कार्य गर्नु पर्दछ । मतदानकेन्द्र लगायतका निर्वाचन प्रक्रियामा संलग्न सबै निकायहरूमा जाँदा पर्यवेक्षकले शिष्टपूर्वक व्यवहार गर्नु पर्दछ । निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कुनै कार्य गर्न हुँदैन साथै आयोगका अन्य पदाधिकारीहरू, निर्वाचन कार्यमा संलग्न कर्मचारीहरू लगायत मतदाताहरूको सम्मान गर्नुपर्दछ । निर्वाचन पर्यवेक्षण गर्दा स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् वस्तुनिष्ठतापूर्वक गर्नु पर्ने हुन्छ ।

कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव वा पूर्वाग्रह राख्न हुदैन । पर्यवेक्षकहरूले निर्वाचनका सरोकारवालाहरूलाई आक्षेप लगाउने किसिमको व्यवहार गर्नु हुँदैन । कुनै राजनैतिक दल वा स्वतन्त्र उम्मेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकहरूले पोशाक, चिन्ह, व्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचार–प्रसार वा प्रदर्शन गर्न हुदैन । निर्वाचन कार्यमा खटिएका कर्मचारीहरूलाई अनावश्यक सल्लाह दिन, गलत ढंगको सूचना दिन र कानूनको अपव्याख्या गर्न पाउने छैनन् ।

निर्वाचन सम्बन्धी विवादहरु समाधान गर्न, विवाद समाधान गर्ने हेतुले लिखित बयान दिन र निर्वाचन परिणाम आधिकारिक रुपमा घोषणा हुनु अगावै प्रमाणित तवरले प्रसार गर्न पाउने छैनन् । मतदाताको गोप्यता भङ्ग हुने वा मतदानको निष्पक्षतामा आँच आउने एवम् मतदान कार्य वा क्षेत्रमा वाधा उत्पन्न हुने किसिमबाट कुनै कार्य गर्नु हुँदैन । निर्वाचन प्रक्रिया सम्बन्धमा ऐन, नियम, निर्देशिकाहरूले व्यवस्थित गरेको प्रावधान बारे सञ्चार माध्यमहरूमा टिका टिप्पणी गर्न पाउने छैनन् तर ती पालना गर्दा देखिएका त्रुटि, कमजोरीहरूलाई आफ्नो प्रतिवेदनमा औंल्याउन पाउने छन् ।

पर्यवेक्षणको क्रममा कुनै मतदान केन्द्र वा वरिपरि कुनै किसिमको विसङ्गति, अनियमितता, धाँधली, डर त्रास देखाई मतदाताहरूलाई मतदानबाट वञ्चित गर्ने कार्य आदि भएको महसुस गरेमा सो सम्बन्धी जानकारी तुरुन्त निर्वाचन अधिकृत/मतदान अधिकृत/निर्वाचन आयोगलाई गराउनु पर्नेछ ।

निर्वाचनमा कुनै उम्मेदवार वा राजनीतिक दलप्रति झुकाव राखेमा आयोगका कर्मचारीहरूको कत्र्तव्य पालनमा कुनै व्यवधान खडा गरेमा, पर्यवेक्षक आचारसंहिता उल्लंघन गरेमा आयोगबाट जारी गरिएका नियम, निर्देशिका, निर्देशनहरूको पालना नगरेको पाइएमा पर्यबेक्षकको अनुमति खारेज हुन सक्ने ब्यवस्था निर्वाचन आयोगले जारी गरेको पर्यबेक्षण सम्बन्धि नीतिमा उल्लेख गरिएको छ ।

संविधानसभा निर्वाचनलाई भयरहीत एवं पारदर्शी बनाउन तथा संविधान सभा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न निर्वाचन शिक्षाको माध्यमबाट मुलुकभर विभिन्न कार्यम संचालनमा पर्यवेक्षकले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्दछन् । आसन्न स्थानिय तहको निर्वाचनको पर्यवेक्षण गर्नु चुनौती र अवसर दुवै रहेको छ । निर्वाचन पर्यबेक्षकहरु दवाव अभाव र प्रभावबाट मुक्त भई स्वतन्त्र निश्पक्ष पेशागत मुल्य र मान्यता कायम राख्न सकेमा पर्यबेक्षकको काम प्रभावकारी र विश्वसनीय बन्न सक्दछ ।

(लेखक निर्वाचन पर्यबेक्षण संस्था नियोकमा आवद्ध छन् ।

प्रतिक्रिया

प्रतिक्रिया