कोरिदै विकास

संक्षिप्तमा नेपालगन्ज

नेपालगन्ज सम्भावनाको सहर हो । यसलाई पश्चिम नेपालका पर्यटकिय स्थलहरुको गेट वे मानिन्छ । पश्चिम नेपालको व्यापारिक हब हो । नेपालगन्ज प्रदेश नं. ५ मा रहे पनि प्रदेश नं. ६ का लागि भारत पुग्ने पहिलो र सहज सीमा नाका हो ।

विक्रम सम्वत् २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट नगर स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषदको २०७१ साल मंसीर १६ गतेको निर्णय अनुसार साविक नेपालगन्ज नगरपालिकाको सीमानासँग जोडिएका १० गा.वि.स.हरुलाई समावेश गरी नेपालगन्ज उपमहानगरपालिकामा परिणत गरियो ।

पछिल्लो स्थानीय तहको पुनसंरचनामा नेपालगन्जलाई २३ वडामा विभाजन गरि उपमहानगरपालिका बनाइएको छ ।

नेपालगञ्ज विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति, भेषभुषा भएका बहुसांस्कृतिक सम्प्रदायहरुको संगम स्थल हो ।

सडक सञ्जाल

विकासको मेरुदण्डका रुपमा सडकलाई लिने गरिन्छ । नेपालगन्जमा सडक सञ्जाल विस्तार भएको छ । रत्नराजमार्ग अन्तगर्त कोहलपुरराँझाजमुनाहा फोर लेन सडक निर्माणपछि नेपालगन्जको रौनक फेरिएको छ ।

एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास परियोजना मार्फत सडक

लगायतको विकासको काम बढाइएको हो । नगरका अधिकांस भागमा सडक, ढल, नाली निर्माण गरिसकिएका छन् । करिब एक अर्ब लगानीमा ८ किलोमिटर सहरी सडक पिच र ६० किलोमिटर ढल निर्माण भइसकेको छ ।

अधुरो सडक, ढल / नालाहरुको पूर्वाधार विकासका लागि एशियाली विकास वैंकबाट क्षेत्रीय

शहरी विकास परियोजनामार्फत एक अरव ७१ करोड प्राप्त हुने निश्चित भएको

उपमहानगरपालिकाले जनाएको छ । अब ३६ किमी एस्फाल्ट रोड बन्ने छ  । अतिक्रमित बसोवास लगायतका विभिन्न बाधा, व्यवधानका बावजूद समयावधी अगावै (सन् २०१७ जनवरीसम्म थियो) ति कामहरु सकिएका हुन् । सिटिसिई कालिका जेभीसँगको सम्झौता अनुसार काम सकिनु नगरवासीहरुका लागि खुसिको कुरा हो ।

यस्तै उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट ०.४५ कि.मी. सडक कच्ची, ९.१५ कि.मी. ग्राभेल, ०.८९ कि.मी. पिसीसी, ०.३२७ कि.मी. पिच कार्य पनि सम्पन्न भएका छन् ।

नेपालगन्जमाको पुरानो शहरी क्षेत्रमा पनि सडक विकास, विस्तार हुँदैछ । सडक खाली गर्न कठिन हुँदै आएको सदरलाइन (चारवाहीनीत्रीवेणीमोड) क्षेत्र पनि अब केही महिनाभित्रै खाली गरिदैछ ।

स्थानीय घरधनी / व्यवसायी स्वस्फुर्त संगठित भएर आफनो घर/संरचना भत्काउन तयार देखीएका छन् । फुलटेक्रा त्रिवेणीमोड, फुलटेक्रारामनगर शान्तिनगर चारवाहीनी रोड, सल्यानीवागगणेशपुर (सेतु विक चौक समेत) बसपार्क  सडक लगायत सात वटा सडक योजना सम्पन्न भएका छन् ।

आगामी दिनमा उपमहानगरपालिकाले गाभिएका वडा कार्यालयसम्म पुग्ने सडक र

कालोपत्रे निर्माणको योजना अघि सारेको छ ।

ढल / नाला निर्माण

ढल / नाला बिनाको शहर सायद कल्पना गर्न सकिदैन । नगरको भौतिक विकास र व्यवस्थित वजारको बाधकका रुपमा यहाँको ढल / नालीलाई लिइन्छ । पानी, फोहर जम्ने नेपालगन्जमा ढल / नाली निकासको उचित व्यवस्थापन नहुदा अनेकन समस्या सिर्जना भइरहेका छन् ढल / नाला निर्माण बिना फोहर व्यवस्थापन लगायतका समस्या समाधान हुने सम्भावना पनि रहदैन । ढल नाला व्यवस्थित नहुँदा विगतमा नगर डुवान परेको उदाहरण छ ।

एकिकृत शहरी विकास परियोजनामार्फत अहिलेसम्म नगर र नगर बाहिर गरि करिव ६० किमी ढल निर्माण गरिएको छ ।

राँझाचौकदेखि पश्चिम अमिलीया, दक्षिण पश्चिम दोन्द्रा नाला, बुद्ध चौकदेखि कण्ठीपुर हुदै डुडुवा नाला र दक्षिण पुर्व रतैया नाला निर्माण गरिएका छन् । नगरमा ६ ओटा स्लाब कल्भर्ट, ह्युम पाइप कल्भर्ट र बजार क्षेत्रका नालामा ड्रेन कभर बनाइएको छ ।

एशियाली विकास वैंकको सहयोगमा क्षेत्रीय शहरी विकास परियोजना मार्फत पुनः ३६ कीमी ढल / नाला निर्माण हुँदैछ ।

परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जन नेपालगन्जलाई सहर बनाउने हो भने ढल निर्माण र सडक स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

 ल्याण्डफिल्ड साइट

फोहर व्यवस्थापन नेपालगञ्जका लागि अर्को चुनौती हो । यसका लागि उपमहानगरपालिकाको वडा नं. २३ हिरमिनियामा फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड)  निर्माण हुन लागेको हो । ल्याण्डफिल्ड साइड निमार्ण नै अहिलेका लागि फोहोर व्यवस्थापनको उपयुक्त उपाय हो । टेण्डर मूल्याङ्कन(सन् २०१६ को १३ जुन) गरि RAMKYAnC JV सँग ३३ करोड ८८ लाख २७ हजार ३ सय २५ वरावरमा २०१८ जुलाइ १२ मा सम्पन्न हुने गरी सम्झौता गरिएको छ । ल्याण्डफिल्ड साइड निर्माण प्रक्रिया शुरु पनि भइसकेको छ ।

नगरमा ६३ वटा शौचालय निर्माण भएका छन् भने ५, ६ वटा बन्ने क्रममा छन् ।

आश लाग्दा थप संरचना

नेपालगञ्जमा भौतिक विकासका संरचनाहरु निर्माण हुने क्रममा रहेका छन् । जसले नेपालगञ्जको स्वरुपमा नै परिवर्तन गर्ने आशा गर्न सकिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाकाअनुसार कान्ति ताललाई अत्याधुनीक पर्यटकीय केन्द्रका रुपमा विकास गरिदैछ । दुई करोड ८४ लाख वरावरको ठेक्का सम्झौता भइ एक करोड ७० लाखको बराबरको कार्य सम्पन्न भइसकेको छ । दोश्रो चरणको एक करोड ९५ लाखको टेण्डर आह्वान भइसकेको छ । यसको निर्माण कार्यसँगै  पर्यटन विकास प्रारम्भ हुने छ भने आय आर्जनको प्रमुख श्रोत केन्द्र पनि बन्ने छ ।

व्यवस्थित बसपार्कको अभाव झेल्दै आएको नेपालगञ्जमा अब अत्याधुनिक बसपार्क बन्दैछ । सपिङ्ग कम्प्लेक्ससहितको वसपार्क निर्माण कार्य जारी रहेको छ ।

लथालिंग रानीतलाउलाई पनि नयाँ रुप दिइदैछ । पर्यटन प्रवद्र्धनका लागि डिप बोरिङ्ग निर्माणसँगै रानी तलाउको पुननिर्माण कार्य बढाइदैछ ।

बागेश्वरी मन्दिरस्थित पोखरी सरसफाई र बगैचामा योग साधना केन्द्र स्थापना गरिने तयारी गरिदैछ । सांस्कृतिक, धार्मिक र जलयात्रा पर्यटनको संगमस्थलका रुपमा विकास गरिने तयारी छ ।

वाटरपार्कको पनि मास्टर प्लान बमोजिम कार्य अगाडी बढाउने तयारी गरिदैछ ।

राँझा एयरपोर्ट नजिकको सामुदायिक बन र खाली स्थानमा बोटानिकल गार्डेन सहितको इको टुरिजम पार्क, मनिकापुर आर्मी व्यारेक नजिक खाली जमिनमा गल्फ कोर्ष वा खेलग्राम निर्माणको लागि सम्भाव्यता अध्ययन गरीने पनि उपमहानगरपालिकाले जनाएको छ ।

अन्तमा,

यही रफ्तारमा विकास हुदै जाने हो भने नेपालगञ्जको मुहार चाँडै नै फेरिनेछ । नेपालगञ्जको समस्या अरु केही या कोही होइन हामी स्वयं हौं ।

नेपालगन्ज ट्रान्जिट सिटि हो । बाहिरियाहरुको बोलबाला छ । स्थानीयहरु मौन बस्ने प्रवृतिले ग्रस्त छन् । बाहिरियाहरु धेरथोर विकास निर्माण, सचेतना अभियानमा लागे पनि स्थानीयको प्रयाप्त साथ र सहयोगको खाँचो
छ ।

नगरपालिका जनप्रतिनिधिविहीन भएपछि समस्या बाक्लिदै गएको हो । कोहि अघि नसर्ने रोग छ नेपालगन्जमा । राझा जमुनाहा सडक गुणस्तरहीन बनीरहँदा पनि नेपालगञ्जवासी तमासे बनीरहेको उदाहरण ताजै छ ।

जनताले विकासका लागि हामी स्वयं भन्ने भावना जागृत गर्नु पर्दछ  । नेपालगञ्जवासी जाग्ने हो भने यहीँकै आन्तरिक आम्दानीले पनि थुप्रै विकास गर्न सकिने सम्भावना छ । उपमहानगरपालिकाको वार्षिक आन्तरिक आम्दानी करिब ८ करोड हाराहारी छ । अन्य शहरमा विकास निर्माण लगायत सरसफाई जस्ता योजना, अभियानमा जनताको बरावरी साझेदारी हुने गर्दछ तर नेपालगन्जमा भने शून्य झै छ ।

अब राजनीतिक दलले विकासमा साझा दृष्टिकोण बनाएर अग्रसरता देखाउन ढिला गर्नु हुदैन । आगामी स्थानीय निर्वाचनले सबै राजनीतिक दलहरुमा विकास अजेन्डाप्रति सम्वेदनशिल बनाउने छ भन्ने अपेक्षा राख्न सकिन्छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया