नेपालगन्जमा महोत्सव सघन बन्दै संंवाद

धेरैलाई लाग्न सक्छ, नेपालगन्ज महोत्सवमा साहित्य कला र फिल्मको मात्र चर्चा भइरहेको होला । तर, पुग्नेलाईमात्र थाह हुन्छ, जीवन जगत, देश र प्रदेशका कुरा निकै सघन ढंगले चर्चा बहस र संवादमा छन् । शुक्रवार देखि नेपालगन्ज स्थित सिद्धार्थ कटेजको शान्त सभाहलमा आज पाँचौ दिन पनि संवाद हुनेछन् ।
आज मंगलवारको कार्यक्रममा चर्चित व्यक्तित्व नारायण वाग्ले आफ्नो पत्रकारिता र साहित्यको पृष्ठभूमि खोतल्दैछन् । वरिष्ठ श्रष्टा भिष्म उप्रेतिको उपन्यास विमोचन हुँदैछ, साहित्य र कलामात्रै होइन, बहसका केन्द्रमा थुप्रै विषय बस्तु छन्, जुन नेपालगन्जका लागि मात्र नभै राष्ट्रियस्तरमै अर्थ राख्छन । ‘खेलकूदमा राजनीति देखि मोफसलमा राजधानीको संघर्ष सम्मका विषयहरुमा संवाद गरिंदैछन्,’ कार्यक्रम निर्देशक जनक नेपालले दैनिक नेपालगन्ज सँग भने ।

महोत्सवको चौथो दिन सोमवार सिनेमा र साहित्य बारे लेखक, अभिनेता ब्रजेश खनाल र आख्यानकार नयनराज पाण्डेले संवाद गरे । अभिनेता ब्रजेशले अभिनय गर्नु र लेख्नुमा धेरै फरक रहेको अनुभूति सुनाउँदै गर्दा पाण्डे भने आफुले नेपालगन्जको परिवेशलाई आफ्ना उपन्यासहरुमा लेखे पनि हतारमा धेरै अगाडि पटकथामा हात हाल्दाका अनुभव सुनाए । पहिला र अहिलेको सिनेमा क्षेत्रमा धेरै आशलाग्दो परिवर्तन आएको र अब अझै सशक्त सिनेमाहरु आउनेमा आफुहरु विश्वस्त भएको उनीहरुको निष्कर्ष थियो । आख्यानकार अमर न्यौपाने २०६५ सालमा पानीको घाम कथा संग्रह लेख्न आउँदाको स्मरण सुनाए ।

तराई मधेसका समस्या खोतल्ने र समाधान बारे पत्रकार सरोजराज अधिकारी, ठाकुरसिंह थारु, पूर्वमन्त्री इस्तियाक राई, राजनीतिशात्री डा. जनार्दन आचार्य बीच निकै गहकिला संवाद भए । सुशासन र राजनीतिमा अधिकारकर्मी गणेश वि.क., राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, वरिष्ठ पत्रकार हरि थापा बीच छलफल भएको थियो । कवि भूपिन, केशव सिग्देल, ज्योति जंगल बीच समकालिन कविताबारे चर्चा भयो । ‘पठन संस्कृति र बहस सुन्ने संस्कृतिको विकास गर्न यो महोत्सव आयोजना गरिएको हो,’ आयोजक क्रियटिम ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया