जुवा र कुलतको चपेटोमा कोठारपुरका युवा
बाँकेको गनापुर भित्र रहेको एउटा गाउँको नाम हो कोठारपुर । गाउँ छेउमा उद्योग, कारखानाहरु स्थापित छन् । रोजगारको कुनै चुनौती छैन । ज्याला मजदूरी गर्नेको जमात पनि उत्तिकै छ गाउँमा । तर अधिकांश युवाहरुको बुझाई छ रोजगारीले उनीहरुको आवश्यकता बमोजिम रकम दिन सक्दैन ।
सय बढि घर धुरीको गाउँमा युवाहरु रोजगारका लागि विदेश जान्छन् वा गाउँमै बसेर अर्को किसिमबाट आम्दानी बढाउने प्रयास गर्छन् । अर्को किसिम भनेको, ब्राउन सुगरको ब्यवसाय र जुवाको खेल हो ।
दिउँसो अरहर बारी, आँपको बगैचा, मन्दिरको छेउछाउ, घुम्ती पसल पछाडी युवाहरुको भिड् देखियो भने त्यो जुवाडेहरुको चहलपहल हो भन्ने बुझ्नु पर्ने अवस्था छ कोठारपुरमा ।
नेपालगन्ज कोहलपुर सडकखण्ड संग जोडिएको गाउँमा युवाहरु ब्राउन सुगर सेवन मात्रै गर्दैनन्, उनीहरु ब्यवसायमा पनि उत्तिकै सक्रिय रहेको गाउँलेको भनाइ छ । ‘रुपइडिहा गएर नसा खानु भएकै कारण आउँदा दुर्घटना हुँदा दायाँ खुट्टा काट्नु पर्यो’, एक सेवनकर्ता की पत्नीले भनिन्, ‘लागुऔषधले यहाँ धेरैको घरबार विगारेको छ ।’
२ वर्ष अघि गनापुरमा दुर्घटनामै परेर ज्यान गुमाएका एक लागुऔषध सेवनकर्ताका छोरा पनि सेवनकर्ता रहेको पाइयो । इलाका प्रहरी कार्यालय कोहलपुरमा रुपैया“ चोरीको घटनामा आइतवार उपस्थित भएका १८ वर्षिय युवाले चोरी नगरेको दावी गरिरहेका थिए । उनका काकाले चोरी गरेकै हो भन्ने आधारमा दावी गरिरहँदा प्रहरी अनुसन्धानबाट खुल्यो, दुबै जना ब्राउनसुगर सेवनकर्ता हुन् । श्रीमतीलाई झुक्याउनका लागि चोरीको नाटकीय घटनामा काका भतिजा दुवै संलग्न थिए ।
उनीहरुले ८५ हजार रुपैया“ ब्राउन सुगर सेवन गर्नका लागि एक साता भित्र खर्च गरेका थिए । गाउँमा २६ जना युवाहरु दिनहुँ रुपैडिहा जाने र ब्राउनसुगर कोरेक्स जस्ता पदार्थ खरीद गरी सेवन गर्ने गरेको खुलेको हो । सेवनकर्ताहरु रुपैयाको जोहो गर्न जुवा खेलको सहारा लिएका छन् । चोरी आरोप लागेका युवाले चोरी भएको भनिएकै दिन ११ हजार ५ सय रुपैया जुवाबाट जितेको खुलेको प्रहरी भनाइ छ । प्रहरी निरीक्षक नवराज पोखरेले घटनाको फरक फरक पाटोमा अनुसन्धान सुरु गरिएको बताएका छन् । एउटा सिंगो गाउँमा ब्राउनसुगरको चर्चा भइरहँदा प्रहरीले यस्तो कसरी हुन सक्यो ? भन्ने विषयमा गम्भीरता देखाएको छ ।
नेपालगन्ज, भुजईगाउँ, लग्दहवा र कोहलपुर क्षेत्रबाट ब्राउनसुगर खरीदकर्ताहरु कोठारपुर पुग्ने गरेको एक सेवनकर्ताले बताए । कोठारपुर गाउँमा जुवा खेल्दै भेटिएका युवाले दिएको जानकारी अनुसार एक दिनमा लाख बढिको जुवा गाउँमा हुने गरेको अनुमान छ ।
‘जुवाबाट आएको रकम सदुपयोग गर्ने कार्य भनेको नशालु पदार्थ नै हो’, सेवनकर्ताहरु भन्छन्, ‘बाँकी कामका लागि घरबाट माग्नु पर्ने अवस्था छैन ।’ यद्यपि महिलाहरुले कुलतमा फसेका श्रीमान र छोराहरुका कारण घरबार ध्वस्त भएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीले आवश्यक निगरानी नबढाएकै कारण ब्राउन सुगरको प्रभाव गाउँमा बढ्दै गएको स्थानीयको आरोप छ । यद्यपि कोहलपुर प्रहरीले घटनाका विषयमा जानकारी आएपछि सो क्षेत्रमा जाँच अघि बढाएको जनाएको छ ।
सिमापारिबाट भइरहेको अपराधका कारण यसअघि बाँकेको जयसपुर ब्राउनसुगर ब्यापारको केन्द्र मानिन्थ्यो । प्रहरीले जयसपुरमा अप्रेशन जुलियट चलाएपछि त्यहाँबाट विस्थापित भएका कारोबारीहरु भारतको नानपारा र रुपैडिहाबाट मृत्युको ब्यापारलाई संचालन गर्दै आएको प्रहरी भनाइ छ ।
‘घटना नौलो हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, ‘कानूनी कारवाही हुन्छ नै, त्यसअघि हामीले गाउँमा जागरुकता र सचेतना सम्बन्धी कार्यहरु अघि बढाउँछौं ।’ ‘सेवनकर्ताहरु सजिलै सुध्रिँदैनन्’, उनले भने, ‘कारवाही पछि झन बलियो हुने भएकोले परामर्श सेवा प्रारम्भिक रुपमा संचालन गर्ने तयारी भएको छ ।’
एसपी राईले भने, ‘बैशाख महिना देखि नै गाउँमा काम गर्न सुरु गर्छौं ।’ उनले भने, ‘घटना बारे हामीले पनि आन्तरिक रुपमा अनुसन्धान अघि बढाएका छौं ।’