प्रशासनको निर्देशन अटेरी

५ वटा मात्रै हतियार संकलन !

सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि नागरिकको हातमा रहेको हतियारलाई जम्मा गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले म्याद थप गरी सूचना जारी गरेको थियो ।

पहिलो पटकको निर्धारित समय सकिएपछि प्रशासनले अर्को सूचना जारी गरेर हतियार बुझाउने म्याद बैशाख ५ गतेसम्मका लागि थप गरेको छ । पहिलो सूचनाको अवधिमा प्रहरीले ५ वटा हतियार संकलन भएको जनाएको छ ।
आत्म रक्षाका नाममा बाँकेमा रहेको १ सय ३ सय ५३ वटा हतियार निर्वाचनको समयमा प्रहरी युनिटमा बुझाउन प्रशासनले सूचना जारी गरेको थियो । सूचनाको असर यति न्युन छ कि जम्मा ५ वटा हतियार प्रहरीले संकलन गर्न सकेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरीलाई पत्राचार गरि गाउँमा रहेका वैध हतियार संकलन कार्य अघि बढाउन निर्देशन दिएको १५ दिन पूरा भएपछि प्रशासनले अर्को सूचना जारी गरेर म्याद थप गरेर संकलन गर्ने तयारी गर्दैछ । बाँकेमा वैध हतियारको तथ्याँक भएपनि अवैध हतियार बारे फरक फरक मत आइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले एक साता अघि नै म्याद भित्रै सबै हतियार संकलन हुने ठोकुवा गरेका थिए । उनले द्रुत गतिमा हतियार संकलनको काम अघि बढेको दावी गरेका थिए ।

हतियारबाट अवांछित गतिवधि नहोस् भन्नका लागि हरेक निर्वाचनको समयमा संकलन गर्ने स्थानीय प्रशासनको जिम्मेवारी हुन्छ । निर्वाचन पछि हतियार धनीलाई फिर्ता गर्ने नियम छ ।
‘तरपनि नागरिकहरु हतियार किन बुझाउन मानेनन् ?’, बाँकेका डीएसपी सरोज पौडेल भन्छन्, ‘सरकारको सूचना र कानून मान्नेहरुको संख्या निकै कम रहेकोले हतियार संकलन हुन नसकेको बताएका छन् ।’

‘यहाँ कानुनलाई टेर्ने चलन नै छैन’, डीएसपी पौडेलले भने, ‘प्रशासनको सूचना जुन मात्रामा प्रवाह हुनु पर्ने हो, हुन नसकेको पनि होला ।’ उनले भने, ‘एक प्रकारले नागरिकहरु अटेरी गर्नेहरु पनि धेरै छन् ।’

जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको विवरण अनुसार जिल्लामा ३ सय भरुवा बन्दुक र ५ सय ३४ वटा बाराबोर रहेको छ । जिल्लामा पेस्तोल ७ वटा, बाराबोर एक नाले १७७, २ नाले २४१, राइफल ८८, एरगन ३, ३२ बोर ३ थान रहेको छ । जसमा सर्टगन २ थान, १६ बोर राइफल ४ थान सहित बाँकेमा १ सय ३ सय ५३ वटा हतियार छ ।

‘स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्नका लागि सुरक्षा ब्यवस्था चुस्त बनाइएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज विर बहादुर थापाले भने, ‘बाँकेमा कुनै प्रकारको अवांछित कार्य हुन नदिनका लागि प्रहरी सक्रिय छ ।’ हतियार संकलनका लागि जारी भएको सूचनामा एकदमै न्यून रुपमा हतियार संकलन हुन सकेको बताउँदै उनले आम जनताले हतियार बुझाउन अटेरी गरेको बताए ।

सबैको रेकर्ड हामी संग छ, नियम बमोजिम सूचना अवधि भित्र नबुझाए कारवाही गरेरै भएपनि हतियार संकलन कार्य अघि बढ्छ । सबै प्रहरी युनिटहरु सूचना प्रवाह गरेर हतियार भएका ब्यक्तिहरुलाई प्रशासनको सूचना बारे जानकारी गराउँदा पनि संकलन हुन नसकेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया