प्रज्ञा प्रतिष्ठानको हीरक महोत्सव

लक्की चौधरी

नेपाल प्रज्ञा प्रतिष्ठानले स्थापनाको ६० वर्षलाई नेपालगन्जमा हीरक महोत्सवका रुपमा बृहत् साहित्यिक कार्यक्रम आयोजना गरेको छ । दुई दिनसम्म साहित्यिक कार्यशाला, चित्रकला प्रदर्शनी, साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम गरिएको हो ।

शुक्रवार र शनिवार सुदूर तथा मध्यपश्चिमाञ्चल स्तरीय साहित्यिक बाङ्मय कार्यक्रममा काव्य र आख्यानका आठ वटा विभिन्न विज्ञका कार्यपत्र प्रस्तुत गरिएका छन् । अलग अलग कार्यपत्रमा छलफल भई मोफसलको साहित्य सिर्जनाले नेपालको साहित्यिक वाङमय क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गोष्ठीले निष्कर्ष निकालेको प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेनाले जानकारी दिए ।

काठमाडौंमा सिर्जना गरिने रचना भन्दा मोफसलमा सिर्जना हुने रचना कुनै पनि मानेमा कमजोर नभएका बुझाई गोष्ठीको छ । प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठान क्षेत्रीयस्तरको साहित्यिक श्रीबृद्धिमा ध्यान केन्द्रित गरी साहित्यिक कार्यक्रमको आयोजनामा लागेको बताए । मोफसलको साहित्यिक सिर्जनाकै कारण राष्ट्रियस्तरको साहित्य फष्टाएको कुलपति डा. उप्रेतीको भनाइ छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जिवेन्द्रदेव गिरीले मोफसलको साहित्यिक उन्नयनका लागि नै देशव्यापी कार्यक्रम गरिएको जानकारी दिए । प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा बाँकेको नेपालगन्ज, पूर्वाञ्चलको विराटनगरमा क्षेत्रीय कार्यक्रम सम्पन्न गरी आगामी वैशाख ६ देखि ८ गतेसम्म काठमाडौंमा वृहत साहित्यिक कार्यक्रमको आयोजना हुन गइरहेको गिरीले जानकारी दिए ।

प्रतिष्ठानका काव्य विभागका प्रमुख डा. अमर गिरीले मोफसलको साहित्य सिर्जना कुनै पनि मानेमा केन्द्रीयस्तरको रचनाभन्दा कमजोर नभएको तर्क गरेका छन् । देशभरी रहेका साहित्यकारहरुको साहित्यिक पहिचान र अस्तित्वका लागि प्रतिष्ठानले देशव्यापी कार्यक्रम गरिरहेको डा. गिरीको भनाइ छ । आगामी दिनमा क्षेत्रीयस्तरमा रहेका लोकभाका, लोक साहित्य, लोकगाथा तथा काव्य र आख्यान साहित्यका विषयमा थप कार्यक्रम गर्दै जाने डा. गिरीले बताए ।

कार्यक्रममा सुदूर तथा मध्य पश्चिमका दुई सय बढी जना साहित्यकारहरुको सक्रिय सहभागिता थियो । शुक्रवार साँझ विभिन्न कलाकारहरुले साँस्कृतिक प्रस्तुतिहरु गरेका थिए भने, शनिवार वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, बुँद राना सहित वरिष्ठ साहित्यकार तथा क्षेत्रीय साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।
कवि गोष्ठीमा स्थानीय साहित्यकारको रचना प्रस्तुतिको विशेष व्यवस्था मिलाइएको थियो । गोष्ठीमा साहित्यकारहरु जगत उपाध्याय, त्रिपुरा पौडेल, मनोहर लामिछाने, लक्की चौधरी, छविलाल कोपिला, सोम डेमनडौरा, टीकाराम थापा, छेदाप्रसाद थारु, गोपाल अश्क, सुरेश सत्याल, विक्रम शीशीर, अब्दुल लतिफ शौक, मुस्ताफा असन, मणि शर्मा, टीकाराम उदासी, पुष्करनाथ रिजाल, पुष्पमान प्रधान, विष्णुलाल कुमाल, बलभद्र भारती, लक्ष्मी बस्याल लगायतले रचना वाचन गरे ।

कार्यक्रममा थारु समुदायको लोकप्रिय सांस्कृतिक प्रस्तुतिसहित अन्य समुदायको नाँचहरुको प्रदर्शन गरिएको थियो । स्थानीय कलाकार विक्रम शिशिरको एकल चित्रकला प्रदर्शन पनि गरिएको थियो । चित्रकार शिशिरले २०६८ पछाडि रचना गरिएका विभिन्न २२ वटा चित्रकलाको प्रदर्शन गरिएको बताए ।
साता व्यापी नेपालगन्ज फेष्टिभलका क्रममा पहिलो दिन प्रभात फेरी, साइकल दौड प्रतियोगिता गरिएको थियो । त्यससँगै प्रज्ञा प्रतिष्ठानको हीरक महोत्सव गरिएको हो ।

शनिबार नै उर्दू साहित्यको उत्कृष्ट प्रस्तुति मुशायरा (गजल गायन) कार्यक्रम प्रस्तुत गरिएको छ । सो अवसरमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलसहित, बुँदराना, गोपाल अश्क र स्थानीय उर्दूभाषी गजलकार तथा अन्य गजलकारहरुले रचना वाचन गरे ।

प्रतिक्रिया

प्रतिक्रिया