सानो छदा घर अगाडीको चौरमा दाईहरुसंग क्रिकेट खेल्न जानु मेरो दैनिकी थियो । मलाई क्रिकेट खेलिरहदा बलिङ्ग गर्न कहिल्यै मन लागेन । दाईहरु बलिङ्ग गर्दा म जहिले पनि स्टम्पको पछाडी गएर बस्थे । यसो गर्दा ब्याटिंग गर्नेले बल हिर्काउन सकेन भने मैले बल समात्न पाउँथे । धेरै पटक बल समाउन पाउने भएर होला सायद विकेट किपिङ्ग गर्न रहर लाग्यो । र थाहै नपाई विकेट किपर बनायो मलाई ।
त्यसबेलाको मेरो विकेट किपिङ्ग मोहले मलाई यहा सम्म पुरयाउला भन्ने लागेको थिएन । बालापनको क्रिकेट लगावको परिणाम विगत एक दशक देखि देशका लागि क्रिकेट खेलिरहेको छु ।
शुरु शुरुमा क्रिकेट खेल्दा हामीमा जोश थियो । जाँगर थियो । उमंग थियो । म र मेरा क्रिकेटर साथीहरु एन्जोए गथ्र्यौ । उतिबेलाको क्रिकेटको जोश अहिले चाहि केहि मत्थर भाको हो कि जस्तो लाग्ने गर्छ तथापि क्रिकेट खेल्ने जुनुन भने अझै मरेको छैन ।
खेल जीवनमा धेरै क्याप लगाइयो । सबै म्याचहरुको आफ्नै आकर्षण र महत्व छ । चाहेर पनि सबै सम्झिन
सकिदैन ।
वि.स २०६० मा बांके जिल्ला स्तरिय अन्तर माध्यमिक महिला क्रिकेट प्रतियोगिताको फाईनल खेल भने मलाई अझै याद छ ।
क्रिकेटले ‘पिपल्स पर्सन’ बनायो । दवाबलाई जीवनमा कसरी झेल्ने क्रिकेटले नै सिकायो । हिम्मत र धैर्यता सधैं हामी खेलाडी माझ जिवित रहिरहन्छ । खेल खेल्नु र खेलाडीको जीवन बाच्नुमा छुट्टै आनन्द छ ।
फाइनल खेल नेपालगन्जको एमपि स्कुलको खेल मैदानमा मेरो टिम ग्रीन पिस स्कुल र एन्जल्स स्कुलको बिचमा भएको थियो । म ओपनरको भूमिकामा थिए । मैले मेरो जीवनको पहिलो अर्ध शतक हानेको थिए । हामीले फाइनल खेल जित्यौं । म व्यक्तिगत ६७ रनको योगदान दिए वापत वुमन अफ द फाइनल भए ।
सयकडौं दर्शकहरुको उपस्थितीमा ट्रफि उचालेका थियौं । त्यो क्षणको सम्झनाले अहिले पनि अनुहारमा मुस्कान आउँछ । यो प्रतियोगिता मेरो खेल जीवनको टर्निग प्वाइन्ट हो । अर्थात यसपछि मैले कहिले पछाडी फर्केर हेर्नु
परेन ।
मैले चाहेर पनि विर्सन नसकिरहेको अर्को प्रतियोगिता सन् २००८ मा थाईल्याण्डको च्याङ्गमाई भएको ए.सि.सि अन्डर १९ हो । प्रतियोगितामा म फर्ममा थिए । मैले एक दिन स्कोर कार्ड हेर्ने मौका पाए । र थाहा पाए कि मेरो र भुटानको विकेट किपरविचमा बेस्ट विकेट किपरको लागि प्रतिस्पर्धा थियो ।
हामी प्रतियोगिताको फाइनलमा प्रवेश गर्यौ । प्रतिद्न्दी मलेशियालाई हराउदै ट्रफी हाम्रो पोल्टामा पार्न सफल भयौं । नेपालको महिला क्रिकेटमा पहिलो अन्तराष्ट्रिय उपाधि थियो । एतिहासिक क्षण थियो त्यो । सबै टिमका साथीहरु खुसि थिए । उत्साहित भैरहेका थिए । मैले यस खेलमा एउटा क्याच र एउटा स्टम्पिंग गरेको थिए ।
मलाइ ‘के म उत्कृष्ट विकेट किपर हुन्छु त ?’ भन्ने खुल्दुलि लागिरहेको थियो । केही क्षणमा पुरस्कार वितरण कार्यक्रम सुरु भयो । मेरो मुटुको दुकदुकी बढ्दै गयो । उत्कृष्ट विकेट किपरको रुपमा मेरो नाम उद्घोष भयो । एउटा बल मात्र पुरस्कार पाए मैले ।
मलाई आधिकारिक अवार्ड, प्रमाणपत्र दिइएन । जसकारण मेरो उपलब्धिलाई न त कसैले देखे न त कसैले मुल्याङ्कन गर्न पाए । मेरो उत्कृष्टता एउटा अर्वाडबाट सम्मानित नहुदा कहिले देखिएन । न त कहिले देखिनेछ । न त कहिले सम्झिइने छ । अहिले सोच्दा लाग्छ, त्यो खेल… त्यो अवसर थियो जसबाट म वन्चित भए । सायद प्रारब्धलाई यहि मन्जुर थियो होला । ‘किन आधिकारिक अवार्ड पाइन मैले ?’ यसको उत्तर आजसम्म पाउन सकेको छैन ।
क्रिकेटले मलाई देश विदेश मात्र घुमाएन । असल, प्रेरणादायी विभिन्न व्यक्तित्वहरुसंग भेटायो / संगत गरायो । त्यो संगतले धेरै सिकायो र अघि बढ्न सहज बनायो । क्रिकेटले मलाई ‘पिपल्स पर्सन’ बनायो । दवाबलाई जीवनमा कसरी झेल्ने क्रिकेटले नै सिकायो ।
जब टीमलाई एक बलमा एक रनको आवश्यकता हुन्छ, त्यो एक बलले खेलको कायापलट हुन्छ, त्यो “माइन्ड गेम” हो खेलाडीहरुले सिक्ने कुरा । संधै एक रनका लागि जसरी अन्तिम ओभरको अन्तिम बल सम्म धैर्य गर्दै रन बनाउन कोसिस गर्छाै, त्यो हिम्मत र धैर्यता सधैं हामी खेलाडी माझ जिवित रहिरहन्छ ।
खेल खेल्नु र खेलाडीको जीवन बाच्नुमा छुट्टै आनन्द छ । खेलाडि भएर सिकेका / अवलम्वन गरिरहेको अनुशासन, मिहिनेत र सकारात्मक सोचका साथ अगाडी बढ्दै छु । हिम्मत हारेको छैन, आशा मारेको छैन … उत्कृष्ट विकेट किपरको उपाधि उचाल्ने सपना ।
(तस्वीरहरु ममता थापाबाट प्राप्त)