सम्पादकीय
नेपालगन्ज महोत्सव शुरुवात भएको छ । साताव्यापी चल्ने यो महोत्सवले नेपालगन्जलाई उत्सवमय बनाउने लगभग निश्चित छ । नेपालगन्जको परिचयलाई फराकिलो बनाउने संकल्पको शुरुवात हो महोत्सव ।
नेपालगन्ज आफैंमा मज्जाको शहर हो । रमाइलो शहर हो । हाँसिरहने शहर हो । विविधता यहाँको पहिचान हो । महोत्सवले नेपालगन्जको विशेषतालाई चिनाउने छ ।
शहरको यो सुवासलाई चारैतिर फैलाउने मन्च हो नेपालगन्ज महोत्सव । र त महोत्सवमा साइक्लिंग रेस संगसंगै घोडा दौड हुने छ । साहित्यका पारखिहरुले मुसायराको स्वाद लिने छन् । गर्मीको शहर नेपालगन्जमा समकालिन विषयहरुमा गर्मागर्मी अन्तरसंवाद हुने छन् । नेपाल र नेपालीहरुका विषयहरुमा बनेका फिल्महरुको आनन्द उठाउन सक्नेछन् ।
जीवनका सबै रंगहरुको समायोजन छ नेपालगन्ज भित्र । भाषामा मौलिकता, धर्मको विविधता छ । नेपालगन्ज कसैसंग प्रतिस्पर्धाको दौडमा छैन । वोस्टन म्याराथनलाई सपना बनाएर नेपालगन्ज दौडिने गरेको छ । पोखरा र झापा पछि लिटरेचर फेस्टिवल हुने अर्को शहरको नाममा नेपालगन्ज थपिदैछ ।
जीवन्त शहरको पर्याय हो शहरमा हुने विभिन्न कार्यक्रमहरु । जीवन्त शहरमा महोत्सवहरु प्राण हुन् । यहाँ वर्षदिन भरि नै कुनै कुनै कार्यक्रम भइरहन्छन् । विभिन्न महोत्सवहरु भइरहन्छन् । खेलकुद प्रतियोगिता भइरहन्छन् । सांस्कृतिक कार्यक्रमहरु भइरहन्छन् ।
यो महोत्सव नेपालगन्जबासीको हो । सबै नेपालगन्जिया मनहरुको लागि गौरव हो । खुसि हो । आनन्द हो ।
यस्ता महोत्सवहरुले सिंगो नेपालगन्जको प्रतिनिधित्व गर्छन् । सिंगो नेपालगन्जीया मनहरुको आवाजलाई पस्किने हैसियत राख्छन् । नेपालगन्जीया विशेषताहरुलाई बोक्ने क्षमता राख्छन् ।
यो महोत्सवसंग नेपालगन्जको शान र मान जोडिएको छ । यो महोत्सवसंगै संगित, साहित्य र खेलकुदका विधाहरुमा निरन्तर लागिरहने प्रेरणा प्राप्त हुने छ नेपालगन्जीयालाई । आउँ हातेमालो गरौं ।
नेपालगन्जको विविधता चाहे त्यो धर्म होस् वा जाती वा भाषा यहाँ सिंगो देश रहेको छ । सायद यहि विविधताका कारण शहरको नाम नेपालगन्जले न्याय गरे झैं लाग्छ ।
शहरको यो निराला अन्दाजलाई कायम राख्नु छ । यसका लागि सारगर्भित प्रयासको थालनी हुनु उत्साहजनक अवस्था हो ।
आउँ प्रयास गरौं । शान्ति र सम्वृद्धि तर्फको यात्रामा सहभागी बनौं । हातेमालो गरौं । नेपालगन्जलाई उत्सवमय बनाऔं । खुसी बनौं र खुसी रहौं ।