‘नगर डुब्न दिन्नौं’

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुँवरले उपमहानगरपालिकाका योजनाहरु कार्यान्वयनका लागि आफु केन्द्रित रहने बताएका छन् ।

भर्खरै उपमहानगर प्रमुखका रुपमा सरुवा भई आएका कार्यकारी अधिकृत कुँवरले मंगलवार पत्रकारलाई भेटघाट आयोजना गरी उपमहानगरपालिकाको यसअघिका योजनाहरु कार्यान्वयनमा आफ्नो प्रमुख जोड रहने बताएका छन् । उनले नगरका छाडा पशुचौपाया नियन्त्रण, सडक, नाला व्यवस्थापनका लागि सक्रिय रुपमा लाग्ने बताएका थिए ।

हरेक बर्ष बर्षात्मा नेपालगन्जका विभिन्न भागहरुमा पानीको ताल पर्ने उल्लेख गर्दै कार्यकारी अधिकृत कुँवरले भने, ‘नगरलाई डुबान रोक्ने आजैबाट नाली सरसफाई सुरु गरिएको छ ।’ उनले भने, ‘बर्षात् अघि नै पुरिएका नाला, ढलहरुको निकास खोल्ने योजनामा छौं ।’

स्थानीय निकाय कार्यान्वयनमा आएपछि उपमहानगरपालिकाको थप जिम्मेवारी बढेको छ । प्रमुख कार्यकारी अधिकृत कुँवरले जिम्मेवारी बढेको र उही जनशक्तिमा काम गर्नु परिरहेको प्रति संकेत गर्दै चुनौतिहरुलाई व्यवस्थापन गर्दै जाने बताए ।

हरेक शनिबार उपमहानगरपालिकाले सरसफाईलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको छ । ‘अभियानले मात्रै नगरसरसफाई हुन्छ भन्ने होइन”, उनले भने, ‘तर, यसले स्थानीयबासीमा नगर सरसफाई गर्न जनचेतना
जगाउछ ।’ उपमहानगरको जनसंख्या बढ्दै गयो तर त्यो अनुपातमा सरसफाईका लागि जनशक्ति नथपिंदा फोहर मैला व्यवस्थापनमा चुनौति देखा परेको छ ।

‘हामी निर्वाचन नजिकै छौं त्यसैले अहिले नयाँ योजना बनाउने र कार्यान्वयन गर्ने समय छैन’, कार्यकारी अधिकृत कुंवरले भने, ‘निर्वाचनपछि विशेष नगरपरिषद् गरेर नगरका लागि नयाँ योजना बनाउने छौं ।’
उपमहानगरपालिकाका सल्लाहकार शुक्रऋषि चौलागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया