शेयर विवादपछि गृहमन्त्री सुदन गुरुङको राजीनामा

गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँले पछिल्लो समय आफ्नो शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पद त्याग गर्नुभएको हो।

प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईका अनुसार गुरुङले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गर्नुभएको छ। हालका लागि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नु हुने जनाइएको छ।

राजीनामाबारे स्पष्ट पार्दै गुरुङले पदभन्दा नैतिकता र जनविश्वासलाई उच्च ठानेको बताउनुभएको छ। उहाँका अनुसार वर्तमान समयमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको छ।

साथै, ४६ जना सहिदहरूको रगत र बलिदानबाट बनेको व्यवस्थामाथि प्रश्न उठ्दा त्यसको स्पष्ट जवाफ दिनु आफ्नो नैतिक कर्तव्य भएको उहाँले उल्लेख गर्नुभएको छ।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले प्रस्ट पार्नुभएको छ।

उहाँले यसलाई आफ्नो नैतिक जिम्मेवारीको निर्वाहका रूपमा लिँदै परिवर्तनका लागि सबै पक्षले सत्य, इमानदारी र आत्मशुद्धिको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ।

राजीनामापछि सञ्चारकर्मी तथा आम नागरिकलाई सम्बोधन गर्दै उहाँले शेयर लगानीसँग सम्बन्धित केही विषयहरू अन्य पक्षसँग पनि जोडिँदै क्रमशः सार्वजनिक हुने संकेत गर्नुभएको छ।

रामराज्यको आकांक्षा राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने उल्लेख गर्दै उहाँले पदबाट बाहिरिएर छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

प्रतिक्रिया